चाँदनी–दोधारा जोड्ने झोलुंगे पुल जोखिममा
महेन्द्रनगर : कञ्चनपुरको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुल यतिबेला उच्च जोखिममा परेको छ। पुलको उचित मर्मत सम्भार नहुँदा पुल प्रतिदिन जीर्ण बन्दै गएको छ। पुलमा आवतजावत गर्न पनि निकै कठिन हुने गरेको छ।
पुलको दायाँबायाँ लगाइएका जाली निकै कमजोर भइसकेका छन् भने त्यसका चारैतिर लगाइएका फलामे डोरी चुँडिएका छन्। बीच भागमा बिछ्याइएका फलामे पातासमेत ठाउँ–ठाउँमा भाँचिएका छन्।
करिब १४ वर्षअघि महाकालीपारिका गाविस दोधारा–चाँदनी (हाल महाकाली नगरपालिका) का जनतालाई सदरमुकामसँग जोड्न महाकाली नदीमा झोलुंगे पुल निर्माण गरिएको हो। त्यसअघि त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउजाउ गर्थे।
०६१ सालमा महाकाली नदीमा झोलुंगे पुल निर्माण भएपछि भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता हट्यो। त्यसपछि सर्वसाधारणले सहजै झोलुंगे पुल हुँदै आउजाउ गर्न थालेको अहिले करिब १४ वर्ष भयो।
पुलमा आवश्यकभन्दा बढी भार भएका मोटरसाइकल बढ्दै गएपछि पुल कमजोर बन्दै गएको स्थानीय बताउँछन्। ‘सर्वसाधारणलाई सदरमुकाम आवतजावत गर्न र केही घरायसी सामान ल्याउन–लैजान सजिलो भइरहेको थियो’, महाकाली नगरपालिका–४ का पदमराज भट्टले भने, ‘अहिले भने पुल निकै कमजोर अवस्थामा पुगेको छ, कुन दिन भाँचिन्छ भने पिर परेको छ।’
उनका अनुसार सरकारी उदासीनका कारण पुल एक दशकमै जोखिममा परेको हो।
‘सरकारी निकायको ध्यान नै छैन्,’ ओभरलोड सामानले पुलको भविष्य नै संकटमा परेको छ’, उनले भने, ‘समयमा यसको मर्मत र संरक्षण नहुने हो भने सदरमुकाम आवतजावत गर्ने बाटो फेरि पुरानै हुनेछ।’ पुलको ठाउँ–ठाउँमा नटबोल्टसमेत निस्केका छन्।
कतिपय स्थानमा पोल जोडिएको भागमा समेत क्षति पुगेको छ। महाकालीपारिको दोधारा चाँदनीलाई जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोड्न बनाइएको झोलुंगे पुलको अवस्था प्रतिदिन नाजुक बन्दै गएपछि महाकाली नगरपालिकावासीसमेत चिन्तित छन्।
‘यो पुलको संरक्षण र सम्वद्र्धन हुन सकेन’, स्थानीय हिम्मतसिंह ठगुन्नाले भने, ‘दिनहुँ हुने तस्करीका सामान ओसारपसारले गर्दा यो पुल ओभरलोडका कारण पनि जीर्ण हुन पुगेको हो।’ सरकारी निकायले जोखिममा पर्दै गएको पुल मर्मत र रेखदेखमा ध्यान नदिएको स्थानीयको आरोप छ। पुलको अवस्था हेर्दा एक÷दुई वर्षमै भाँचिने खतरासमेत छ।
झोलुंगे पुल मर्मतका लागि भन्दै जिल्ला समन्वय समितिले बर्सेनि कर उठाउँदै आएको छ। तर, पूर्णरूपमा मर्मत हुन सकेको छैन।
‘यो पुल अहिलेसम्म स्थानीय तहलाई हस्तान्तरण भएको छैन,’ जिल्ला समन्वय समितिका अधिकारी धर्मराज जोशीले भने, ‘सबै काम डोलीडारअन्तर्गत झोलुंगे पुल महाशाखाले नै मर्मत गर्ने गर्छ’। तर, महाशाखाले मर्मत गर्ने भनिए पनि अहिलेसम्म महाशाखाले पुल मर्मत गरेको देखिँदैन।
जिल्ला समन्वय समितिलाई पुल रेखदेख मात्र गर्न भनिएको छ। जिल्ला समन्वय समितिले पुलको वारिपारि दुई स्थानमा रेखदेखका लागि कर्मचारी राखेको छ। तर, ती कर्मचारीबाट पुलको कुनै रेखदेख हुन सकेको छैन्। पुल मर्मत अभावमा जोखिममा पर्दै गएको भनेर बारम्बार महाशाखालाई जानकारी गराए पनि कुनै ध्यान नदिइएको जिल्ला समन्वय समितिका कर्मचारी बताउँछन्।
‘महाशाखालाई पुलको अवस्थाबारे बारम्बार पत्राचार गरी आवश्यक बजेटसमेत माग गरिँदै आएको छ’, जिल्ला प्राविधिक कार्यालयका डीई जगत्प्रसाद जोशीले भने। उनका अनुसार पुल मर्मत सम्भार गर्न अहिलेसम्म कुनै ठोस काम हुन सकेको छैन।
पुलवारि र पारि तीव्र रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननले समेत पुल जोखिममा पर्न थालेको स्थानीय बताउँछन्। ‘यो पुलले गर्दा वारिपारि गर्न सजिलो भइरहेको छ तर अब यसको समेत भविष्य देखिन्न’, स्थानीय दलबहादुर सार्कीले भने। पुलले एक पटकमा ५० किलोसम्म क्षमता धान्न सक्छ तर त्योभन्दा बढी क्षमताका सामान पनि उक्त पुलबाटै ओसार पसार गर्ने गरिन्छ।
०६१ सालमा करिब १० करोड लागतमा निर्माण गरिएको यो पुल महाकालीपारिका करिब ५० हजार जनसंख्या र सदरमुकामबाट जानेहरूका लागि समेत लाभदायिक छ।
पुल अवलोकन गर्न स्वदेश तथा विदेशबाट बर्सेनि हजारौैं पर्यटक आउने गरेका छन्। भीमदत्त नगरपालिका–१३ र महाकाली नगरपालिका–४ लाई जोड्ने गरी महाकालीमाथि बनाइको उक्त पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ। उक्त पुल महेन्द्रनगर बजारदेखि साढे १० किलोमिटर दूरीमा अवस्थित छ।