‘बजेट कार्यान्वयन चुनातीपूर्ण’
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । महासंघले आगामी आर्थिक वर्ष पाँच लाखलाई रोजगारी दिने र आर्थिक वृद्धि ८ प्रतिशत गर्ने कुरा अव्यावहारिक रहेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । लक्ष्य सुन्दा कर्णप्रिय भए पनि व्यवहारतः सफल पार्न अत्यन्त चुनौतीपूर्ण हुने बताइएको छ ।
निजी क्षेत्रलाई विकासको सारथी नबनाई सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने उनीहरूको भनाइ छ ।
‘समृद्धिबिनाको सुख क्षणिक हुन्छ, दिगो हुन सक्दैन । विगतको न्यून आर्थिक वृद्धिदर, उच्च व्यापार घाटा र दवावमा रहेको शोधनान्तर स्थितिलाई नियन्त्रणमा ल्याउन उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्दै लैजानु आवश्यक छ’, विज्ञप्तीमा भनिएको छ ।
महासंघले वैदेशिक रोजगारीमा निर्भरता कम गराउन देशभित्रै रोजगार, उच्च प्राविधिक शिक्षा, उद्योग तथा शिक्षण संस्थाबीच सामन्जस्यता कायम गर्न निजी क्षेत्रको धारणा समावेश भएको बताएको छ । सोहीअनुसार कृषि क्षेत्रलाई गरिबी निवारण, रोजगारीको अवसर एवं उद्योगलाई चाहिने कच्चा पदार्थ आपूर्तिको रूपमा विकास गर्ने सोचका साथै व्यक्तिगत वा सहकारीसँग करार खेती एवं सोको व्यवसायीकरण गर्ने धारणा स्वागतयोग्य रहेको महासंघले जनाएको छ ।
आगामी दुई वर्षमा एक दर्जन उद्योगलाई आयात प्रतिस्थापन उद्योगका रूपमा विकास गर्ने कुरा प्रशंसनीय भएको तर आधारभूत संरक्षणको प्रारूप के त्यसबारे प्रष्ट हुन आवश्यक रहेको जनाइएको छ ।