खेल्ने होइन, खाने तास
२०४४ सालमा चितवनको नारायणगढमा ‘भेटघाट रेस्टुरेन्ट’को स्थापना भएपछि तासको उत्पत्ति त्यहीबाट भयो। अहिले नेपालका विभिन्न सहरमा खाजाको लागि गोविन्दप्रसाद तिवारीले ल्याएको कन्सेप्ट ‘तास’ निकै लोकप्रिय छ।
खानाको सौखिनहरू हरेक दिन फरकफरक स्वादको परिकार खोजिरहेका हुन्छन्। खाना होस् या खाजा, पेट अघाएर मात्रै हुँदैन। स्वाद रोजेजस्तो र खोजेजस्तो पनि हुनुपर्छ। अझ भनौं पछिल्लो समय पेटको लागिभन्दा पनि ट्वाक्क जिब्रोमा लाग्ने स्वादको लागि मानिसहरू फरकफरक परिकार खान मन पराउँछन्।
यही फरक परिकारमध्ये ‘तास’ एक हो। जब २०४४ सालमा चितवनको नारायणगढमा ‘भेटघाट रेस्टुरेन्ट’को स्थापना भयो, तासको उत्पत्ति पनि त्यहीबाट भयो। अहिले नेपालका विभिन्न सहरमा खाजाको लागि ‘तास’ निकै लोकप्रिय छ। अहिले देशका कतिपय होटेलहरू ‘तास’कै नामबाट चलिरहेका छन्।
खसीको मासुमा नुन, मसला, लसुन, प्याज, खुर्सानी, अदुवा, इलाइची, ल्वाङ, धनियाँ, दालचिनी, पिपला, बेसार, सुकमेललगायत घरायसी मसलाको मि श्रणले गर्दा ‘तास’ सबैको रोजाइमा पर्ने गरेको छ। चितवनका गोविन्दप्रसाद तिवारी तासको परिकार बनाउने आविष्कारक हुन् भन्दा फरक परोइन। उनैको मेहनतबाट अहिले विश्वका विभिन्न देशमा समेत ‘तास’को माग बढ्न थालेको छ।
परि श्रमको फल मीठो हुन्छ भनेझैं गोविन्दप्रसाद तिवारीको परि श्रमको फल अहिले धेरैले मीठो मानिरहेका छन्। करिब एक वर्षसम्मको निरन्तर प्रयासपछि ‘तास’को आविष्कार भएको उनी बताउँछन्। ‘सबै चिज विदेशबाट बनेर आउँदा कतिपय परिकार त नेपालमै बन्दो रहेछ भनेर देखाउनको लागि पनि फरक स्वादको स्थापना गरिएको उनी बताउँछन्। ‘त्यतिबेला केही फरक स्वाद चखाउनको लागि तासको आविष्कार गरेको थिएँ,’ उनी भन्छन्, ‘अहिले यस्तो होला भन्ने सोचेकै थिइनँ।’ हरेक दिन बनाएर नजिकका साथीलाई ख्वाउँदा ख्वाउँदै मीठो तासको स्वाद बनाउन सफल भएको उनको भनाइ छ।
‘मसला, खुर्सानीको तारतम्य नमिल्दा कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, कहिले घाँटी दुख्ने, ज्वरो आउने, जिब्रोमा खाला जाने जस्ता समस्या हुन्थ्यो,’ विगत सम्झँदै उनी थप्छन्, ‘धेरै पटकको प्रयासपछि यो सफलता पाएको हो। साथीहरूले सबै स्वाद मिलेको छ, मीठो बनेको छ भनेपछि मात्रै सर्वसाधारणका लागि पस्केको हुँ।’ तिवारीलाई विश्वसामु तास नेपालमा बनेको भनेर चिनाउने ठूलो रहर छ। अहिलेसम्म अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, जर्मन, लन्डन, फिलिपिन्सलगायतका देशहरूमा उनले तास बनाउने सामग्री पठाइसकेका छन्। करिब २० भन्दा बढी देशका नागरिकले खसीको मासुको तास खाएको उनको दाबी छ। सबैभन्दा धेरै जापनिज, कोरियनले धेरै मन पराउने उनी बताउँछन्। ‘जापान र कोरियन आउँदा त एकै पटकमा तीन÷चार प्लेट नखाई जाँदैनन्,’ भन्छन्, ‘मलाई जापान र कोरियामै बस्ने गरी धेरै पटक खबर आइसक्यो। तर, म गइनँ।’
