घुम्टोसँग साटिएको समृद्धि

घुम्टोसँग साटिएको समृद्धि

 बर्दिबास१० वर्षअघि आशादेवी मण्डल घुम्टो फालेर घरबाट बाहिर निस्किन्। बाहिरको संसार उनलाई सजिलो थिएन। साथमा थियो मात्र दुई सय रुपैयाँ। त्यो भन्दा बढी केही गरेर देखाउने आँट। यहीँ आँटले उनलाई घुम्टो फाल्ने हिम्मत जुटाइदियो।

व्यापार गरेर पैसा कमाउने सोच थिएन। तर, थियो व्यापारबाट परिवार पाल्छु भन्ने हिम्मत। उनले दुई सय रुपैयाँमा भुजा, मसाला, नुन, खुर्सानी र कागती किनिन्। बर्दिवास चोकमा बसेर चटपटे बनाउन थालिन्। त्यतिबेलासम्म बर्दिबास क्षेत्रमा चटपटे बनाउने महिलाहरू खासै थिएनन्। उनको मिहिनेत मात्र होइन हिम्मतले धेरैलाई तान्यो। पहिलो दिनमै नसोचेको व्यापार भयो।

४० वर्षीय आशासँग अहिले बर्दिबासमा आठ धुर जग्गा छ। त्यसमा बनेको तीन तले घर। यी सबै त्यहि दुई सय रुपैयाँ लगानीको कमाइ हुन्। उनी भन्छिन्, ‘धेरैले चिनेका छन्। सरसापटी उधारो पत्याउछन्। यो सबै मेरो १० वर्षको मिहिनेतका कारण भएको हो।’ अहिले उनको पसलमा दुई लाख हाराहारी लगानी छ। दिनको दुईदेखि चार हजारसम्म आम्दानी हुन्छ।

ग्रामीण भेगका मधेशी महिलाहरू अहिले आयआर्जनमा व्यस्त हुन थालेका छन्। उनीहरूले पछिल्लो समय घुम्टो उघारेर सहर बजारका चोक चौराहामा निर्धक्कसँग आयआर्जनका काममा जुटिरहेका छन्। पुरुषको भर पर्दै आएका मधेशी महिला आत्मनिर्भरताको यात्रामा छन्।

प्रचण्ड गर्मीमा कोइलाको आगामा बर्दिबासको औरही रोड किनारमा मकै पोल्दै सरीता मुखिया।

चुलोचौकोमा सीमित महिला दिदीबहिनीको पौरखी हात यतिखेर आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको छ। पुरुष प्रधान समाजकी महिला घुम्टो फालेर घरबाहिर निस्किएपछि उनको दिनचर्या फेरिँदो छ।

महोत्तरीको बर्दिबास चोकमा ६ जना मधेशी समुदायका महिला तरबुजा बिक्री गर्न व्यस्त छन्। उनीहरूले दैनिक घर खर्च कटाएर छोराछोरीको पढाई खर्च जम्मा गर्न भ्याउँछन्। बर्दिबासको सिन्धुली रोड, पश्चिम बस काउन्टर नजिकै सडकमा ढल्केबरबाट ल्याएका तरबुजा बिक्री गरिरहेका छन्।

आयआर्जन गर्न देखासिकी

४० वर्षीय इन्दिरा साह बिहान हुनेबितिकै घरबाट बर्दिबास चोक आइपुग्छिन्। गाडी चढेर धनुषाको ढल्केबर पुग्छिन्। किलोको २० रुपैयाँका दरले कोसी बगरमा उब्जेको तरबुजा किनेर बर्दिबास फर्किन्छिन्। दिनभर बर्दिबासको सिन्धुली रोडमा बसेर प्रतिगोटा एक सयदेखि दुई सय ५० का दरले तरबुजा बिक्री गर्छिन्।

शिक्षा र चेतनाको कमीले समाजमा घुम्टो प्रथा हावी थियो। रोग, भोक, शोकले थलिएको मुसहरका चौंथो पुस्ताले अहिले स्कुलको मुख देख्न पाएका छन्।

