खेल सुन्दरीका कुरा

खेल सुन्दरीका कुरा

सन् १८९५ मा अमेरिकाको ‘होल्योक मासाचुसेट्स’बाट सुरु भएको भलिबल अहिले संसारको चर्चित खेलमा गनिन्छ। शारीरिक शिक्षा विषयका शिक्षक विलियम मोर्गनले सर्वप्रथम भलिबल खेलको विकास गरेका थिए। विभिन्न कालखण्डमा परिस्कृत हुँदै भलिबल अहिलेको अवस्थामा आइपुगेको हो।

भलिबललाई विश्वका चर्चित र रमाइलो खेलका रूपमा हेरिन्छ। विचमा खेलिने ‘ग्ल्यामरस’ खेल होस् या इन्डोरमा खेल्ने खेल होस्, यो खेल हेर्न संसारभर दर्शकको ओइरो लाग्ने गरेको छ। अन्य खेलको तुलनामा भलिबल खेलका प्रतियोगिता कम भए पनि महिला र पुरुष दुवै विधामा उत्तिकै लोकप्रिय यो खेलमा थुप्रै स्थापित बनेका छन्। पछिल्लो समय नामका साथै आम्दानीका हिसाबले पनि उक्तिकै लोकप्रिय भलिबल खेलका विश्वचर्चित महिला खेलाडीको आम्दानी यहाँ प्रस्तुत गरिएको छ।

सन्न्यासपछि पनि कमाइ

अमेरिकाकी गाब्रियल रिसले सक्रिय खेलाडी जीवनबाट सन्न्यास लिइसकेकी छन्। तर पनि भलिबलकी पूर्वखेलाडी रिस कोर्टमा उत्रँदाको जत्तिकै चर्चा अहिले पनि हुने गर्छ। ३७ वर्ष उमेर भइसक्दा पनि विश्वका सुन्दर भलिबल खेलाडीको नाम लिनुपर्दा रिसको पनि नाम अगाडि आउँछ। भलिबलसँगै हलिउड फिल्ममा पनि अभिनय गरेकी उनी मोडलिङ र खेलकुद पत्रकार पनि बनिन्। उनलाई सुडोल शरीर र सुन्दर मुहारका कारण ‘सेक्सी’ र ‘गर्जियस’ महिलाका रूपमा चर्चा गरिन्छ।

 क्रिकेट, फुटबललगायत खेलमा पुरुष खेलाडीहरूको आम्दानी लोभलाग्दो छ। त्यति चर्चामा नरहेको भलिबल खेलबाट महिला खेलाडीले पनि आकर्षक कमाइ गरिरहेका छन्।

अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी रिसले सानैमा बुवालाई गुमाउन पुगिन्। उनी पाँच वर्षको हुँदा उनका बुवा एर्डवार्डो प्लेन दुर्घटनामा परेका थिए। त्यसपछि आमासँगै अर्कै सहरमा गएकी उनले विद्यालय शिक्षा पूरा गरेपछि व्यावसायिक भलिबल खेल्न थालिन्। उनले खेल्न थालेको छोटो समयमै वल्र्ड बिच भलिबल च्याम्पियनसिपमा दबदबा कायम राखिन्। उनले भलिबल खेलेरै वार्षिक १८ लाख डलर आम्दानी गर्छिन्।

क्याटरिनाको आकर्षक कमाइ

रसियाकी क्याटरिना गामोभालाई विश्वकी अग्ली खेलाडीमध्येकी मानिन्छ। ६ फिट आठ इन्च अग्ली गामोभाले रसियालाई भलिबलको ‘पावर हाउस’ बनाउन महत्वपूर्ण योगदान दिएकी छन्। उनले आफ्नो राष्ट्रका लागि थुप्रै स्वर्ण पदक जितेकी छन्। सन् २००६ र २०१० को एफआईभीबी वल्र्ड च्याम्पियनसिपमा स्वर्ण, सन् २००० को सिड्नी र २००४ को एथेन्स ओलम्पिकमा रजत पदक दिलाउँदा टोलीमा रहेर महत्वपूर्ण भूमिका निभाइन्। रसियाकै डाइनामो कजानबाट व्यावसायिक भलिबल खेल्दै आएकी गामोभाले वार्षिक १४ लाख डलर कमाउँछिन्। उनले अहिलेसम्म टर्किस क्लबसँगै रसियाका विभिन्न क्लबबाट भलिबल खेलिसकेकी छन्।

