अनिश्चित यात्राका घुमन्तेहरू
घुमन्तेहरू सुविधा खोज्दैनन्। पर्यटकहरू प्लेनमार्फत यात्रा गर्छन्। तर घुमन्तेहरू सबैभन्दा सस्तो र खराब अवस्थाका सवारीसाधनमा यात्रा गर्छन् र सस्तो होटेलमा सुत्छन्। किनभने घुमन्तेको उद्देश्य एउटै हुन्छ– अनुभव।
– हिमाल दाहालअल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘मलाई घुम्न मनपर्छ, तर कतै पुग्न मन पर्दैन।’ घुम्नु अर्थात् घुमिरहनु। गन्तव्यमा पुगियो भने सम्पूर्ण मज्जा सकिन्छ। त्यसैले अनवरत घुमिरहन देश दुनियाँ हेर्नु अर्थात् नयाँ मान्छे भेट्नु। अर्थात्, नयाँ परिवेश जान्नु।
घुमेरै मानिसले संसार पत्ता लगाए। अनि घुमेरै थाहा पाए देश, भेष, भाषा। एक ठाउँमा अर्को ठाउँको प्रचारप्रसार गरे। पुस्तक लेखे। घुमन्तेहरू थिएनन् त सायद संसार बिरानो हुन्थ्यो। हुलाकी मात्रले संसार फैलाउन सक्थ्यो र ? कोही न कोही यस्तो मानिस हुनैपथ्र्यो जो घर, परिवार र काम छाडेर अनिश्चितताको यात्रामा निस्कन सकोस्।
घुमन्तेहरू पर्यटक होइनन्। पर्यटक र घुमन्तेहरूमा के फरक छ भनेर थाहा दिने दर्जनौं लिंकहरू गुगलमा पाउन सकिन्छ। सजिलो फरक के हो भने घुमन्तेहरू मोटामोटी योजना बनाउँछन् र अनिश्चिततासहितको यात्रा गर्छन्। तर, पर्यटकहरू सानासाना योजनाहरू पनि बनाउँछन् र निश्चितताको यात्रा गर्छन्। त्यसैले पर्यटकहरूले भन्दा धेरै अनिश्चितताको सामना घुमन्तेले गर्छन्। यस्ता अनिश्चितताप्रतिको कौतुहलताले घुमन्तेहरूलाई घुम्न प्रेरित गर्छ।
त्यसैले घुमन्तेहरू सुविधा खोज्दैनन्। पर्यटकहरू प्लेनमार्फत यात्रा गर्छन्। जमिनमा रेलको सुविधासम्पन्न डब्बा छान्छन्। बस रिजर्भ गर्छन्। सुविधासम्पन्न होटेलको कोठामा बस्छन्। जबकि घुमन्तेहरू सबैभन्दा सस्तो र खराब अवस्थाका सवारीसाधनमा यात्रा गर्छन् र सस्तो होटेलमा सुतिदिन्छन्। किनकि उनीहरूको एउटै उद्देश्य हुन्छ, अनुभव। महँगा होटेल, बसहरूमा सर्वसाधारणसँग अन्तक्र्रिया गर्न पाइन्न।
त्यसैले संसारभर घुमन्तेहरू घुमिरहेका हुन्छन्। कसैले उद्देश्य लिएका हुन्छन्। कतिपय बिना उद्देश्य घुम्छन् र घुम्ने क्रममा उद्देश्य बनाउँछन्। कतिलाई उद्देश्यसँग सरोकारै हुन्न। नयाँ ठाउँ, नयाँ मानिस, नयाँ खाना र हावापानीसँग साक्षात्कार हुने लालसाले उनीहरूलाई घर, गाउँ र देश छाड्न बाध्य बनाउँछ।
त्यसैले घुमन्तेहरू धेरैजसो सवारीसाधन पनि प्रयोग गर्दैनन्। घरैबाट साइकल लैजान्छन् बरु। नेपालका पुष्कर शाहले साइकलबाटै संसारको फन्को लगाए। सो क्रममा उनले भोगेको, देखेको विश्व अरूका लागि साँच्चै चाखलाग्दो थियो। फर्केर पुस्तक लेखे। अहिले धेरै युवाहरू संसार घुम्न निस्किएका छन्। कतिपयले साइकल रोजेका छन्, कतिले पैदलै।
रक्तदानको प्रचारका लागि निस्केका पवन
२०७२ वैशाख १२ को भूकम्पपछि झापाका पवनविक्रम मैनालीले साइकलयात्रा थाले। मन धेरैअघि नै संसार घुमिसकेको थियो। पालो उनको थियो। अढाइ वर्षमा ४२ देश घुमिसकेका उनले योजना बनाएका छन्, पाँच वर्षमा डेढ सय मुलुक पुग्ने। अहिले उनी अमेरिकामा छन्।