‘दुई महिनामा तरबुजा बिक्री गरेर ५० हजार नाफा कमाएँ’, उनले भनिन्, ‘छोराछोरीको पढाई खर्च र घर खर्च जुटाउन तरबुजाको व्यापारले सहज बनायो।’ तरबुजासँगै लिचीको सिजन पनि आइसकेको भन्दै उनले थपिन्, ‘अब लिचीको व्यापार पनि गर्छु। यसले राम्रो फाइदा दिन्छ।’

उनलाई घुम्टो फालेर व्यापारका लागि चोकसम्म आइपुग्न त्यति सहज थिएन। आफ्नो कमाईमा बाच्नु पर्छ भन्ने आत्म विश्वासका साथ इन्दिरा बर्दिबास चोकमा व्यवसाय गर्न आइपुगेका हुन्। उनी भन्छिन्, ‘छोरीबुहारी बाहिर निस्किनु हुँदैन भन्ने थियो। अहिले कसैले केही भन्दैन। बरु कमाएर छोराछोरी पढाएकोमा स्याबासी दिन्छन्।’

आफ्नै घर अगाडि भर्खरै एकीकृत नमुना मुसहर बस्तीमा पसल सुरु गरेकी सानु सादा मुसहर ठेलाको साथमा।

इन्दिराले व्यापार गरेको देखेर उनी छिमेकी शिवदुलारी देवी सोनार पनि तरबुजा बिक्री गर्नमा व्यस्त छिन्। तरबुजाको व्यापार गरेर उनले यसपालि चार सन्तानका लागि स्कुल पोसाक हालिन्।

दिनको दुई हजारसम्म व्यापार हुने गरेको भन्दै उनले भनिन्, ‘गरिबीले हामीले पढ्न सकेनौं। त्यसैले व्यापारको हिसाबकिताब गर्न अरुसँग सहयोग माग्नु पर्छ। दुःख गरेर छोराछोरीलाई पढाउँदै छौं। उनीहरूले आफंै कमाएर भोलि सजिलै खानेछन्।’ दुःख गरेर पनि सन्तानलाई शिक्षादीक्षामा लगानी गरिरहेकी उनले थपिन्, ‘घरभित्र घुम्टोमा बसेर दुःख पायौं। बाहिरी संसार देख्न पाएका थिएनौं। घरभित्र त्यो पनि घुम्टोमा साह्रै ग्राहो थियो।’ अब पनि मधेशी महिला घरभित्र बसे प्रगतिको बाटोमा छेकबार लाग्ने बताउँदै उनले थपिन्, ‘घुम्टोबाट बाहिर आएर भाँडा माझेर पनि दिदीबहिनी आत्मनिर्भर बन्नु पर्छ।’

शिवदुलारीको विवाह भारततर्फ भएको हो। विवाह गरेर ससुराली पुग्दा उनी घुम्टोमा परिन्। उनलाई निकै कठिन भयो। उनले घुम्टो उतारेर श्रीमानसहित माइती देश बर्दिबास फर्किन्। अहिले बर्दिबासमा सिजन अनुसार फलफूलको व्यापार गरेर जीवन चलाउँछिन्। उनका श्रीमान् ठेला चलाउँछन्। सासु ससुरा, चार छोराछोरीलाई कमाएर दालभात उनी नै जुटाउँछिन्। शिक्षादीक्षा, लालनपालनमा उनको बढी खर्च हुन्छ। ‘घुम्टोभित्र अल्झिएको भए जीवन इनारको भ्यागुतोजस्तै हुन्थ्यो। संसार के हो बुझ्न सकिँदैन थियो’, उनले भनिन्।

