उपेन्द्र यादव स्वास्थ्य, मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री
काठमाडौँ: संघीय समाजवादी फोरम नेपालबाट शुक्रबार दुईजनाले मन्त्रीको सपथ लिने भएका छन् । फोरम नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको सपथ लिने भएका छन् ।
वाम सरकार बने लगत्तै सरकारमा लैजान प्रधानमन्त्री केपी ओलीले प्रयास गरे पनि असफल भएका थिए । यो पटक भने संविधान संशोधन गर्नेसहितका सहमति गरेपछि फोरम सरकारमा जान लागेको हो ।
'अध्यक्ष र मेरो नाम सरकारमा जानका लागि पार्टीले टुंगो लगाएको छ', राईले भने, 'आजै मन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको छ ।'
फोरम सरकारमा जाने भएपछि अब सरकार बाहिर दुई दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल मात्रै रहने भएका छन् । फोरमबाट दुई मन्त्रीले सपथ लिने भएपछि ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ । फोरमबाट जाने एक राज्यमन्त्रीको भने टुंगो लागिसकेको छैन।