बालबालिकामा मुटुरोगी सात गुणा बढी
जाजरकोट : जाजरकोटका धेरै बालबालिकामा मुटुसम्बन्धी समस्या रहेको तथ्य फेला परेको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोगसम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो।
काठमाडौंका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा सात गुणा बढी मुटुरोगको समस्या देखिएको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको चिकित्सकको टोलीले जिल्लाका करिब ५ हजार बालबालिकाको मुटुको स्क्रिनिङ गरेको छ। ‘५ देखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले भने, ‘काठमाडौंलगायत सहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो।’ करिब ५ हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग ( मुटुको भल्भको समस्या ) को समस्या देखिएको छ। त्यसमध्ये दुई जनाको अप्रेसन नै गर्नुपर्ने भएको छ। उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ। अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ।’
जन्मजात मुटुरोग हुने (मुटुमा प्वाल पर्ने) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा. रेग्मीले भने, ‘गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नुलगायत कारण मुटुरोग देखा पर्ने गरेको छ। बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ।’
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म जाजरकोट भेरी नगरपालिकाका विभिन्न विद्यालयमा मुटरोगको स्क्रिनिङ गरिएको हो। वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी, डा.सत्यनारायण सुवाल, डा.देव न्यौपाने, डा. जिज्ञासा रेग्मीलगायत चिकित्सकले बालबालिका र वयष्कको मुटुरोग परीक्षण गरेका थिए। स्क्रिनिङ गर्दा मुटुमा समस्या देखिए ईको तथा ईसीजी गरेर खास समस्या पत्ता लगाउने गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बताए। उनले मानवीय सेवाभावले यस दुर्गम जिल्लामा मुटुरोगसम्बन्ध्ीा जनचेतनामूलक कार्यक्रम र शिविर आयोजना गरिएको बताए। शिविरमा ५ हजार बालबालिका र एक हजार वयष्क गरी करिब ६ हजारले मुटु परीक्षण गराएका छन्। बिहीबार जिल्लाका सरोकारवाला व्यक्तिलाई र शुक्रबार स्वास्थ्यकर्मीलाई मुटुरोग लाग्नुको कारण, असर र यसबाट बच्ने उपायबारे वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले जानकारी दिएका थिए।
चिकित्सकका अनुसार मध्यभागको छाती दुख्ने, हिँड्दा धेरै स्वाँस्वाँ हुने, मुटु हल्लिने, खुट्टा सुन्निने, जोर्नी दुख्ने, बाथ ज्वरो, खकारमा रगत देखा पर्नेलगायत लक्षण देखिए मुटुरोग हुन सक्छ। यस्तो लक्षण देखिए तत्काल मुटु परीक्षण गराउन डा.जिज्ञासा रेग्मीको सुझाव छ। उनले नियमित व्यायम गर्ने, रक्सी चुरोट, गट्खा नखाने, धेरै गुलियो, नुनिलो नखाने, नियमित स्वास्थ्य परीक्षण गर्ने हरियो सागपात र फलफूल खाने, गेडागुडी, अन्डालगायतका प्रोटिनयुक्त खाना खाने गरे मुटुरोगबाट बच्न सकिन्छ।