उनी थप्छन्, ‘धेरै साथीहरूले विदेशमै होटेल खोलेर बसौं भन्नुहुन्छ। तर, मलाई यहीँ राम्रो भइरहेको छ। त्यसैले मलाई जे गर्नु छ नेपालमै गर्नुछ। आवश्यक सहयोग तथा सुझाव भने दिइरहेको छु।’ खासमा स्वर्गीय श्रीमतीको प्रेरणाले यो व्यवसाय गरेको बताउँछन् उनी। ‘होटेल गरेपछि दुई पैसा पनि देख्न पाइने, मन लागेको बेलामा खान पनि पाइने हुँदा यो पेसा अपनाइयो,’ उनी भन्छन्, ‘आज म यति माथि पुग्छु भन्ने लागेकै थिएन।’ तास भनेर नाम भने ख्यालख्यालमै राखेको उनी बताउँछन्।
‘हाम्रो नेपाली समाजमा मासु र रक्सीसँगै खाने एक खालको परम्पराजस्तै बनेको छ। त्यसैको आधारमा यो परिकारको नाम ‘तास’ भनेर राखियो,’ तिवारी भन्छन्, ‘तासको नाम राख्दा कुनै अध्ययन अनुसन्धान नगरे पनि अहिले यही नाम जताततै बिकेको छ।’ म:मको परिकार सुरुमा चीनले बनाएको हो। ‘मलाई विश्व इतिहासमै तासको परिकार चितवनबाट आविष्कार गरेको भनेर चिनाउनु छ,’ उनी भन्छन्, ‘तर, यसमा सरकारले खासै ध्यान दिएको पाइँदैन। नयाँ चिजको आविष्कार गरेकालाई प्रोत्साहन पनि गरेको पाइँदैन।’
विगत तीन वर्षदेखि ‘भेटघाट रेस्टुरेन्ट’ले कुखुराको मासुको पनि तास बनाउँदै आएको छ। तर, सेवाग्राहीले कुखुराको भन्दा खसीको मासुको तास नै बढी मीठो मान्ने गरेको उनी बताउँछन्। ‘दीर्घकालीन रूपमा त खसीकै मासुको तास मन पराउँछन् कि भन्ने लाग्छ,’ तिवारी भन्छन्, ‘जिब्रोको स्वादको लागि खसीकै राम्रो मानेका छन्।’ अहिले चितवनमा मात्रै ३० वटाभन्दा बढी होटेल छन्, जहाँ तासको परिकार पाइन्छ। ती सबै होटेलले भेटघाटबाटै सिकेर आफ्नो व्यवसाय सुरु गरेको उनको दाबी छ। तर, स्वादको लागि भने भेटघाट जत्तिको अरू होटेलमा बनाएको मान्दैनन्। सञ्चालक तिवारीले स्थापनाकालदेखि अहिलेसम्म नै मसला मिलाएर मोल्ने काम पनि आफैं गर्छन्।
‘कहिलेकाहीँ दायाँबायाँ जानुपर्यो भने मात्रै अड्कलेर छोड्छु, उनी भन्छन्, ‘नत्र हरेक दिन म आफैं गर्छु यो काम।’ अहिले भेटघाटले सात वर्षदेखि काठमाडौंमा पनि शाखा सञ्चालन गरिरहेको छ। बजारको चापले गर्दा चितवनमा भन्दा पनि काठमाडौंमा राम्रो भएको उनको बुझाइ छ। यस्तै देशका अन्य ठूला सहरहरूमा शाखा विस्तार गर्दै लैजाने योजना भए पनि श्रीमतीको निधनले गर्दा खुम्चिनु परेको उनी बताउँछन्। ‘मेरो चाहना त देशका सबै ठूला सहरहरूमा शाखा विस्तार गर्ने थियो,’ उनी भन्छन्, ‘ श्रीमतीको मृत्यु भएपछि अगाडि बढ्न सकिएन।’
तर, यो वर्ष भने भरतपुरस्थित धर्मचोकमा फनपार्कसहितको होटेल खोल्ने योजनामा तयारी गरिरहेको उनले बताए। केही फरक सोचाइका साथ व्यवसाय सुरु गर्दा स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने रहेछ भनेर एउटा उदाहरणीय पात्र बन्न सफल भएका छन्, उनी। कुनै पनि तालिमबिना विश्वमै फरक स्वाद निकालेर तास बनाएका उनलाई अहिले देशभरबाटै तासको पिता भनेर सम्बोधन गर्छन्। ताससँगसँगै म:म, चाउमिन बनाउन पनि तालिमबिना नै जानेको उनी बताउँछन्। भन्छन्, ‘तासको लागि एक वर्षसम्म अध्ययन गरे पनि अहिले अरू खाजाको लागि भने मैले मेहनत गरिनँ।’