भूकम्पलगत्तै युवराज एक्लै रक्तदानको प्रचार गर्न साइकलमा नेपाल भ्रमणमा निस्केका थिए। उनी त्यो बेला पोखरा पुगेका थिए १० हजारमा किनेको साइकल कुदाएर। तर, पोखरामा साइकल हरायो। स्थानीय समाजसेवी सनतकुमार श्रेष्ठले आफ्नो छोराका बर्थ डेको अवसर पारेर उनलाई एक लाख ५० हजार रुपैयाँ पर्ने साइकल किनिदिए। पोखरामा नै उनको भेषराज कँडेलसँग पनि भेट भयो। कँडेल र उनको कुरा मिल्यो। उनीहरूले विश्व भ्रमणको योजना बनाए।
रक्तदानलाई आफ्नो यात्राको ‘थिम’ बनाएर उनले साइकलयात्रा गर्ने सुर कसे। काठमाडौंबाट पासपोर्ट, परराष्ट्र मन्त्रालयले दिएको चिठी, रेडक्रस र जेसिसले बनाइदिएको सिफारिस बोकेर झापा पुगे दुवै। झापाबाटै उनीहरूले यात्रा सुरु गरे।
बिनापैसा विदेश घुम्ने, नेपालको प्रचार गर्ने र रक्तदानबारे चेतना जगाउने उद्देश्य लिएर उनीहरूले घुमफिर थालेका थिए। घुमफिरको क्रममा उनले जे भोगे, देखे, त्यो एउटा पर्यटकको अनुभवभन्दा ज्यादा थियो। भने, ‘टुरिस्ट बनेर गएको भए पहिले त पैसा नै पुग्दैनथ्यो, दोस्रो मनलाग्दी जान र अनुभव गर्न पनि पाइँदैनथ्यो।’
कहाँ जाने, के गर्ने भन्ने केही टुंगो हुन्नथ्यो। पवन भन्छन्, ‘सर्सर्ती योजना त बनाएका हुन्थ्यौं, तर पहिले नै यसो गर्छु भनिहाल्न सकिँदैनथ्यो, किनकि एउटा सोचेर गयो, त्यहाँ पुग्दा अवस्था अर्कै हुन सक्थ्यो।’
उनीहरू पहिला भारत पुगे। भारत घुम्ने क्रममा नायक गोविन्दा र उनकी श्रीमतीसँग भेट भयो। उनीहरू दुवैले पवनसँग फोटो खिचाएपछि उनलाई थप ऊर्जा मिल्यो।
यात्राका क्रममा उनीहरूले प्रेम पनि पाए। ठाउँठाउँमा जोखिम पनि उठाए। तर, ती सबैले उनीहरूलाई अलग विश्वसँग साक्षात्कार गरायो। उनले भने, ‘अकल्पनीय भेट र घटनाहरू सपनाजस्ता थिए।’ उनीहरू यात्राकै क्रममा छन्। अर्थात्, उनीहरू सपनाको दुनियाँमा छन्। जहाँ जतिखेर जे पनि हुन सक्छ।
पवनले सोचेका थिएनन्, जापानको राजधानी टोकियोमा उनलाई कुनै जापानी केटीले मन पराएर बिहेको प्रस्ताव राख्छिन् र पवन त्यो ‘प्रेम’ टुक्र्याएर हिँड्न बाध्य हुन्छन् भनेर। कोरियामा १५ दिन काम गरेर तीन लाख रुपैयाँ कमाउने र यात्राको आर्थिक जोहो गर्नेबारे उनले कल्पनै गरेका थिएनन्। सहयोगको साटो काम पाएपछि उनीहरूले खर्च जुटाउन काम गरेका थिए।
धनी देशमा पर्ने युरोपको देशमा पनि बिजोगसँग चिसोमा कठ्यांग्रिएर सुत्नु परेको अनुभव छ उनीहरूसँग। झन् एसियाका कतिपय देशमा उनीहरूले धेरै समस्या भोगे। मलेसियाबाट सिंगापुर जाने क्रममा उनीहरू जंगलमा लुटिए। ‘पुलिसले पनि लुटेराबाट कमिसन लिने हुनाले हामीले उजुरी गरेनौं,’ उनले भने।
सिंगापुरको मुख्य राजमार्गमा उनीहरूले अलग अनुभव गरे। ‘त्यहाँ साइकल कुदाउने अनुमति छैन,’ उनले भने, ‘तर नजानेर हाइवेमा छिर्दा पुलिसले घेरा हाल्यो, कुरो बुझेपछि कारबाही त गरेन बरु स्कर्टिङ गरिदियो।’ पछि सम्झाएर छाड्यो।
उनीहरूले थाइल्यान्डमा इन्जोय गरे। लाओस, कम्बोडिया, भियतनामको गरिबी हेर्दै जोखिमपूर्ण यात्रा गरे। ताइवान, जापान, कोरियामा भाषाले मुख्य समस्या पाथ्र्यो। उनी कोरियाको रमाइलो घटना सम्झन्छन्।
कोरियामा पिसाब लाग्यो ! चर्पी कता छ भनेर सोध्न कान्छी औंला देखाउँदा एउटी युवतीबाट गाली खाएको उनी सम्झन्छन्। पछि पो उनले थाहा पाए, ‘कान्छी औंलाले आई लभ यु भन्ने अर्थ लगाउने रहेछ।’
पुर्खाको गन्तव्य पछ्याएका म्याक्स अभय
