म ३० वर्षको थिएँ भने.....

म ३० वर्षको थिएँ भने.....

म अहिले ३० वर्ष भएको भए के गर्थें ? यो त धेरै पुरानो कुराजस्तो भयो। अहिलेको युग यति तीव्र गतिमा अघि बढिरहेको छ कि हाम्रो पालामा ३० वर्षमा प्राप्त हुने ज्ञान अहिलेको युवाले १५ वर्षमै प्राप्त गर्न सक्छ। त्यसैले मलाई ३० वर्षभन्दा पनि २० वर्षको थिएँ भने के गर्थिस् भनेर भनिदिएको भए राम्रो हुन्थ्यो। ३० वर्षमा त मान्छे धेरै पुरानो भइसकेको हुन्छ।

सबैभन्दा पहिलो कुरा त मान्छे भएर जन्मिसकेपछि गर्नुपर्ने के हो ? प्रत्येक मान्छेका आ–आफ्नो सोच र चाहना हुन्छन्। हामी सामाजिक प्राणी हौं र नितान्त निजी प्राणी पनि हौं। प्रत्येक व्यक्तिको आफ्नो सोच हुन्छ। जन्मेर अलिकति चेतना प्राप्त हुने बित्तिकै उसले प्रश्न गर्न थाल्छ, म के हुँ ? , मैले गर्नुपर्ने के हो ? , यो संसार के हो ?। यो ३० वर्षको उमेरमा मैले के सोच्थें भने (तपाईंहरूले पनि सोच्नु भएको हुन सक्छ) मैले यो युगमा गर्नुपर्ने के हो ? , यसलाई बुझ्ने प्रयत्न गर्थैं म। म ३० वर्षको हुँदा, सन् १९८३÷८४ तिर मैले त्यो प्रयास गरेकै हुँ। त्यतिबेला पञ्चायती व्यवस्था थियो।

२०३६ सालमा जनमत संग्रह जितेर राजतन्त्र एउटा चक्रवर्ती बादशाह जस्तो बनेको थियो। हामीले परिकल्पना गरेका थियौं कि जबसम्म नेपालमा यो व्यवस्था अन्त्य भएर गणतन्त्र आउँदैन, त्यतिबेलासम्म नेपालको गरिबी, बेरोजगारी, विदेश पलायनको अन्त्य हुँदैन। म भारतमा पढ्दा देख्थें, नेपालीहरूको दयनीय अवस्था, हेपिएको अवस्था। त्यतिबेला मेरो चेतनाले भनेको थियो, नेपाललाई समृद्ध बनाउने हो भने यो मध्ययुगीन राजतन्त्रको अन्त्य नभइकन हुँदैन। त्यतिबेलाको चेतना भनेको लोकतन्त्र र राज्य स्वतन्त्रताका लागि लड्ने भन्ने थियो। हामीले त्यतिबेला जुन चेतना लिएका थियौं, आज आइपुग्दा त्यो बदलिएको छ। आज आएर त्यस्तो निरकुंश शासकहरूको युग पनि करिब–करिब सकिएको छ। राजनीतिक ‘सुपर स्ट्रक्चर’ त बदलियो तर यसको सामाजिक, सांस्कृतिकजस्ता ‘बेस’ बदलिएको छैन।

विश्वसामु हाम्रो देश एउटा काँठे पुँजीवाद जस्तो बनेको छ। समग्र हिसाबले हेर्दा पुँजीवाद त बनेको छ तर विश्व पुँजीवादको चपेटामा नेपाल पनि पर्दै गएको देखिन्छ। अहिले म तपाईंहरू जस्तो युवा भएको भए काँठे पुँजीवादको अन्त्य गरेर सबै जनतालाई सुखी र समृद्ध बनाउने उपायको खोजी गर्थें। किनकि हाम्रो पालामा उदारवादी पुँजीवाद दुई सय वर्ष पुरानो भइसकेको थियो। अर्काे, माक्र्सेली पुँजीवाद डेढ सय वर्ष पुरानो भइसकेको थियो। तै पनि त्यतिबेला निरंकुशताका विरुद्ध लड्न हामीले माक्र्सेली समाजवादी विचारलाई अपनाएकै थियौं। तर, त्यो चरण अहिले पूरा भइसक्यो।

त्यतिबेला हामी पुस्तकालयमा गएर पुराना जर्नलहरू खोज्थ्यौं। तर, अहिले हामीसँग स्मार्ट फोन छ। गुगलमा सर्च गर्नेबित्तिकै सबै कुरा आउँछ। हिजो १२ घण्टासम्म हामी लाइब्रेरीमा बसेर जुन अध्ययन अनुसन्धान गथ्यौं। अहिले रिसर्च इन्स्टिच्युटका रिसर्च पेपरहरू जति पनि पाइन्छ। त्यसलाई घरमै बसीबसी अध्ययन गरेर अहिलेको युग सुहाउँदो, नेपाल सुहाउँदो नयाँ विचार निर्माण गर्न अघि बढ्थेँ होला म।

