फिटनेस सेन्टरका फिट युवा
फिटनेसका सम्बन्धमा जानकारी दिने मोबाइल ‘एप’हरू युवापुस्तामाझ निकै लोकप्रिय छ, हिजोआज। त्यस्ता एपहरूमा शरीर सुगठित बनाउने विभिन्न उपायहरू राखिएको हुन्छन्। एपले सुरुमा तपाईंको रोजाइ जाँच गर्छ। अर्थात्, शरीर कस्तो बनाउन चाहनुहुन्छ ? त्यसैअनुसार दिनमा कति खाने, के खाने, शारीरिक अभ्यास कस्तो गर्ने, कति अभ्यास गर्ने भन्ने कुरा जानकारी पाउनुहुन्छ।
मोबाइलको ‘प्ले स्टोर’मा पुग्नुभयो भने फिटनेसका सम्बन्धमा जानकारी दिने यस्ता एपहरू सयौं भेट्नुहुन्छ। कुनै-कुनै एप ‘अफलाइन’मै पनि चल्छन्। त्यहाँ तपाईंले आफ्नो उमेर, उचाइ, मोटाइलगायतका शारीरिक पक्षहरूमाथि सुरुमै जानकारी गराउनुपर्छ। त्यसपछि एपले तपाईंलाई सहयोग गर्न थाल्छ।
प्ले स्टोरमा हेर्ने हो भने यस्ता एपहरू हजारौं, लाखौंको संख्यामा डाउनलोड भएका छन्। शरीरको चिन्ता हिजोआज तपाईंले मात्र हैन, प्रविधिले पनि लिन थालेको छ। एपमा तपाईंले दिनभरि गरेका हरेक क्रियाकलापहरू अपडेट गर्नुपर्छ।
हिजोआज मान्छेहरू आफ्नो ज्यानलाई लिएर निकै तनावमा देखिन्छन्। मोटाएको, दुब्लाएको, हृष्टपुष्ट नभएको, बलियो नभएको भन्दै मान्छेहरू यसको समाधानका लागि विभिन्न उपायहरू खोजिरहेका देखिन्छन्। त्यसैकारण, अनलाइनमा फिटनेस एपको लोकप्रियता बढेको छ। त्यतिमात्र हैन, सहरमा जिम सेन्टर खुल्ने क्रम पनि तीप्र छ।
शरीरलाई स्वस्थ राख्न व्यायाम गर्नुपर्ने डाक्टरहरूले सल्लाह दिन थालेका छन्। यसले पनि सहरका जिम सेन्टरहरूमा मान्छेहरूको उपस्थिति बाक्लिन थालेको छ। दैनिक व्यायामले शरीरलाई तन्दुरुस्त बनाउने धेरैको आस हुन्छ। अर्काेतिर, शरीरलाई सुगठित बनाउन पनि मान्छेहरू जिम सेन्टर पुग्ने गरेका छन्।
शरीर स्वस्थ राख्न आफू जिम सेन्टर धाउन थालेको बताउँछिन्, निशा राई। कोटेश्वर बस्दै आएकी उनी विगत एक वर्षदेखि जिम सेन्टर धाइरहेकी छिन्। ‘मोटोपन घटाउन आएको थिएँ,’ उनले भनिन्, ‘अहिले त ज्यान पनि ठीक छ। स्वस्थ पनि भइँदोरहेछ।’
मोटाएको, दुब्लाएको, हृष्टपुष्ट नभएको, बलियो नभएको भन्दै मान्छेहरू यसको समाधानका लागि विभिन्न उपाय खोजिरहेका देखिन्छन्। त्यसैले अनलाइनमा फिटनेस एपको लोकप्रियता बढेको छ। सहरमा जिम सेन्टर खुल्ने क्रम पनि तीव्र छ।
बिरामी भएकैले जिम सेन्टर धाउन थालेका हुन्, बलराम गिरी पनि। सीतापाइला बस्दै आएका गिरी हरेक बिहान जिम सेन्टर पुग्छन्, एक घण्टाका लागि। त्यहाँ विभिन्न शारीरिक अभ्यास गर्छन्। ‘फिजिकल एक्सरसाइजले स्वस्थ र रिफ्रेस पनि बनाउँछ,’ उनले भने। झन्डै ९ महिनादेखि जिम सेन्टर धाइरहेका छन्, उनी।
