नुवाकोट र चितवन भिड्दै
नुवाकोट : जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम नुवाकोट–११ र चितवन–११ बीच प्रतिस्पर्धा हुने भएको छ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा हुने गोल्डकपका लागि खेलमैदान मर्मतको काम सम्पन्न भएको पआयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धिबहादुर प्रधानले जानकारी दिए। प्रतियोगितामा नुवाकोटले एक नाइजेरियन खेलाडी सोलेलाई भित्र्याएको जनाएको छ।
जेठ २६ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नुवाकोट, काठमाडौं, कास्की, रुपन्देही, एपीएफ, चितवन, फ्रेण्ड्स, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, थ्रीस्टार र नेपाल पुलिस क्लबको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी उपविजेताले तीन लाख रुपैयाँ पाउने छन्। प्रतियोगिता सञ्चालन गर्न कुल ५४ लाख २७ हजार रुपैयाँ लाग्ने अध्यक्ष बुद्धिबहादुर प्रधानले बताए।