प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आर्मीको पहिलो जित
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ।राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश २ लाई ५६ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.३ ओभरमा अल आउट हुँदै दुई सय ४४ रनको योगफल खडा गरेको थियो। आर्मीका लागि विकेटकिपर ब्याट्सम्यान राजु रिजालले ५० रनको अर्धशतकीय पालि खेले। यसैगरी राजेश पुलामी मगरले ४० तथा सोमपाल कामीले ४१ रन बनाए। यसैगरी कप्तान विनोद भण्डारीले २३ रन जोडे।
प्रदेश २ का दिव्यांशु मल्लिकले तीन विकेट लिए। यसैगरी रसिद खान, सांसद सेख र कप्तान मेहबुब आलमले दुईदुई विकेट हात पारे।
दुई सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ का कुन्दन सिंह खाता नखोली पेभेलिएन फर्किएका थिए। त्यसपछि हरिशंकर साह र हसिम अन्सारीले प्रदेश २ को पालि सम्हालेका थिए। आठ ओभरको खेल समाप्तिसँगै पानी परेपछि खेल रोकिएको थियो।
एक घन्टापछि सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो। त्यसपछि प्रदेश २ ले दुई सय ३८ रनको नयाँ लक्ष्य पाएको थियो। प्रदेश २ ले निर्धारित ४० ओभरमा नौ विकेट गुमाएर एक सय ८२ रनमात्र बनाउन सक्यो।
प्रदेश २ का सुरज पटेलले ४६, हरिशंकर साहले ३४ र हसिम अन्सारीले २८ रन बनाए। मध्यम क्रमका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा ५६ रनको हार बेहोर्न बाध्य भयो। आर्मीका सोमपाल कामीले तीन विकेट लिए। यसैगरी सुशन भारी, सागर पुन र साहव आलमले दुईदुई विकेट हात पारे। सोमपाल कामी खेलको म्यान अफ दी म्याच चुनिए।