प्रधानमन्त्रीको ‘हाइटेक’ प्रचार शैली

प्रधानमन्त्रीको ‘हाइटेक’ प्रचार शैली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पश्चिमा राष्ट्रका कार्यकारी प्रमुखले जस्तै नेपालमा पनि आधुनिक प्रचार शैलीको उच्चतम विधि प्रयोग गर्न थालेका छन्। आफ्नो सरकारका नीति कार्यक्रमदेखि राष्ट्रिय महत्वका विषयमा समेत प्रधानमन्त्रीले ‘हाइटेक’ प्रचार शैली अपनाउन थालेका हुन्।

नेपालमा यसअघिका प्रधानमन्त्रीले नपनाएको प्रचार शैली अपनाएर उनले आफूलाई भिन्न देखाउन खोजेका छन्। ‘प्रधानमन्त्री सरकारका कामका विषयमा जनताले थाहा पाउनुपर्छ भन्नेमा आफैं सचेत हुनुहुन्छ। त्यसैले उहाँकै निर्देशन र इच्छामा सचिवालयले आधुनिक प्रचार शैली अपनाउन थालेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले भने।

प्रधानमन्त्रीले अहिले महत्वपूर्ण कार्यक्रममा आफूले भाषण गर्दा ‘टेलिप्रोम्प्टर’ को प्रयोग गर्न थालेका छन्। कुनै विषयको मन्तव्यका क्रममा सहयोगी सन्दर्भ सामग्रीका लागि विश्वका भीआईपीहरूले ‘टेलिप्रोम्प्टर’को प्रयोग गर्दै आएका छन्। नेपालमा भने यस्तो प्रविधि प्रयोग गर्ने पहिलो प्रधानमन्त्री ओली हुन्। यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीले यो प्रविधिको प्रयोग गरेका थिएनन्।

प्रधानमन्त्री ओलीले आफ्नो कामको प्रचार गर्ने, योजना सुनाउने मात्र होइन, सरकारका तर्फबाट धर्म विशेष, राष्ट्रिय गौरवका नीति, कार्यक्रमलगायत विषयमा जानकारी दिने, शुभकामना, बधाई आदानप्रदान गर्ने काममा समेत भिडियो सन्देश दिन थालेका छन्। सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा ७ जेठमा प्रस्तुत नीति तथा कार्यक्रमपछि प्रधानमन्त्रीले भिडियो सन्देश दिन सुरु गरेका हुन्। त्यसयता उनले बिहीबार साँझसम्म गरी पाँचौं पटक भिडियो सन्देश जारी गरिसकेका छन्।

बिहीबार साँझ उनले १५ जेठमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटका विषयमा सन्देश दिएका थिए। ‘यो बिल्कुल नयाँ प्रयोग हो, नेपालको सन्र्दभमा’, डा. अर्यालले भने।

सरकारको सय दिनको उपलब्धि, बजेटका प्राथमिकता र चरित्र, मुस्लिम धर्मावलम्बीको चाड रमजानको शुभकामना, राष्ट्रकवि माधव घिमिरेको स्वाथ्यलाभको कामना, २२ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, नवौं पटक सगरमाथा चढेर रेकर्ड बनाएकी महिला आरोही लाक्पा शेर्पादेखि फोटो पत्रकार पूर्णिमा श्रेष्ठसम्मलाई सगरमाथा आरोहणका लागि बधाई दिनसमेत प्रधानमन्त्री ओलीले भिडियो सन्देश प्रयोग गरेका छन्।

त्यति मात्रै होइन, अहिले प्रधानमन्त्रीले सामाजिक सञ्जाललाई पनि उत्तिकै महत्वका साथ प्रयोग गर्न थालेका छन्। प्रधानमन्त्रीको आफ्नै आधिकारिक पेज, वेबसाइट (केपीशर्माओली डटकम डटएनपी) देखि ट्विटरसम्म छन्। प्रधानमन्त्रीको निजी सचिवालयले त्यसको अधिकतम प्रयोग थालेको छ।

‘हाम्रा मुख्य २ उद्देश्य यस अभियानसँग गाँसिएका छन्’, डा. अर्यालले भने, ‘ पहिलो आम सञ्चारमाध्यमलाई प्रधानमन्त्रीका कार्यक्रमका विषयमा समाचार प्रकाशन तथा प्रसारणका लागि आउटलाइन उपलब्ध गराइदिने, दोस्रो इन्फोग्राफबाट सरकारका कार्ययोजना बुझिने शैलीमा जनताबीच कलात्मक रूपमा प्रस्तुत गर्ने योजनाअनुसार प्रविधिमैत्री बनाउन खोजिएको हो।’

यी सबै कार्ययोजनाका मुख्य संयोजन भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले गरिरहेका छन्। सोही अभियानमा प्रेस, जनसम्पर्क सल्लाहकार पनि प्रत्यक्ष जोडिएका छन्। दैनिक सचिवालयमा कार्यरत आठदेखि १० जना यो अभियानमा सीधै जोडिने डा.अर्यालले बताए। त्यसबाहेक पनि इन्फोग्राफलगायत अन्य कामका लागि सचिवालयबाहिरबाट पनि सहयोग लिने गरिएको छ।

प्रधानमन्त्रीले सीधै जनतासँग जोडिने गरी अब टेलिभिजनबाट संवाद कार्यक्रमको योजनासमेत बनाएका छन्। विगतमा ‘प्रधानमन्त्रीसँग सीधा कुरा’ जस्तै कार्यक्रममा प्रधानमन्त्री जोडिने भएका छन्। ‘कार्यक्रमको नाम के राख्ने भन्ने तय भइसकेको छैन। तर जेठ अन्तिम साताबाट हामी टेलिभिजनमार्फत जनतासँग प्रधानमन्त्रीलाई जोडाउँदै छौं’, अर्यालले भने।

प्रधानमन्त्रीले आफ्नै क्याबिनेटका मन्त्रीलाई पनि प्रविधिमैत्री बन्न निर्देशन दिएका छन्। आफ्नो क्याबिनेटका मन्त्रीहरूलाई कम्तीमा ल्यापटप चलाउन सिक्न निर्देशन दिइसकेका छन्। ल्यापटप चलाउन नजान्ने मन्त्री ६ महिनामा हट्ने बताउँदै ओलीले सबै मन्त्रीलाई ल्यापटप नै उपलब्ध गराउने र मन्त्रिपरिषद् बैठकमा अनिवार्य ल्यापटपसहित उपस्थित हुन निर्देशन दिने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.