कायस्थ र श्रेष्ठको जोडी सेमिफाइनलमा
वीरगन्ज : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको २ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्समा पर्साका नरेश कायस्थ र सरोजराज श्रेष्ठको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वीरगन्जस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सिरहाका गोविन्द चौधरी र सुनील सिक्दरको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै कायस्थ र श्रेष्ठको जोडी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
यसैगरी सर्लाहीका अर्जुन कुमार र बाबा यादवको जोडीलाई २-० को सोझो सेटमा पाखा लगाउँदै सप्तरीका सन्तोष कटुवाल र सुनील परियारको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । यस्तै धनुषाका विकास कोइराला र विजय केसीको जोडीले पर्साका सौरभप्रभास मण्डल र रोमन चौधरीको जोडीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । यसैगरी पर्साका दीपककुमार सिंह र पवन मानन्धरको जोडीलाई पराजित गर्दै बाराका रामकृष्ण श्रेष्ठ र सुशील श्रेष्ठको जोडीले पनि सेमिफाइनलमा स्थान बनाए ।
शुक्रबार नै भएको मेन्स सिंगलमा महोत्तरीका सुनील श्रेष्ठ, सप्तरीका सुनील परियार, सप्तरीकै सन्तोष कटवाल र बाराका रामकृष्ण श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । सुनील श्रेष्ठले वाकओभर पाए भने सुनील परियारले पर्साका दीपककुमार सिंहलाई २-० ले हराए । यस्तै सप्तरीकै सन्तोष कटवालले धनुषाका विकास कोइरालालाई २-० र बाराका रामकृष्ण श्रेष्ठले बाराकै राजन सिग्देललाई २-० कै सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरे ।
शनिबार मेन्स डबल्स र मेन्स सिंगलको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ । शनिबार नै यू-१९ मेन्स तथा वुमन सिंगल्सका खेल हुनेछन् ।
प्रतियोगितामा प्रदेश २ का आठ जिल्लाका ५६ जनाले भाग लिएका छन् । जसमा मेन्स डबल्समा ३२, मेन्स सिंगलमा १६, यू-१९ वुमन्स सिंगलमा चार र मेन्स सिंगलमा चार जना खेलाडीले भाग लिएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा प्रथम र दोस्रो हुने खेलाडीले काठमाडौंमा साउन ७ गतेदेखि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले गरे ।