नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाका लागि अवधारणापत्र तयार

नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाका लागि अवधारणापत्र तयार

काठमाडौं : नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नेपालमा खेलकुदको विश्वविद्यालय स्थापनाका लागि अवधारणापत्र तयार पारेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही महिनाअघि सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा खेलकुद विश्वविद्यालय अवधारणा समिति गठन गरेको थियो। समितिले खेलकुदको दीर्घकालीन विकास र अनुसन्धानमूलक गतिविधिका लागि छुट्टै विश्वविद्यालयको आवश्यकता ठानी अवधारणा तयार पारेको समितिका सचिव एवं सानका निर्देशक नवीन उप्रेतीले बताए।

समितिले बिहीबार राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई अवधारणापत्र बुझाएको छ। खेलकुदका विज्ञको सुझावका आधारमा तयार पारिएको अवधारणापत्रमा विश्वविद्यालयको आवश्यकता, यसको पूर्वाधार, पढाइ हुने विषयवस्तु, पाठ्यक्रम, संरचना लगायतका विषय समेटिएको छ। विश्वविद्यालयका लागि हेटौंडाको गौरीटार स्पोर्टस् एकेडेमीलाई प्रस्ताव गरिएको छ। गौरीटारमा विश्वविद्यालयका लागि पर्याप्त भौतिक संरचना तयार भइरहेको छ। २४ बिघा क्षेत्रफलमा रहेको गौरीटार स्पोर्टस् एकेडेमीभित्र अहिले फुटबल मैदान, पाँचवटा इन्डोर हल र सुविधासम्पन्न खेलाडी होस्टलसमेत निर्माण भइसकेको छ।

आवश्यक जग्गा, सबैलाई उपयुक्त हुने स्थान र अन्य संरचना निर्माण गर्नसमेत मिल्ने भएकाले खेलकुद विश्वविद्यालयका लागि गौरीटारलाई प्राथमिकता दिइएको उप्रेतीले बताए। उनका अनुसार विश्वविद्यालय मुख्यत: खेलकुदका दक्ष प्रशिक्षक र प्राविधिक तयार पार्न आवश्यक ठानिएको हो। ‘नेपालमा अहिलेसम्म खेलकुदका प्रशिक्षक र प्राविधिक तयार गर्ने काम सुरु भएको छैन। सबै प्रशिक्षक विदेशमा सिकेर आएका छन्। खेलकुद विश्वविद्यालय बनेपछि हाम्रै देशमा प्राविधिक उत्पादन हुनेछन् भने खेलकुदसम्बन्धी अनुसन्धानका काम पनि यहीँ हुनेछ’, उप्रेतीले भने।

मार्सल आर्टस् खेलका लागि नेपाल दक्षिण एसियाकै पावर हाउस भएकाले अन्य देशका खेलकर्मीले नेपाललाई मार्सल आर्टस्को अध्ययन केन्द्र बनाउनसक्ने पनि उप्रेतीले बताए। विश्वविद्यालय बनेपछि यहीँ उत्पादन भएका प्राविधिकले खेलकुदलाई वैज्ञानिक तवरबाट अगाडि लैजानसक्ने उनको बुझाइ छ। यो अवधारणापत्र अब राखेप हुँदै युवा तथा खेलकुद मन्त्रालयमा पठाइनेछ। त्यसपछि क्याबिनेटमा छलफल भई यसले पूर्णता पाउने बताइएको छ।

नेपालमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा खेलकुद साइन्स विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु भएको छ। तर, त्यसलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता भने छैन। खेलकुद विश्वविद्यालय बनेपछि यसले अन्तर्राष्ट्रिय मान्यता पाउने पनि उप्रेतीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.