ट्राफिक प्रहरीको अनुभव : 'धन्यवाददेखि अपशब्दसम्म सुन्नुपर्छ'

ट्राफिक प्रहरीको अनुभव : 'धन्यवाददेखि अपशब्दसम्म सुन्नुपर्छ'

के छ हालखबर ?

ठीकै छ । 

घर कता पर्‍यो ?

धादिङ ।

यता कता बस्नुहुन्छ ?
महाराजगञ्जतिर । 

ट्राफिक प्रहरी बन्ने सोच कसरी आयो ?
टीभीमा प्रहरीको कार्यक्रम खूब हेर्थें । नेपाल प्रहरीको ड्रेस पनि धेरै मन पथ्र्यो । सानैदेखि रहर भएकाले प्रहरीको जागिर खाइयो । 

कति वर्ष भयो जागिर गरेको ?
चार वर्ष ।

पढ्दै हुनुहुन्छ ?
ब्याचलर गर्दैछु । 

काम गर्दै पढ्न भ्याइन्छ त ?
कलेज जान त के भ्याउनु । बिहानदेखि नै ड्युटीमा खट्नुपर्छ । स्वअध्ययन गरिन्छ । 

ट्राफिक प्रहरीमा आउनुअघि के गर्नुहुन्थ्यो ?
धादिङमा हुँदा एनजीओतिर सानोतिनो काम गर्थें । अनि, बच्चाहरूलाई पढाउँथेँ ।

काममा घरपरिवारको सहयोग होला नि ?
सुरुमा त आमाबुबालाई प्रहरी बनेको खासै मन परेको थिएन । अरू नै जागिर गर् भन्नुहुन्थ्यो । तर, मेरो रुचि प्रहरीमै भएकाले यता आएँ । अहिले त उहाँहरू पनि खुशी हुनुहुन्छ । 

ट्राफिक भएर सडकमा उभिएको पहिलो दिनको अनुभव कस्तो रह्यो ?
ट्रेनिङको क्रममा त खूब रमाइलो लागेको थियो । तर, सुरुको दिन सडकमा खटेर काम गर्दा अनौठो लाग्यो । सिटी फुक्दा पनि अर्कै आवाज आउँथ्यो । कसैले केही भन्ने हो कि भन्ने डर लाग्थ्यो ।

बाटोमा के–कस्ता समस्या आइपर्छन् ?
सडकमा धेरै थरी मान्छे भेटिन्छन् । कोही कागजपत्र माग्दा सजिलै दिन्छन्, कोही चाहिँ भनेको टेर्दैनन् । त्यस्ता मान्छेसँग झमेला बढी हुन्छ । 

त्यस्तो अवस्थामा कसरी ह्यान्डल गर्नुहुन्छ ?

के ह्यान्डल गर्नु र ? फुत्तै भागिहाल्छन् ।

सुरु–सुरुमा लामो समय सडकमा उभिनुपर्दा गाह्रो हुन्थ्यो होला है ?

हातखुट्टा बेस्सरी दुख्थ्यो । बानी नपर्दासम्म त भनन्न रिँगटै लाग्थ्यो नि ।

काम गर्दा कुन बेला असहज महसुस हुन्छ ?
चारैतिर सडक खुलाउनुपर्ने अवस्थामा असहज हुन्छ । त्यतिखेर सडकयात्रुले कुरा नै बुझिदिँदैनन् । उल्टै हामीलाई कराउँछन् ।

सडकमा के–कस्ता खाले यात्रु भेट्नुहुन्छ ? 
धन्यवाद दिनेदेखि अपशब्द बोलेर जाने सबै किसिमका मानिस भेटिन्छन् । 

कुन बेला नराम्रो लाग्छ ?
महिला ट्राफिक भनेर कमजोर ठान्छन् । काम गरिरहँदा पनि मान्छेले कहिलेकाहीँ राम्रो व्यवहार नगरिदिँदा एकदमै नमज्जा लाग्छ । 

अनि, कतिखेर चाहिँ रमाइलो लाग्छ ?
जनताको सेवामा खटिन पाएको छु, यसैमा आनन्द लाग्छ । सडकमा सानो सहयोग गर्दा यात्रीले धन्यवाद दिँदा मन खुशी हुन्छ । 

ट्राफिक प्रहरीको काममा के कसो गाह्रो छ ?
धुवाँधुलो, चर्को घाममा उभिनुपर्छ । गर्मीमा घामले टाउकै फुट्ला जस्तो हुन्छ । ड्युटी नसकुञ्जेल कतै हलचल गर्न पाइँदैन यस्तै–यस्तै अप्ठ्यारा छन् । 

स्वास्थ्य समस्या पनि त होला नि ?
किन नहुनु । ढाड दुख्ने, खुट्टा दुख्नेलगायत समस्या छ । 

फुर्सदमा के गर्नुहुन्छ ?
घरतिर फोन गर्छु । फेसबुकतिर साथीभाइसँग गफगाफ गर्छु । 

के भइदिए ट्राफिक प्रहरीलाई काम गर्न सहज हुन्थ्यो ?
सवारी चालकले नियममा रहेर गाडी चलाइदिए । पैदलयात्रुले अकाशेपुलको प्रयोग गरिदिए, सडक विभागले बेला–बेलामा सडकसम्बन्धी काम गरिदिए हामीलाई धेरै सहज हुन्थ्यो । 

प्रस्तुति : रचना श्रेष्ठ / सम्पूर्ण


 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.