भन्छन्, ‘म लामो समयसम्म बिरामी परेँ। डाक्टरहरूलाई देखाएँ। औषधि खाएँ। तर, निको भएन। त्यसपछि जिम सेन्टरमा आएको हुँ। अहिले त स्वस्थ छु।’ जिम सेन्टरमा अभ्यास गर्न थालेपछि दैनिक खानुपर्ने ५÷६ वटा औषधि पनि आफूले खान छाडिदिएको बताउँछन् उनी। जिम सेन्टरमा आफू ज्यान बनाउन नभएर ज्यान बचाउन आइपुगेको बताउँछन् उनी। भन्छन्- ‘स्वस्थ भएसँगै ज्यान पनि बन्यो भने त राम्रै हुन्छ।’
जिम सेन्टर पुग्नेहरूको आ-आफ्नो उद्देश्य हुन्छन्। दैनिक व्यायामले शरीरलाई स्वस्थ गराउँछ भन्ने केहीको सोचाइ हुन्छ भने कोही शरीरलाई सुगठित बनाउन पुग्छन्। विशेषगरी तन्नेरी पुस्ता शरीर सुगठित बनाउने उद्देश्य राखेर यस्ता सेन्टरमा पुग्छन्। पाखुरा मोटो र आकर्षक बनाउने, ‘सिक्स प्याक’ बनाउने, छाती चौडा गर्ने चाहना हुन्छ धेरैको। जिम सेन्टरमा शारीरिक अभ्यास गर्ने र मोबाइल एपको सहयोगले खानपिनमा कन्ट्रोल गर्नेहरू धेरै छन्।
‘लुक्स राम्रो होस् र स्वस्थ पनि बनौं भनेर जान थालेको हुँ,’ मदन राना भन्छन्। स्वयम्भू बस्दै आएका राना विगत दुई महिनादेखि जिम सेन्टर गइरहेका छन्। उनको मुख्य चाहना त फिटनेस नै हो। ज्यान सुगठित र सुन्दर बनोस् भन्ने हो। यसका लागि उनी अहिले ‘फिजिकल’ अभ्यास गरिरहेका छन्। बिहान करिब डेढ घण्टा जति जिम सेन्टरमा गएर अभ्यास गर्छन्। ‘बिहानै शारीरिक अभ्यास गर्दा शरीरलाई पनि फाइदा हुने। दिउँसोभरि फ्रेस पनि बनिन्छ,’ उनले भने, ‘शरीर पनि भद्दा हुँदैन। फाइदै फाइदा छ।’
रौनक डंगोल पनि साढे दुई वर्षदेखि जिम सेन्टर धाइरहेका छन्। रानाको जस्तै उनी पनि शरीरलाई आकर्षक र स्वस्थ बनाउन चाहन्छन्। ‘जिम सेन्टर धाउन थालेपछि ‘फ्रस्ट्रेसन’ पनि हट्दो रहेछ। फ्रेस पनि भइने रहेछ,’ उनले भने, ‘शरीर पनि आकर्षक बन्ने।’
जिम सेन्टरमा सुरुसुरुमा अभ्यास गर्न गाह्रो हुने सुनाउँछन् राना। ‘ज्यान एकदमै दुख्थ्यो,’ उनले भने, ‘अहिले त बानी लागिसक्यो। अभ्यास गरेन भने गाह्रो हुन्छ।’ जिम सेन्टरमा जान थालेपछि बिहान अबेरसम्म सुत्ने बानी पनि हटेको बताउँछन् उनी। हिजोआज चाँडै उठ्छन् र जिम सेन्टर पुग्छन् उनी। कहिलेकाहीँ आफूभन्दा अग्रजहरूले गरेका अभ्यासहरू हेरेर बस्छन्। ‘अरूले गरेको अभ्यास हेर्दा पे्ररित भइन्छ। सिकिन्छ पनि,’ उनले भने।
रानालाई मात्र हैन सुरुमा त गिरीलाई पनि गाह्रो भएको थियो, अभ्यास गर्न। ‘एकथरी रोग लागेर आएको अब अर्काेथरी पनि थपिने भयो जस्तो लागेको थियो,’ उनले भने। जिम सेन्टर पुगेर सुरुसुरुमा सामान्य किसिमका अभ्यासहरू गरे। भन्छन्- ‘अभ्यास गर्दा शरीरबाट पसिना निस्कन्छ। यसले शरीरलाई फाइदा पुर्याउँछ।’