सेहिल्लाको चर्चासँगै आम्दानी पनि

ब्राजिलियन खेलाडी कास्ट्रो विश्व खेलकुदमा निकै चर्चामा रहेको नाम हो। ३३ वर्षीया कास्ट्रोले राष्ट्रिय टोलीबाट खेल्दै राष्ट्रका लागि पटकपटक स्वर्ण पदक दिलाएकी छन्। उनकै प्रेरणामा ब्राजिलले सन् २००८ र २०१२ को ओलम्पिकमा भलिबलमा स्वर्ण पदक जित्यो। यसैगरी उनले एफआईभीबी वल्र्ड च्याम्पियनसिपमा ब्राजिललाई स्वर्ण पदक दिलाइन्। टर्कीको क्लब भाकिफबैंक स्तानबुलबाट व्यावसायिक भलिबल खेल्ने कास्ट्रोले वार्षिक ११ लाख ६० हजार अमेरिकी डलर कमाइ गर्छिन्।

उनले आफूले खेलेका हरेकजसो प्रतियोगितामा राष्ट्र अथवा क्लबका लागि स्वर्ण पदक दिलाएकी छन्। यसैगरी उनले व्यक्तिगत विधामा पनि १७ पदक जितेकी छन्। जसमा मोस्ट भ्यालुयवल प्लेयर, बेस्ट स्पाइकरलगायत छन्।

व्यक्तिगत विधामा अब्बल लार्सन

अमेरिकन खेलाडी जोर्डन क्विन लार्सन टर्किस क्लब इस्जासिवासीबाट व्यावसायिक भलिबल खेल्छिन्। उनले क्लब भलिबलबाटै वार्षिक १० लाख अमेरिकी डलर आम्दानी गर्दै आएकी छन्।

अमेरिकी राष्ट्रिय टोलीकी प्रमुख सदस्य लार्सनको टोलीले सन् २०१६ को रियो ओलम्पिकमा कांस्य पदक जितेको थियो। यस्तै सन् २०१५ को विश्वकपमा कांस्य, सन् २०१२ को लन्डन ओलम्पिकमा रजत र सन् २०१४ को वल्र्ड च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भयो। उनले राष्ट्रिय टोली र क्लबबाट भलिबल खेल्दा विभिन्न व्यक्तिगत स्पर्धाको अवार्ड जितिन्। बेस्ट ब्लकर, मोस्ट भ्यालुयवल प्लेयर, बेस्ट रिसिभर र बेस्ट स्कोरर लार्सनले जितेका व्यक्तिगत अवार्ड हुन्।

आफ्नै देशमा जमेकी टाटियाना

२८ वर्षीया यी रसियन खेलाडीले अधिकांश समय आफ्नै देशका विभिन्न क्लबबाट व्यावसायिक भलिबल खेलिन्। वार्षिक १० लाख अमेरिकी डलर कमाउने कोस्हेलेभाले डाइनामो मस्को, डाइनामो कजानलगायतका क्लबबाट भलिबल खेलिन्। केही समयअघि मात्र टर्किस क्लब इस्जासिवासीमा आबद्ध भएकी कोस्हेलेभाले रसियालाई भलिबलको पावर हाउस बनाउन महत्वपूर्ण भूमिका खेलिन्। उनी सम्मिलित रसियन टोलीले सन् २०१० को वल्र्ड च्याम्पियनसिपमा स्वर्ण जित्यो। यस्तै सन् २०१३ र २०१५ को युरोपियन च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भयो। उनले टोलीलाई उपाधि दिलाउनुका साथै अहिलेसम्म १३ पटक मोस्ट भ्यालुयवल प्लेयर, बेस्ट स्कोरर र बेस्ट स्पाइकरको उपाधि हात पार्दै आएकी छन्।

किम योङ कोङ

विश्व खेलकुदमा दक्षिण कोरियाली खेलाडीको उपस्थिति बाक्लै हुन थालेको छ। फुटबलमा पुरुष खेलाडीले चर्चा बटुल्दा केही खेलमा महिलाले पनि आफूलाई स्थापित गरेका छन्। तिनैमध्येकी एक हुन्, किम योङ कोङ। २९ वर्षीया भलिबल खेलाडी कोङ टर्किस क्लब फेनरबेसबाट व्यावसायिक भलिबल खेल्दै आएकी छन्। तीन वर्षका लागि फेनरबेससँग अनुबन्ध भएकी कोङले वार्षिक आठ लाख डलर आम्दानी गर्छिन्।