खाजा पसलमा नास्ता तयारी गर्दै सुनिता साह।

शिवदुलारीसँग उनकै छिमेकी ३० वर्षीय रेखा साह सोनार पनि सहमत छन्। यसैपालिदेखि उनले पनि तरबुजाको सिजनमा व्यापार गर्न सुरु गरिन्। यस सिजनमा शिवदुलारी एक्लैले पसल चलाएर तरबुजा बिक्री गरिन्।’ उनका पति गणेश सोनारले तरबुजा खरिद गरेर ल्याइदिन्छन्। रेखा तरबुजा बिक्री गर्छिन्। उनका पतिले आँपको बगैंचा ठेक्कामा लिएका छन्। तरबुजाको सिजनपछि उनले बर्दिबास चोकमा लिची बिक्री गरिरहेकी छिन्। लिचीपछि आँप बिक्रीमा व्यस्त हुनेछिन् उनी।

कक्षा ८ पढेकी रेखा भन्छिन्, ‘मधेशी समुदायले महिलालाई घरभित्रै दवाएर राख्यो। जसले गर्दा न समुदाय अघि बढ्यो न महिला दिदीबहिनीको जीवन।’ पछिल्लो समय चेतनास्तर बढेपछि महिलाहरूले आयआर्जनमा हात बढाएको उनले बताइन्।

व्यपारमा रमाउँदै मुसहर महिला

एकीकृत नमुना मुसहर बस्ती बर्दिबासकी ३० वर्षीय सानु सादा मुसहरको दैनिकी फेरिएको छ। घुम्टोभित्र कुम्सिरहने बाध्यता अहिले उनलाई छैन। विहान उठ्छिन्। नौ वर्षीय छोरा राकेश र पाँच वर्षीय राजेशलाई हातमुख धोएर स्कुल पोसाक लगाइदिन्छिन्। खाजा खुवाएर नजिकैको जनता माविमा पढ्न पठाउँछिन्। त्यसपछि उनी घरमै राखेको पसलका सरसमान मिलाउनतर्फ लाग्छिन्। एक महिनयता उनले चनाचटपटे पसल चलाइरहेकी छिन्।

११ वर्षअघि विवाह गरेर ससुराली आएपछि उनी घुम्टोभित्र लट्पटिन बाध्य थिइन्। हाँस्य कलाकार धुर्मुस–सुन्तलीले उनको गाउँलाई एकीकृत नमुना बस्ती बनाइदिएपछि उनलाई घुम्टो फाल्न सजिलो बन्यो।

‘जतिसुकै गर्मी भए पनि घरभित्र पनि लगाएको साडीको आँचलले ठूलाबडा र अपरिचत व्यक्ति हेरेर मुख छोप्नु पथ्र्यो’, उनले भनिन्, ‘जब धुर्मुस–सुन्तली हाम्रो गाउँ आउनुभयो। घुम्टोविरुद्ध सचेतना जगाउनुभयो। त्यसपछि गाउँभरीका महिलालाई घुम्टोभित्र बस्नु पर्ने दिन सकियो।’ स्थानीय तहको चुनावमा उनले उमेदवार बन्ने अवसर पाइन्। बर्दिबास नगरपालिका–१४ बाट उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रले दलित महिला वडा सदस्यमा उमेदवार बनाएको थियो। थोरै मतले उनी पछि परिन्।

उनका अनुसार विद्यालय जान नसकेका मुसहरका सबै बच्चा स्कुलमा पढिरहेका छन्। शिक्षा र चेतनाको कमीले समाजमा घुम्टो प्रथा हावी भएको उनले आफ्नो अनुभव सुनाइन्। रोग, भोक, शोकले थलिएको मुसहरको चौंथो पुस्ताले अहिले स्कुलको मुख देख्न पाएका छन्।

एकीकृत नमुना मुसहर बस्ती व्यवस्थान समितिको कोषबाट ४० हजार ऋण लिएर उनले एक महिनादेखि आयआर्जनमा लागेकी हुन्। उनले दिनको दुई हजारदेखि २५ सय रुपैयाँको चनाचटपटे बनाएर बिक्री गर्छिन्। बस्ती घुम्न आउनेले उनको पसलको चनाचटपटेको स्वाद चाखेरै फर्किन्छन्। पुँजी निकालेर र घरखर्च कटाएर उनले दिनको तीन सय रुपैयाँ बचत गरेकी छिन्।