घुमन्तेहरूको भीडमा म्याक्स अभय पोखरेल पनि पर्छन्। तर उनले साइकल रोजेनन्। बरु पैदलै पुर्खाको पदचाप पछ्याउने साहस गरे।
सानैदेखिको घुम्ने रहर पूरा गर्न मौकाको ताकमा रहेका उनलाई पनि भुइँचालोपछिको समयले नै घुम्ने मौका जुराइदियो। भूकम्पले हल्लाएर नेपाल नै ध्वस्त भयो भन्ने हल्ला र नकारात्मक सन्देश रोक्न आवश्यक ठाने उनले। त्यसको लागि उनले नेपाल घुम्ने योजना बनाए। त्यो पनि पैदल। आखिर किन पैदल यात्रा गर्न चाहे उनले ? कारण थियो, पैसा जोगाउन।
‘हामीले अभावका बीच सम्भावना खोज्यौं,’ अभयले भने, ‘हिँड्दा पैताला पोल्लान्, खुट्टा दु:ख्लान्। तर हामी पुर्खाको प्राकृतिक गन्तव्य पछ्याउँदैछौं, सँगै प्रकृतिको आनन्द लिँदैछौं।’
अभयको विचारमा हिँडेर घुम्नुको मजा बसमा यात्रा गर्दा आउँदैनथ्यो। त्यसमाथि उनीहरू जुन बाटो हिँड्थे, त्यो सडकभन्दा फरक हुन्थ्यो। पहिले पितापुर्खाले आवत्जावत गर्न प्रयोग गरेको गोरेटो, गड्तीर र भीर, पाखोहरू हेर्न पाउँथे।
घुम्ने योजना बनाएपछि ठाउँहरूको सूची तयार गरेछन्। अनि साथी खोज्न थाले। उनले भने, ‘साथी सुमन कार्कीलाई सुनाएँ।’ विदेशबाट फर्किएका सुमन घुम्ने योजनामै थिए। तर नेपाल नै घुम्ने भने उनले सोचेका थिएनन्। पछि उनी राजी भए।
७५ जिल्ला पैदलै घुम्ने योजनासहित सुदूरपश्चिम कञ्चनपुरको दोधराबाट यात्रा सुरु गरे उनीहरूले। आठ महिनामा ४४ जिल्ला घुम्न भ्याए उनीहरूले।
घुमेर उनीहरू पैसा पाउँदैनथे, खर्च त झन् छँदै थिएन। तर, उनीहरूलाई ४४ जिल्ला घुमाउने एउटै कुरा थियो, नेपालीको आत्मीयता र माया।
पाँच महिनामा २९ जिल्ला घुमिसकेर मुस्ताङ पुगेका बेला म्याक्सले बुझे, ‘साँच्चै स्वर्ग रहेछ नेपाल र साँच्चै नै दयालु रहेछन् नेपाली।’
बेखर्ची हुँदा पनि सहयोग गर्ने मान्छे भेटिए। हरेक पाइलामा नयाँ आमा, बुवा, दिदीबहिनी, भाइ भेटिएझैं लाग्यो उनीहरूलाई।
यात्राको ९७औं दिनमा साथी करण कार्की उनीहरूसँगै मिसिन पुगे। ‘साथी हामीले सामाजिक सञ्जालमा हालेका फोटोहरू देखेर छक्क पर्दै रहेछ,’ म्याक्सले भने, ‘रारा, से–फोक्सुण्डोका तस्बिर देख्दा उसले आफूलाई रोक्न सकेनछ।’
त्यसपछि यात्रामा हिँड्ने तीन जना भए।
तर केही समयमै म्याक्सको खुट्टामा समस्या देखियो। धेरै जोडबल गरे प्यारालाइसिस हुने डर चिकित्सकले देखाइदिएपछि उनले यात्रा टुंग्याए। तर फेरि यात्रा थाल्ने सोचमा छन्। ‘देश घुमिछाड्ने हो,’ उनले भने, ‘मलाई खुट्टाको समस्याले रोक्नै सक्दैन।’
घुमन्तेहरूको यात्रा यस्तै हुन्छ। एकातिर अनिश्चितता, अर्कोतिर आर्थिक अभाव अनि त्यसमाथि बिरामी भइयो भने यात्रा रोक्नुपर्ने बाध्यता।
तर घुमन्तेहरूको संख्या बढ्दो छ। भर्खरै मात्र सुनसरीको वराहक्षेत्र नगरपालिकाका ओमप्रकाश बानियाँ देश घुम्न निस्किएका छन्। उनले देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएका छन्। सोअनुसार उनी विभिन्न जिल्ला घुमिरहेका छन्।
‘देशमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न मेरो भ्रमणले केही सहयोग गर्छ भन्ने आशा लिएको छु,’ उनी भन्छन्। पहिला नेपालको भ्रमण सक्ने र त्यसपछि विदेश भ्रमणमा जाने उनको सोच छ। उनलाई वराहक्षेत्र नगरपालिकाले केही सहयोग गरेको छ। नेपाललाई नजिकबाट बुझ्ने योजनामा छन् उनी।