बाँझो जग्गा गाउँपालिकाले लिने, भूमि बैंक खोलिँदै
मादी (कास्की): यहाँको मादी गाउँपालिकाले बाँझो जमिन लिएर युवा उद्यमीलाई उपलब्ध गराउने भएको छ । भूमि बैंक स्थापना गरी बाँझो जमिन लिने जानकारी अध्यक्ष बेदबहादुर गुरुङले दिए ।
‘जसजसले खेतीपाती गर्नुभएको छैन, त्यो जग्गा गाउँपालिकाले भाडामा लिन्छ र उद्यम गर्न चाहने युवालाई भाडामा दिन्छ’, अध्यक्ष गुरुङले भने, ‘थोरै पैसामै भाडामा लिने र थोरै सेवा शुल्क लिएर भाडामा दिने योजना छ ।’
त्यस्तो व्यवस्था गरी भूमि तथा प्राकृतिक स्रोत साधनसम्बन्धी कानुनको मस्यौदा गाउँपालिकाले तयार गरिसकेको छ ।
गाउँपालिकामा निर्वाचित भएर पदभार सम्हालेको ठीक एक वर्षपछि बुधबार अध्यक्ष गुरुङले कार्यप्रगतिसँगै उक्त योजना पनि सुनाएका हुन् । गाउँमा सयौं युवालाई खेतीपाती र पशुपालन सम्बन्धी तालिम दिइसकेको र तिनै युवाहरुलाई लक्ष्य गरी भूमि बैंकको कल्पना गरेको जानकारी अध्यक्ष गुरुङले दिए ।
उनले भने, ‘अब दुई चारवटा गाईभैंसी पालेर हुँदैन, व्यावसायिक फार्मिङ गर्नेलाई गाउँपालिकाले नगद नै प्रोत्साहन रकम दिन्छ ।’ निश्चित संख्या बढी पशु पाल्नेलाई २ लाख रुपैयाँसम्म प्रोत्साहन दिने निर्णय गाउँपालिकाले गरिसकेको छ ।
मादीमा बसाइसराइ सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै उनले खेतीयोग्य जमिन बाँझो छोडिएको अध्यक्ष गुरुङले सुनाए । बाँझै छोडिएका खेतीयोग्य जमिन के कसरी भाडामा लिने भन्ने प्रावधान कानुनको मस्यौदामा रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले अन्नपूर्णलाई दिए ।
गएको १ वर्षमा मादी गाउँपालिकाले २४ सडक स्तरोन्नति र मर्मत गरेको छ । प्रदेश सदरमुकाम पोखराबाट गाउँपालिका केन्द्र याङ्जाकोट पुग्ने सडक फराकिलो पार्नुका साथै स्तरोन्नति गरेको अध्यक्ष वेदबहादुर गुरुङले दिए । मादीले यो वर्ष सडक विस्तारमा मात्रै पौने ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । १६ करोड रुपैयाँ पुँजीगत बजेटबाट सबैभन्दा धेरै गाउँपालिकाले सडकमा खर्चेको हो ।
जिल्लाकै सबैभन्दा ठूलो क्षेत्रफल भएको गाउँपालिका केन्द्रलाई सबै वडा र वस्तीसँग जोड्न विकास बजेट सडकमा केन्द्रित गर्नुपरेको अध्यक्ष गुरुङले सुनाए । २४ सडकमध्ये पोखराको काहुँखोलाबाट दूधपोखरी, कसेरी याङ्जाकोट र राखी मिजुरे गरी ३ मुख्य प्राथमिकतामा थिए । गाउँपालिकासम्म पुग्ने कसेरी याङ्जाकोट सडक ४ मिटरबाट ८ मिटरसम्म फराकिलो पारिएको छ । ‘केही स्तरोन्नति गरी गाडी चल्न सजिलो बनाइएको छ’, अध्यक्ष गुरुङले भने, ‘यसपालि अझै बजेटले पुगेन ।’
गाउँपालिकाबाट १६ वटा कानुन निर्माण गरेको पनि अध्यक्ष गुरुङले सुनाए । पोहोर जेठ १६ गते उनले कार्यभार सम्हालेका थिए । आफ्नो कार्यकाल १ वर्ष पूरा भएको अवसरमा उनले बुधबार कार्यप्रगति सुनाएका हुन् । २६ लाख आन्तरिक आय गर्ने लक्ष्य पूरा हुने छनक देखिएको जानकारी उनले दिए । ‘असारसम्ममा त्यो लक्ष्य पूरा हुन्छ’, उनले भने । उनले १६ वटा कानुन निर्माण गरिसकेको पनि सुनाए ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले आफू संयोजक रहने न्यायिक समितिमा ६ वटा मुद्दा आएको जानकारी दिइन् । कार्यादेश ढिला आउँदा समितिले पूर्णता पाइनसकेको उनले सुनाइन् । ‘हाम्रो कार्यक्षेत्रबाहिरका मुद्दा जिल्ला अदालत पठाएका छौं’, उनले भनिन्, ‘केहीमा मेलमिलाप गराएका छौं ।’
गाउँपालिकाको जिम्मेवारी सम्हाल्दा कार्यालय, वडा लगायतको व्यवस्थापन नभएकोमा अहिले सबै वडामा इन्टरनेट जोडेर अनलाइन पञ्जीकरण सुरु गरेको र सबैमा कर्मचारी खटाएको जानकारी अध्यक्ष गुरुङले दिए ।
मावि तहसम्मको शिक्षाको अधिकार गाउँपालिकालाई दिए पनि तलबबाहेकको बजेट नपाएको गुनासो उनले गरे । १२ करोड रुपैयाँ आए पनि त्यो सबै ससर्त अनुदान रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । अध्यक्ष गुरुङले गाउँका विद्यालयमा विद्यार्थी घटेको र कतिपयमा १-२ जनामात्रै रहेको पनि सुनाए । ‘सरकारले हामीलाई तलब बाँड्ने कामको भार थप्नुबाहेक काम गरेन’, उनले भने ।