सानो देशको ठूलो चुनाैती

सानो देशको ठूलो चुनाैती

रेक्जाभिक : युरोपेली राष्ट्र आइसल्यान्डले पहिलो पटक विश्वकप फुटबलमा सहभागिता जनाउँदै छ। आइसल्यान्डले आगामी जुन १६ मा लियोनल मेसीको टोली अर्जेन्टिनासँग खेल्दै फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा ‘डेब्यु’ गर्नेछ। आइसल्यान्ड विश्वकप खेल्ने यस्तो टोली बनेको छ, जसले आफूसँगै कयौं कीर्तिमान पनि लिएर आएको छ।

आइसल्यान्ड जनसंख्याको हिसाबले हालसम्म विश्वकपमा सहभागी हुने सबैभन्दा सानो राष्ट्र हो। अर्जेन्टिनाविरुद्ध ‘डेब्यु’ खेलसँगै आइसल्यान्डको नाममा यो कीर्तिमान दरिन पुग्नेछ। सन् १९४६ यता फिफाको आधिकारिक प्रतियोगिता खेल्न थाले पनि आइसल्यान्डले निकै पछि मात्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति जनाउन थालेको हो।

आइसल्यान्डले दुई वर्षअघि सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबल पनि खेलेको थियो। आइसल्यान्डले आफ्नो फुटबल इतिहासमा कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको र खेलेको त्यो नै पहिलो अवसर थियो। त्यतिबेला पनि आइसल्यान्ड युरोकपका लागि छनोट हुने र खेल्ने सबैभन्दा सानो (जनसंख्याको हिसाबले) देश थियो।

यही सानो देशले आगामी जुन १४ तारिखदेखि रुसमा सुरु हुने विश्वकपमा ठूला देशहरूलाई ठूलै चुनौती प्रस्तुत गर्दैछ। आइसल्यान्डको यो चुनौती कुनै पनि देशका लागि सहज भने पक्कै हुने छैन। आइसल्यान्डले पहिलो पटक ठूलो प्रतियोगितामा सहभागिता जनाए पनि उच्चस्तरको प्रदर्शन गर्दै आएको छ। आइसल्यान्डले गत युरोकपमा उपाधिको दाबेदार मानिएका ठूला टोलीहरूलाई गतिलो चुनौती मात्रै दिएको थिएन, कतिपय टोलीलाई त पराजयको स्वाद पनि चखाएको थियो।

युरोकप—२०१६ को छनोट प्रतियोगितामै नेदरल्यान्ड्सजस्तो बलियो टोलीलाई दुवै लेग खेलमा पराजित गरेको आइसल्यान्डले त्यसपछि पनि सशक्त प्रदर्शन गर्‍यो। युरोकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा इङ्ल्यान्डलाई नै पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने आयोजक फ्रान्ससँग ५–२ गोलले पराजित भएपछि आइसल्यान्ड त्यसभन्दा अगाडि बढ्न सकेन। यद्यपि युरोकपको पहिलो सहभागितामै आइसल्यान्डले आफू ठूला प्रतियोगिताका लागि तयार रहेको सन्देश भने दिएको थियो।

आइसल्यान्डको त्यही प्रदर्शनबाट रुस विश्वकपमा पनि आयसल्यान्डले बलिया प्रतिद्वन्द्वीहरूलाई गतिलो चुनौती दिने अनुमान गर्न सकिन्छ। आइसल्यान्डले युरोकपपछि खेलेको २१ मध्ये १२ खेलमा जित हात पारेको छ। केवल सात खेलमा पराजय व्यहोरेको आइसल्यान्डले दुई खेलमा भने बराबरीको नतिजा निकालेको छ। आइसल्यान्डले सन् २०१८ मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।

सन् २०१८ मा खेलिएको चारमध्ये दुई खेलमा जित हात पारेको आइसल्यान्ड दुई खेलमा भने पराजित भएको छ। आइसल्यान्डले गत जनवरीको दोस्रो साता इन्डोनेसियाविरुद्ध खेलेको दुईवटा मैत्रीपूर्ण खेलमध्ये पहिलोमा ६–० र दोस्रोमा ३–१ गोलको जित निकालेको थियो। यसैगरी गत मार्चमा मेक्सिकोसँग खेलेको खेलमा ३–० र पेरुसँग खेलेको खेलमा ३–१ गोलको हार भोगेको थियो। यतिबेला आइसल्यान्ड आफ्नो पहिलो विश्वकप सहभागितालाई यादगार बनाउने अन्तिम तयारीमा व्यस्त छ। आइसल्यान्ड विश्वकपमा पनि युरोकपको जस्तै प्रदर्शन दोहोर्‍याउने योजनामा छ।

आइसल्यान्डको प्रारम्भिक टोली

गोलरक्षक: हानेस थोर हाल्डोर्सन (र्‍यान्डर्स ), रुनार एलेक्स रुनार्सन (नोर्जेल्यान्ड) र फ्रेडरिक स्चार्म (रोसकिल्ड)।

रक्षक: कारी अर्नासन (एबर्डिन), एरी फ्रेयर स्कुलासन (लोकरेन), बिर्किर मार साइभर्सन (भालुर), स्भेरिर इन्गी इन्गासन (रोस्तोभ), होर्डर माग्नुसन (ब्रिस्टोल सिटी), होमर आइजोल्फसन (लेभस्की सोफिया) र राग्नर सिगुर्डसन (रोस्तोभ)।

मिडफिल्डर: जोहन बर्ग गुडमन्डसन (बर्नली), बिर्किर बिजार्नासन (एस्टन भिल्ला), आर्नर इनग्भी ट्राउस्टासन (माल्मो), इमिल हाल्फ्रेडसन (उडिनेस), गिल्फी सिगुर्डसन (एभर्टन), ओलाफुर इन्गी स्कुलासन (काराबुकस्पोर), रुरिक गिस्लासन (सन्धउसेन), स्यामुएल फ्रिडजोन्सन (भालेरेन्गा) र एरोन गुनर्सन (कार्डिफ सिटी)।

स्ट्राइकर: अल्फ्रेड फिनबोगासन (अग्सबर्ग), बिजोर्न बर्गम्यान सिगुर्डसन (रोस्तोभ), जोन डाडी बोडभर्सन (रिडिङ) र अल्बर्ट गुडमन्डसन (पीएसभी)।

प्रशिक्षक: हेमिर हलग्रिमसन।

आइसल्यान्डको खेल

जुन १६: अर्जेन्टिनाविरुद्ध

जुन २२: नाइजेरियाविरुद्ध

जुन २६: क्रोएसिाविरुद्ध

आइसल्यान्ड

विश्वकप सहभागिता: पहिलो

उपाधि: छैन

फिफा वरीयता: २२


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.