जिम सेन्टरमा धाएर अभ्यास गर्नेहरूको खाना पनि सामान्य नै हुने गरेको छ। डाइटका लागि केहीले ‘ह्वे’ नामको प्रोटिन लिन्छन्। चना, अन्डा खान्छन्। अरू रु त दाल, भात, तरकारी नै हुन्छ। खानेकुरामा चाहिँ आफूहरूले कन्ट्रोल गर्नुपर्ने बताउँछन् उनीहरू। राना भन्छन्, ‘जिम आउन थालेपछि कुनै पनि खानेकुरा खानु अघि सोच्न थालेको छु। के खाने, कति खाने भनेर अड्कल्छु।’
फिजिकल एक्सरसाइज गर्नु एक प्रकारले एडिक्सन जस्तै भएको बताउँछन्, श्रीधर खत्री। अभ्यास गरिरहँदा शरीर परिवर्तन हुँदै जान्छ। जति गर्यो उति ज्यानमा परिवर्तन आउने भएकाले यो एक प्रकारको नसा भएको बताउँछन्, उनी। सतुंगल बस्ने उनी जिम पनि सिकाउँछन्। स्वयम्भूमा पाँच वर्षदेखि जिम सेन्टर पनि चलाइरहेका छन्, ‘एवन फिटनेस सेन्टर’।
यहाँ अहिले ७० जनाभन्दा माथि जिम सिक्न आउनेहरू छन्। पछिल्लो समय फिटनेस सेन्टरको क्रेज बढेको बताउँछन् उनी। ‘पहिले पहिले जिम सिक्न आउने मान्छे निकै कम हुन्थे। अहिले त टिनेजरदेखि ६०÷६२ वर्षका मान्छे पनि आउँछन्,’ उनले भने। मानिसमा शारीरिक अभ्यास गर्नुपर्छ भन्ने चेतनाको विकास भएको अनुभव गरेका छन्।
खत्री आफू पनि सानैदेखि शारीरिक क्रियाकलापहरूमा लागेका हुन्। सानोमा आफू निकै पातलो र कमजोर भएपछि उनले बलियो हुने बाटो खोजेका थिए। त्यही खोजीको परिणामस्वरूप अभ्यास गर्न थालेको बताउँछन् उनी। नियमित अभ्यासहरू गर्न थाले। डाइट खान थाले। स्कुलमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागी हुन थाले। पछिपछि फिटनेस सेन्टरहरू पनि धाउन थाले।
जिम सिकाउनकै लागि उनी दुबईसम्म पनि पुगेका छन्। सन् १९८९ मा उनी दुबई गएका थिए। लगभग १४ वर्ष उनले त्यहाँ जिम सिकाएर नेपाल फर्के।
शारीरिक अभ्यासका लागि अहिले सहरहरूमा जिम सेन्टरको आवश्यक रहेको देख्छन् उनी। घरमै सिक्दा हुँदैन ? ‘स्कुल नगइकन घरमै बसेर सबै किताब पढ्छु भनेर पार लाग्दैन,’ उनी विम्बात्मक अर्थमा जिम सेन्टरको आवश्यकतालाई प्रष्ट्याउँछन्।
साइक्लिङ, रनिङ मेसिन, स्क्वार्ट मेसिन, बेन्च पेस, क्रस ट्रेनर, एब्स कोस्टरजस्ता प्रविधिको प्रयोग गरेर जिम सेन्टरहरूमा अभ्यास गराइन्छ। फरकफरक उद्देश्यका लागि यस्ता मेसिनहरूको प्रयोग गरिन्छ। तौल कम गर्नुपर्दा एकथरी मेसिनको प्रयोग गरिन्छ भने पाखुरा बढाउन अर्काेथरी मेसिनको प्रयोग गरिन्छ। उपलब्ध सामानहरूको गलत प्रयोग गर्दा त्यसले शरीरमा असर पुर्याउने खत्री बताउँछन्। भन्छन्, ‘मान्छेको चाहना बुझेर हामीले त्यही अनुसार सकाउने हो।’ कुनै पनि सामानको प्रयोग गलत रूपमा भयो भने त्यसले स्वाभाविक रूपमा नोक्सानी पुर्याउँछ। ‘नजान्ने मान्छेले बाइक हाँक्यो भने एसिडेन्ट हुन्छ। जिम सेन्टरमा उपलब्ध सामानहरूको प्रयोग पनि त्यस्तै हो,’ उनले भने, ‘सबै कुरा ब्यालेन्समा प्रयोग गर्नुपर्छ।’०००