कालीगण्डकी करिडोरमा बाह्रैमास सवारी

कालीगण्डकी करिडोरमा बाह्रैमास सवारी

दिल शिरीष

बागलुङ : निर्माणाधीन कालीगण्डकी करिडोरको बागलुङ खण्डमा वर्षायाममा पनि सीधा सवारी साधन सञ्चालन हुने भएको छ।

करिडोरअन्तर्गतको जैमिनी नगरपालिका–७ जैदीको लौंवा खोलामा सेनाले पुल निर्माण गरेसँगै वर्षायाममा पनि सीधा सवारी साधन सञ्चालनको बाटो खुलेको हो। प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुल उद्घाटन गरेका थिए। पुल उद्घाटनसँगै बस र जिप गुड्न थालेका छन्। यसअघि खोलाबाट घुमेर आउजाउ गर्नुपर्ने सवारी साधनले पुलको बाटो पाएका हुन्। विगतमा वर्षात्मा खोला बढ्दा सवारी साधनले तर्न कठिनाइ हुने गथ्र्यो। केही समयअघि ट्र्याक खुलेको यो सडकमा सेनाले आवश्यक पर्ने चार स्थानमा ट्रस्टको पुल बनाएको छ।

अन्तिम पुल उद्घाटन भएपछि करिडोरको बागलुङ खण्डमा सवारी सहज रुपमा ओहोरदोहोर गर्न सक्ने जनाइएको छ। सेनाले यसै वर्षदेखि करिडोरको ट्र्याक चौडा पार्ने कामसमेत थाल्ने भएको छ। बागलुङको ३६ किलोमिटर खण्डसहित गुल्मी र पाल्पामा पनि सेनाले काम गरिरहेको छ। गुल्मीतर्फ पनि पुल बनाइरहेको कालीगण्डकी करिडोर निर्माण कार्यदलका इन्जिनियर रेश्मीराज भट्टराईले बताए। यसअघि पालुङ खोला, चौरी खोला र ठेउले खोलाको पुल सञ्चालनमा आइसकेका छन्। लौंवा खोलाको पुल सञ्चालनसँगै वर्षाले खोला बढ्दा पनि सवारी साधन सहज रूपमा चल्न सक्ने भएका छन्।

यो पुलले दैनिक चल्ने सवारी साधन र स्थानीय बासिन्दालाई यात्रा गर्न सहज भएको छ। स्थानीयसँग कुरा गर्दै प्रधानसेनापति क्षत्रीले सडक निर्माणसँगै स्थानीयको आवश्यकता र सहजीकरणका लागि पनि सहयोग गर्ने बताएका थिए। सेनाले यो खण्डमा अझै तीनवटा पुल बनाउनुपर्ने बताएको छ। कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले वर्षात्मा पनि नियमित काम गरिरहने बताए।

बागलुङ खण्डका लागि बजेट विनियोजन नभएकाले स्तरोन्नतिको काम अघि नबढेको उनले बताए। ‘अहिले गुल्मीको रिडी—रुद्रवेणीको सात किलोमिटर खण्डमा १० मिटर चौडा पार्ने काम भएको छ’, उनले भने, ‘बागलुङ खण्डका लागि बजेट आएको छैन, बजेट आउनासाथ स्तरोन्नतिको काम अघि बढ्छ।’

पहिलो चरणमा गुल्मीमा चौडा पार्ने काम सुरु भइसकेको छ। आगामी वर्ष चौडा पारेर नालीसमेत बनाउने योजना सेनाले बनाएको छ। करिडोरमा ६ महिनादेखि नियमित सवारी साधन चल्न थालेका थिए। हिउँदमा सजिलै चले पनि वर्षात्मा खोलाले रोक्ने सम्भावना थियो। सेनाले वर्षात्अगावै काम पूरा गर्न ट्रस्ट पुल बनाएको हो। करिडोरको ट्र्याक खुलेपछि बागलुङको कुश्मिसेरा र बेलबगरबाट दैनिक दुईवटा बस र ६ देखि ८ वटासम्म जिप चल्न थालेका छन्। करिडोरको स्तरोन्नति भए बेलबगरबाट चार घण्टामा बुटवल पुग्न सकिने स्थानीयले बताए। धुले सडकमा पनि साढे पाँच घण्टामा बुटवल पुगेको स्थानीयको अनुभव छ।

करिडोर निर्माणले आफूहरूलाई सहज भएको जैमिनी नगरपालिका—७ बेलबगरका छविलाल शर्माले बताए। ‘पहिले–पहिले हामी हिँडेर पर्वतको फलेबास र कुश्मा हुँदै दिनभरि लगाएर सदरमुकाम जानुपथ्र्यो’, उनले भने, ‘अहिले घरै अगाडि मोटर आएको छ। बिहान सदरमुकाम गएर बेलुका काम सकेर फर्किन सकिने भयो। निकै सुविधा पुगेको छ।’

जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले पनि कालीगण्डकी करिडोरले विकासको ढोका खोलेको बताए। ‘करिडोरले विकासको सम्भावनाको ढोका खोलेको छ’, उनले भने, ‘कुनै समय निकै दुर्गम ठाउँका रूपमा चिनिएको यहाँका बस्ती करिडोर निर्माणसँगै सुगम हुँदै गएका छन्। जैमिनी नगरका लागि यो निकै महŒवपूर्ण छ।’ करिडोरलाई जैमिनी नगरको विकास र आर्थिक समृद्धिसँग जोड्ने अभियानमा आफूहरू रहेको उनले बताए। ‘उत्तर– दक्षिणका दुई छिमेकी देशलाई जोड्ने भएका कारण यो करिडोर रणनीतिक रुपमा पनि महŒवपूर्ण छ’, उनले भने, ‘हामीले यसलाई जैमिनी नगरको विकासँग पनि जोड्ने प्रयास गरिरेहका छौं।’

कालीगण्डकी करिडोर चीन र भारत जोड्ने छोटो मार्ग हो। करिडोरकै ट्र्याक नखुलेका केही स्थानमा पुराना सडक प्रयोग गरी बस र जिप चलिरहेका छन्।

करिडोरले जिल्लाको मुख्य सडक सञ्जालबाट वञ्चित रहेको साबिक छिस्ती गाविसलाई पनि जोडेको छ। यसका साथै जैदी, बिनामारे, अर्जेवा, कुश्मिशेरा, नारायणस्थान, अमलाचौरलगायत साबिकका दर्जनभन्दा बढी गाविसलाई सुगमसमेत बनाएको छ।

भारतको सुनौली नाकाबाट मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको करिडोर ४ सय ३५ किलोमिटर लामो छ। चीनको कोरला नाकाबाट मुस्ताङको कागबेनीसम्म ९५ किलोमिटर, कागबेनीबाट बागलुङसम्म ९५, बागलुङबाट गुल्मीको रिडीसम्म ७०, रिडीबाट बुटवलसम्म ६८ र बुटवलबाट सुनौलीसम्म २५ किलोमिटर करिडोरअन्तर्गत पर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.