नयाँ व्यवस्था वा समृद्धिको खोजी हो भने त्यहाँसम्म पुग्ने बाटो हामीलाई चाहिन्छ। त्यो भनेको न त हिजोको पुँजीवाद, साम्यवाद, न त हिजोको कांग्रेस, कम्युनिस्ट, लोकतन्त्रमा आधारित नयाँ प्रकारको समाजवादी मोडलले अब हामी अघि बढ्नुपर्छ। म त्यतातिर लाग्थेँ।

अहिले एउटा थेगोजस्तो भएको छ, म यो गर्थें र त्यो गर्थें भन्ने। गर्थें भन्न त कुन ठूलो कुरा भयो ? जसले पनि भन्न सक्छ। तर, त्यो कसरी गर्ने भन्ने चाहिँ मुख्य कुरा हो।

विचारको विकास नभइकन कुनै पनि ठूला क्रान्ति भएका छैनन्। गौतम बुद्ध २९ वर्षको हँद बुद्धत्व प्राप्त गर्न राजकाज छोडर हिँडेका थिए। आइन्सटाइन जम्मा २६ वर्षका थिए, रिलेटिभिटीको सिद्धान्त निकाल्दा। विश्वविजय गर्न हिँड्दा सिकन्दर जम्मा १९ वर्षका थिए। हो, यही समय उपयुक्त हो, नयाँ र महान् काम गर्ने र त्यसलाई लागू गर्ने।

दुनियाँलाई बुझ्ने र बदल्ने कुरा नै मुख्य हो। प्रत्येक युगमा यो फरक हुन सक्छ। युवा पुस्ताले यो गर्नुपर्छ। बदल्ने कुरा पनि मुख्य हो। राज्यका उपरीसंरचना त बदलियो तर हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक आधारहरू अझै बदलिएका छैनन्। हाम्रो मुख्य अधिकार भनेको श्रम गर्ने हो। जब हाम्रो देशका ५० लाख युवाहरूले देशभित्रै श्रम गर्ने अधिकार राख्दैनन्। श्रम गर्ने अवसर प्राप्त नगरेर विदेशतिर जान बाध्य हुनु परेको छ। अहिले हामीले लड्नुपर्ने आर्थिक आधार बदल्नलाई हो। युवालाई रोजगारीको व्यवस्था गर्ने मुद्दा मुख्य मुद्दा हुन्थ्यो होला मेरो। यस्तो अवस्थालाई बदल्न मेरो तर्फबाट पनि काम गर्थें। म एक्लै गरेर त्यो हुँदैन। समूह बनाएर त्यस्तो काम गर्थें।

राजनीतिक प्रणालीको विकास र समृद्धिमुखी राज्यलाई केन्द्रमा राखेर हामीले अभियान चलाउनुपर्छ। म भए त्यसको नेतृत्व गर्न अघि सर्थें। आर्थिक विकास र समृद्धिका जुन योजनाहरू छन्, त्यसलाई ठीक ढंगले अघि बढाउनुपर्छ। अहिले एउटा थेगोजस्तो भएको छ, म यो गर्थें र त्यो गर्थें भन्ने। गर्थें भन्न त कुन ठूलो कुरा भयो ? जसले पनि भन्न सक्छ। तर, त्यो कसरी गर्ने भन्ने चाहिँ मुख्य कुरा हो। म अहिले ३० वर्षको थिएँ भने र सत्ताको नेतृत्व पनि मैले गरिरहेको हुन्थेँ भने यो ठाउँमा भएको नेपाललाई १० वर्षभित्र कहाँ पु¥याउन सकिन्छ भनेर ठोस खाका बनाउँथे। र, त्यसअनुसार काम गर्थें।

नेपालमा रोजगारीको समस्या झनै ठूलो छ। श्रमशक्ति कौडीको मूल्यमा बिदेसिनु परेको छ। युवाहरूलाई हामीले विदेश पठाउने हैन, देशभित्रै बसेर केही गर्न सक्ने वातावरण बनाउनुपर्छ। म त्यतातिर अघि बढ्थेँ भन्ने लाग्छ। त्यसका निम्ति सबैलाई सीपमूलक शिक्षा दिने हो भने हामी विदेशमा गएछौं भने पनि अहिलेको भन्दा दसौं गुना बढी कमाउन सक्छौं। भोलि हामीले आफैं व्यवसाय पनि गर्न सक्छौं। व्यावहारिक शिक्षा प्राप्त गरेर म आफ्नै देशमा बसेर आफ्नो व्यवसाय चलाउँथे। यसैले, अब विदेश जान लाइन लाग्ने हैन, यहीँ बसेर अधिकारका निम्ति लड्ने हो। यहीँ आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्ने हो। त्यसका लागि राज्यलाई दबाब दिने हो। दबाब दिएर सेवासुविधा प्राप्त गर्नेतिर अघि बढ्नुपर्छ। हाम्र्रा युवालाई यहीँ रोजगारीको अवसर सिर्जना गर्ने हो भने हामीलाई समृद्ध हुन धेरै समय लाग्दैन। व्यावहारिक शिक्षामार्फत अहिलेको बेराजगारी समस्या अन्त्य गर्न सक्छौं। बाह्य शक्तिहरूले जसरी हामीलाई बजार मात्रै बनाइरहेका छन्, त्यसको सट्टा हामीले हाम्रो वस्तु तथा सेवा बाहिर निर्यात गरेर देश समृद्ध बनाउन सक्छौं। चीन र भारतको ठूला बजार हामीलाई प्राप्त छ, त्यसलाई सदुपयोग गरेर हामी समृद्ध हुन सक्छौं।

