फेरि ओखरपौवामा काठमाडौंको फोहोर फाल्न रोक
विदुर : दशकैाँदेखि नुवाकोटको ओखरपौवास्थित सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएकोमा स्थानीयले विविध माग राखेर शुक्रबारदेखि फेरि आनदोलनका कार्यक्रम सुरु गरेका छन्। पहिलो चरणमा स्थानीयले शुक्रबार फोहोर फाल्न काठमाडौंबाट आएका टिपरलाई रोक लगाएका हुन्।
सिसडोल जाने मोटरबाटो गुणस्तरीय कालोपत्रे गरिनुपर्नेलगायत माग राख्दै स्थानीयले फेरि आन्दोलनका कार्यक्रम सुरु गरेको वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए। ओखरपौवाका स्थानीयको अवरोधका कारण बिहानदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन कार्य अवरुद्ध भएको थियो।
काठमाडौंको तीनपिप्लेदेखि फोहोर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको दाबी गर्दैै फोहोर बोकेर आएका गाडी स्थानीयले रोकेको वडाध्यक्ष बलामीले बताए। वार्ताका लागि काठमाडांै महानगरले बोलाएको छ, अब गएर समस्या सुनाइन्छ-बलामीले बताए।
उनका अनुसार स्थानीयको अवरोधले काठमाडौंबाट फोहोर बोकेर आएका ८० थान टिपर तीनपिप्ले क्षेत्रमै रोकिएकोमा वार्तामा बोलाएपछि फोहोर बिर्सन भने गर्न दिइएको हो। दशकदेखि ओखरपौवाको सिसडोलमा दैनिक काठमाडौं उपत्यकाको ५ सय टन फोहोर बिसर्जन गरिँदै आएको थियो।
काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले गुणस्तरीय सडक निर्माण गरिनुपर्ने माग गर्दै शुक्रबार फोहोर फाल्न सिसडोल पुगेका टिपर रोकेका हुन्। सिसडोलका सर्वसाधारणले माग पूरा नभए अनिश्चितकालका लागि फोहोर फाल्न बन्दको घोषणा गर्ने जनाएका छन्।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा प्रभावित क्षेत्रमा फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको समेत माग भइरहेको समयमा सडक निर्माण गुणस्तरीय नभएकोे स्थानीयको भनाइ छ। उनीहरूले यत्ति मात्र नभई महानगरसँग पटक-पटक भएको सहमति कार्यान्वयनसमेत नभएको बताएका छन्। काठमाडौं महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको नौ किलोमिटर सडक जारी रहेको कालोपत्रेको काम गुणस्तरीय नभएकाले फोहोरका गाडी रोक्न बाध्य भएको स्थानीय बताउँछन्।
कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडकसमेत छोपिएको छैन,’ स्थानीयले भने, ‘ठूलोखोलादेखि प्रहरी चौकीसम्मको करिब तीन किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ।’ स्थानीयका अनुसार गुणस्तरीय काम नगरेको जनाउँदैै यसअघि पनि विभिन्न समयमा जनप्रतिनिधिमार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ नभएका कारण संघर्षका कार्यक्रम गर्नुपरेको हो।
काठमाडौं उपत्यकामा दैनिक संकलित एक हजार पाँच सयभन्दा बढी टन फोहोर बिसर्जन नुवाकोटको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ। यसअघि पनि स्थानीय प्रभावितका आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा स्थानीय बासिन्दाले फोहोर फाल्न अवरोध गरेका थिए।
तीन वर्षका लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँका लागि सिसडोलमा फोहोर फाल्न बन्द गरिनुपर्ने स्थानीयको भनाइ छ। वर्षातका बेला फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले लापरवाहीसमेत गरेको स्थानीय बताउँछन्।
फोहोर फाल्ने डम्पिङ क्षेत्रमा जाने सडक जीर्ण बनेर दुर्घटनाको खतरा बढिरहेका बेला झन् सडक निर्माण गुणस्तरीय नहुँदा स्थानीय आक्रोशित भएका छन्। फोहोर बिर्सजनपछि दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्नेसमेत स्थानीयको माग रहेको पूर्वजनप्रतिनिधि जितबहादुर बलामीले बताए।
कालोपत्रेको काम गुणस्तरीय नभएकाले फोहोरका गाडी रोक्न बाध्य भएको स्थानीय बताउँछन्।