प्रथम मेयर कप भलिबलको उपाधि धनगढीलाई
विष्णुप्रसाद देवकोटा
पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रहेको खेललाई धनगढीले आफ्नो पक्षमा पारेको हो। पहिलो सेट भीमदत्तले २५-२४ मा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा धनगढीले भीमदत्तलाई २९-२७, तेस्रो सेट २५-१८ र अन्तिम सेटमा २५-१५ ले पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै धनगढीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ हात पारेको छ। आयोजक भीमदत नगरपालिकाले भने ७५ हजार एक सय ११ रुपैयाँमा चित बुझाएको छ। प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिका तेस्रो भयो। उसले नगद ५१ हजार एक सय ११ रुपैयाँ पायो।
प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडी धनगढीका महेश खत्री भए। उनले १० हजार हात पारे। यस्तै उत्कृष्ट सटर धनगढीकै महेश राना, उत्कृष्ट डिफेन्डर भीमदत्तका गौरव पाण्डेय, उत्कृष्ट बलर भीमदत्तका सुरेन्द्र बम, उत्कृष्ट सर्भर धनगढीका प्रेम राना र उत्कृष्ट स्पाइकर दशरचन्द नगरपालिकाका धनबहादुर महरा भए। उनीहरुले नगद पाँच हजार पुरस्कार हात पारे।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रकाश रावलले नगद पुरस्कार र कप प्रदान गरे। समापन समारोहमा बोल्दै प्रमुख अतिथि रावलले खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। प्रतियोगितामा प्रदेश ७ का ११ नगरपालिका सहभागी थिए। गणतन्त्र दिवसको अवसर पारेर भीमदत नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगितामा आयोजक भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बैतडीका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका, दार्चुलाको शैले शिखर नगरपालिका र अछामको साँफेबगर नगरपालिका सहभागी थिए।