अहिलेको २१औं शताब्दीमा आएर पनि हाम्रो सामाजिक, सांस्कृतिक अवस्थाहरू पिल्सिएको अवस्था छ। भनिन्छ, सुदूरपश्चिममा छाउपडी प्रथा छ। तर यहीँ काठमाडौंमै पनि छाउपडी प्रथा छ। हाम्रा दिदी, बहिनीलाई महिनावारी हुँदा भान्सामा जान दिइँदैन। पढेलेखेका महिलामा पनि यो समयमा म अलग्गै बस्नुपर्छ भन्ने सोचाइ छ। पिछडिएको चेतना बोकेर हामी यहीँ बसिरहेका छौं। महिलालाई हेर्ने दृष्टिकोण हाम्रा युवाहरूमा पनि बराबरी नै छ। त्यस्तै दलितहरूप्रति छुवाछूतको भावना अहिले पनि छ, हामीमा। त्यसैले म ३० वर्षे युवा भएको भए त्यसको विरुद्धमा उठ्थेँ। त्यतिबेला म ३० वर्षको हुँदा पनि विद्रोही चेत थियो।

महिला र पुरुष अर्थात् लिंग छुट्टिएको जम्मा दस करोड वर्षमात्रै भएको छ। अध्ययनहरूका अनुसार दुई अर्ब वर्षको युगमा एक सय ९० करोड वर्षसम्म त हामी एउटै सेलमा रहेर बस्यौं। भिन्नता हुँदा विशिष्टता हुन्छ, क्षमता अभिवृद्धि हुन्छ भनेर प्रकृतिले विशिष्ट मात्रै गरेको हो यसलाई। होइन भने केही पनि फरक छैन। हामी विविध छौं, फरक छौं। तर, असमान छैनौं। हामी पुरुष साथीहरूले त केहीँ न कहीँ महिलालाई विभेद गरेकै छौं। मैले पनि गरेको छु होला, कतिपय ठाउँमा। अहिले म ३० वर्षे युवा भएको भए वैज्ञानिक चेतना फैलाएर समानताको पक्षमा अभियान चलाउँथे।

हामी इन्द्रेणी राष्ट्रियताका साझा नेपाली हौं। हामी सबै नेपाली हौं भन्ने मानसिकताको विकास गर्न प्रयास गर्थंे म। यसले हामीलाई समृद्ध पनि बनाउँथ्यो।

अर्काे मुख्य कुरा हो स्वास्थ्य। शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य। समाजका निम्ति केही गरौं भन्ने मानसिकता विकास गर्न पनि स्वस्थ हुन जरुरी छ। शरीर स्वस्थ्य भएन भने, क्रियाशील भएन भने, त्यसले पार्ने असर विभिन्न हुन्छन्। म ३० वर्षे हुँदा पनि स्वास्थ्यमा त निकै ध्यान दिन्थेँ। अहिले व्यायाम र खेलकुदका जति पनि सम्भावना छन्, त्यसलाई सदुपयोग गरेर स्वास्थ्यमा ध्यान पु¥याउँथे जस्तो लाग्छ। अहिले सबै युवाहरू त्यसमा लाग्नुपर्छ।

मानिसमा जुन यौन, प्रेमका कुरा छ, यसलाई हामीले अत्यन्तै रहस्यमय बनाएका छौं। यो कुनै रहस्यमय विषय नै हैन। जब हामी बहुकोषिकामा विभाजित भयौं, तब प्रजनन कार्यको निम्ति यौनचाहना, प्रेम देखिनु स्वाभाविक थियो। त्यसलाई हामीले निकै रहस्यमय बनाएर राख्यौं। आज यस्तो विकसित भइसक्दा पनि यो विषयलाई हामीले यस्तो रहस्यमय बनाएर विभिन्न किसिमका विकृति निम्त्याइरहेका छौं। अहिले हामीले यौन र प्रेमलाई रहस्यमय बनाउनु हुँदैन। म ३० वर्षे युवा थिएँ भने अत्यन्तै वैज्ञानिक तरिकाले यसलाई हल गर्न अघि सर्थें। अनेक किसिमको कुण्ठा बोकेर हिँडेका युवायुवतीलाई यौन र प्रेमलाई बुझाउने ढंगले अघि बढ्थेँ भन्ने लाग्छ मलाई। २१ औं शताब्दीको सबैभन्दा उन्नत मान्छे बन्नुपर्छ तपाई ं। अब कुनै पनि अर्थमा हामी पछाडि पर्नु हुँदैन।

र, अन्त्यमा, युवाहरू तपाईंले हरेक कुरामा प्रश्न गर्न सिक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.