फोरमका मन्त्रीको सपथमा किन भयो ढिलाइ ? बालुवाटारमा वार्ता
काठमाडौँः संघीय समाजवादी फोरमको तर्फबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने दुईजना मन्त्रीको सपथ निर्धारित समय भन्दा एक घण्टा बितिसक्दा पनि हुन सकेको छैन ।
सहरी विकास मन्त्रीको सपथ लिनका लागि फोरमका सांसद मोहम्मद इस्तियाक राई निर्धारित समय साढे ४ बजे नै पुगे पनि स्वास्थ्यमन्त्री बन्न लागेका फोरम अध्यक्ष उपेन्द्र यादव अझै शीतल निवास पुगेका छैनन् ।
नेपाल कम्युनिस्ट पार्टीसँग २ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि सरकारमा जान लागेको फोरमका नयाँ मन्त्रीको सपथमा ढिलाइ भएपछि केही ‘गडबडी’ भएको आशंका गर्न थालिएको छ ।
शीतल निवासमा नयाँ मन्त्रीको सपथ कार्यक्रममा सहभागी हुन ओली मन्त्रिपरिषद्का सदस्यहरु पनि पुगेका छन् । तर, अझैसम्म प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन लागेका फोरम अध्यक्ष यादव शीतल निवास पुगेका छैनन् ।
प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजागाइँका अनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटारमै छन् ।
स्रोतका अनुसार अध्यक्ष यादव पनि बालुटारमै छन् । नेकपाका शीर्ष नेता र यादवबीच एक घण्टादेखि बालुवाटारमा वार्ता भइरहेको छ । यसअघि दुई बुँदे सहमति भइसकेको अवस्थामा दुई पक्षबीचको वार्ताको विषय भने खुल्न सकेको छैन ।
ओलीले फोरम अध्यक्ष यादवलाई दोस्रो वरियता दिएर स्वास्थ्यमन्त्री बनाउने कुरामा सहमति गरेका थिए । त्यसैगरी एउटा राज्यमन्त्री पनि दिने कुरामा सहमति भएको थियो ।
यसअघि क्याबिनेट मन्त्रीकै रुपमा पद्मा अर्यालले स्वास्थ्य राज्यमन्त्रीका रुपमा काम गर्दै आएकी थिइन् । त्यसैगरी राईनलाई दिने भनिएको सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए ।
उता शीतल निवास नपुगेका फोरम अध्यक्ष उपेन्द्र यादवका निकट सहयोगीले आउने क्रममा रहेको बताए । ‘केही गडबडी भएको छैन, उहाँ आउने क्रममा हुनुहुन्छ’, ती सहयोगीले भने, ‘सपथ लिने पूर्वनिर्धारित कार्यक्रममा हेरफेर भएको छैन ।’