सन् २०१२ को लन्डन ओलम्पिकमा ‘मोस्ट भ्यालुयवल प्लेयर’ बनेकी कोङले दक्षिण कोरियाको इन्चोन हेङकुक लाइफ पिङ्क स्पाइडर र जापानको माभर्लसबाट व्यावसायिक भलिबल खेलिन्। उनकै प्रेरणामा सन् २०१२ मा उनको टोलीले टर्किस च्याम्पियन्स लिगको उपाधि जित्यो। त्यही प्रतियोगितामा कोङ बेस्ट स्कोरर बनिन्।

बिच भलिबलमा अब्बल मोर्गन

३० वर्षीया मोर्गन बेक व्यावसायिक बिच भलिबल खेलाडी हुन्। अमेरिकी खेलाडी बेकले लामो समय राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन्। सानै उमेरदेखि भलिबल ‘डिगिङ’ र ‘रेजिङ’ गर्न थालेकी बेकले क्यालिफोर्निया विश्वविद्यालयबाट स्नातक गरेपछि भलिबलका साथै मोडलिङ करियर पनि सुरु गरिन्। उनले विश्वचर्चित कम्पनी नाइकको उत्पादनका लागि मोडलिङ गरिन्।

सन् २०१२ को लन्डन ओलम्पिक ताका कम्प्लेक्स म्यागजिनले उनलाई अमेरिकाकै ‘हटेस्ट खेलाडी’को सूचीमा समावेश गरेको थियो। बेकले आफ्नो जीवनसाथी पनि खेलाडी नै छानिन्। स्कीका ओलम्पिक च्याम्पियन बोड मिल्लरसँग विवाह गरेकी उनले वार्षिक ६ लाख डलरभन्दा बढी आम्दानी गर्छिन्।

सानै उमेरमा चर्चित थोमसन

अमेरिकी व्यावसायिक भलिबल खेलाडी कर्टनी थोमसन संसारमा सर्वाधिक आम्दानी गर्ने खेलाडीमा गनिन्छिन्। दुई पटक ओलम्पिक खेलकुदमा सहभागिता जनाएकी थोमसनले विद्यालय तहदेखि भलिबल खेल्न थालेकी हुन्। सन् २००२ मा भएको अन्तरराज्य प्रतियोगितामा ‘उत्कृष्ट खेलाडी’ घोषित भएकी उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। सन् २००७ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थोमसनले पान अमेरिकन खेलकुदमा राष्ट्रलाई कांस्य पदक दिलाउन महत्वपूर्ण भूमिका निभाइन्। ब्राजिलको रेक्सोना क्लबबाट व्यावसायिक खेल खेल्ने थोमसनले वार्षिक चार लाख डलरभन्दा बढी कमाउँछिन्।

दुवै देशमा चर्चित क्यारोलिना

३६ वर्षीया इटालियन खेलाडी क्यारोलिना पनि व्यावसायिक भलिबल खेलाडी हुन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलेकी क्यारोलिनाले इटालीको नागरिकता लिएपछि इटालीको टोलीबाट खेल्न थालिन्। उनले तीन वर्ष अर्जेन्टिनाको जर्सीमा भलिबल खेलिन्। सन् २००९ देखि इटालीको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरिन्। उनले इटाली, रूस, टर्की र अर्जेन्टिनाका विभिन्न टोलीबाट व्यावसायिक भलिबल खेलिन्। उनले सन् २०१३–१४ मा आफ्नो टोलीलाई लिग च्याम्पियन बनाइन्। यस्तै सन् २०१४ मा इटालीलाई वल्र्ड च्याम्पियनसिपको उपाधि दिलाउन अहम् भूमिका निभाइन्। पछिल्लो समय उनले टर्कीको क्लब भिकिभबैंकबाट व्यावसायिक भलिबल खेल्दै आएकी छन्। यी सुन्दरीले भलिबल खेलेर वार्षिक पाँच लाख डलर कमाउने गरेकी छन्।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.