दाउरा बिक्री गरेर परिवार पाल्दै आएका उनका श्रीमान् फेकना सादा मुसहरलाई पनि अहिले श्रीमतीले पसल चलाएपछि सजिलो भएको छ। उनका श्रीमान् फेकना भन्छन्, ‘व्यापारले आनन्दको जीन्दगी बनायो।’ व्यापार व्यवसायमा लाग्नु पर्छ भन्ने प्रेरणा धुर्मुस–सुन्तलीले नै दिएको उनले सुनाइन्।

चनाचटपटे पसल गरेर घरघडेरी जोडेकी आशादेवी मण्डल खुसीले दंग।

सानु भन्छिन्, ‘पसल ठूलो बनाउने बुद्धि लगाउँदै छु। फ्रिज किन्न १० हजार जम्मा भयो। अब ऋणधन गरेर पसलमा फ्रिज सोचमा छौं।’

सानुकी छिमेकी ३५ वर्षीय आशा सादा उद्यमी बन्ने बनाएकी छिन्। उनी बर्दिबास नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता कक्षामा सहभागी छिन्। घरमै उद्यमीले बनाएको सामग्री खरिद गरेर पसल सञ्चालन गर्ने योजनामा छिन्। उनले च्याउ खेतीकोे तालिम लिएर दुई टनेल च्याउ खेती गरे यस सिजनमा ४० हजार कमाई गरिन्। २५ हजार रुपैयाँ बैंकमा बचत गरेकी छिन्।

आशाको च्याउ खेतीको आम्दानीले एकीकृत नमुना मुसहर बस्तीकै महिलाहरूले आठ हजारको कोष बनाएका छन्। एकीकृृत नमुना मुसहर बस्ती अवलोकन गर्न आउनेका लागि प्रवेश शुःल्क तोकिएको छ। मासिक एक लाख टिकट शुल्क जम्मा हुन्छ। यसैबाट स्थानीयहरू व्यापार गर्न ऋण लिने गरेका छन्।

गर्मीमा मकै पोलेर घुम्टोविरुद्ध संघर्ष

सिरहाकी ३४ वर्षीय सरीता मुखिया प्रचण्ड गर्मीकाबीच बर्दिबास चोकमा कोइलाको आगोमा मकै पोलेर बिक्री गर्दै गरेको अवस्था भेटिइन्। घुम्टो फालेर आयआर्जनमा व्यस्त सरीताको अनुहारबाट प्रशस्त पसिना चुुहिरहेको देखियो। एक हात पंखा र अर्को हातमा चिम्टा लिएर ३८ डिग्री गर्मीमा उनी पुरुष प्रधान समाजबाट बाहिर निस्किएर संघर्ष गर्दै थिइन्। एक छोरा र एक छोरीको आमा बनेकी उनी मकैको घोँगा पोलेर परिवार चलाउँदै आएकी छिन्। ‘चार वर्षअघि घुम्टो फालेर घरबाट निस्किए’, उनले भनिन्, ‘चार लाखमा पाँच धुर जग्गा किनेको छु। छोराछोरीलाई पढाइरहेको छु।’ दिनको एक सयदेखि एक सय ५० घोँगा मकै पोलेर बिक्री गर्ने गरेको उनले सुनाइन्। प्रतिगोटा पाँचका दरले मकैको घोँगा खरिद गरेर पोलेका मकै १० रुपैयाँमा बिक्री हुन्छ। ‘पोलेको मकै नुनसँग खान स्वादिष्ट हुने भएकाले मकैको व्यापार राम्रो छ।’

पछिल्लो समय मधेशी महिला घुम्टो उघारेर जीवन जिउने प्रयास गरेकोमा प्रदेश सांसद सारदा थापाले खुसी व्यक्त गरिन्। उनी भन्छिन्, ‘महिलाहरू आत्मनिर्भर नहुँदा पुरुषबाट दमित हुनु परेको अवस्थामा धेरै महिलाहरू आत्मनिर्भरताको यात्रामा छन्।’ सरकारले मधेशी महिलालाई लक्ष्य गरेर विशेष आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिइन्।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.