सांसद महत भन्छन्ः अधिकार लिने ठाउँमा आएर किन क्वाँ क्वाँ रुनुँ ?
काठमाडौँः जुम्लाबाट प्रतिनिधि सभाका सदस्य गजेन्द्र महतले सरकारले ल्याएको बजेटबारेको छलफलमा आक्रोश मिश्रित धारणा राखे ।
सांसद विकास कोषका नाममा नेताहरुबीच रकम लैजान प्रतिस्पर्धा चलिरहेका बेला सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा जुम्लालाई बजेट नै नपारेको भन्दै महतले आक्रोश पोखे ।
महतको आक्रोशपूर्ण भाषणको तारो पत्रकारहरु पनि थिए । उनले पत्रकारहरुले केही सांसदहरुलाई उचाल्ने र बोक्ने गरेको भन्दै संसदमा उपस्थित नभएका ती सांसदहरुका कारण नियमित उपस्थित हुनेहरुको पनि बदनाम भइरहेको बताएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद महतले पत्रकारहरुबारे पनि आलोचनात्मक टिप्पणी गरिरहँदा फेरि अनलाइनसहितका केही सञ्चारमाध्यममा उनी संसदमै रोएको समाचार छापिदिए ।
संसदमै सांसद महत क्वाँ क्वाँ रोएको समाचार प्रकाशित भएपछि उनी झनै आक्रोशित भएका छन् । ‘म यहाँ अधिकार लिन आएको हुँ, किन रुनुपर्यो ?’, उनले प्रश्न गरे, ‘मेरो आवाज नै यस्तो हो, ठुलो स्वरमा बोल्दा मेरो आवाज नै रोए जस्तो सुनिएको हो । मलाई जुम्ली भनेर हेपेर रोयो भन्ने हल्ला चलाइ गएछन् ।’
आफू रोएको भए संसदमै भएका दर्जनौँ सांसदहरुले देख्नुपर्ने बताउँदै उनले आफूले आक्रोश चाहिँ पोखेको बताए ।
‘हामीलाई सांसद विकास कोष चाहिँदैन, मैले जिल्लामा कम्तिमा एउटा गतिलो हाइड्रो पावर बनाउने योजना बनाएको छु, सरकारले त्यसैमा लगानी गरिदिए पनि हुन्छ’, उनले भने, ‘जुम्लालाई बजेटमा अन्याय गरिएको छ । यसबारे हिजै बोल्न खोजेको थिएँ, समय नपाएपछि आज बोलेको हुँ ।’
आफूले जिल्लाका विभिन्न सडकको निर्माण तथा स्तारोन्नतिका लागि पहल गरिरहेको बताउँदै उनले जुम्ली भएकै कारण आफ्ना कुरा सरकारले नसुनिरहेको गुनासो पनि गरे ।
यो पनि: सांसद महतको चेतावनीः लौरी र डोरीले बाँध्न नखोज, गन्हाएको बजेट चाहिन्न