आर्मीको लगातार दोस्रो जित
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश १ लाई एक सय ६ रनले पराजित गर्यो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा जारी प्रतियोगिताको शुक्रबारको खेल वर्षाले प्रभावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको विस्फोटक पालिको सहयोगमा निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय २५ रनको योगफल खडा गर्यो । भण्डारीले २९ बलमा ६४ रन बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे ।
नरेश बुढायरले अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरेका थिए । मण्डल ३६ रनमा आउट भए भने बुढाऐरले ३२ रन बनाए । यस्तै
भीम सार्कीले १४ र सोमपाल कामीले २२ रन बनाए । प्रदेश १ का मनोज तामाङले तीन विकेट लिए । यसैगरी मिनास थापा र फिर्दोस अन्सारीले दुईदुई विकेट हात पारे ।
दुई सय २६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको १ नम्बर प्रदेश २९.३ ओभरमा एक सय १९ रनमै समेटियो । प्रदेश १ का कप्तान पुष्प थापाले ५९ र राजन मगरले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान थापाले ७२ बलमा एक छक्का र ६ चौका प्रहार गरे ।
प्रदेश १ को पालिलाई धराशयी बनाउन आर्मीका सुशन भारीले चार विकेट लिए । ६.३ ओभर बलिङ गरेका उनले एक मेडनसहित १५ रन खर्चिए । यस्तै सोमपाल कामी, सागर पुन र साहव आलमले दुईदुई विकेट लिए ।
मूलपानी मैदानमा तय भएको नेपाल पुलिस क्लब र प्रदेश ६ बीचको खेल भने वर्षाका कारण रद्द भएको छ । मैदानमा पानी जमेपछि टस नभई खेल रद्द गरिएको हो । खेल रद्द भएपछि दुवै टोलीले एकएक अंक बाँडेका छन् ।