निलाचलभित्रको समुद्र मन्थन

निलाचलभित्रको समुद्र मन्थन

शान्त समुद्र जब आफूलाई सम्हाल्न नसकेर किनारा चुम्न आइपुग्छ, तब ऊ आफूलाई अचानक अराजक बनाउँछ। अलि पर त्यति गम्भीर देखिने ऊ छेऊ आइपुग्दा विश्वासै लाग्दैन कि कसरी त्यहाँ त्यत्ति गम्भीर र आफ्नो सानमा अडिग थियो। जब ऊ आफूलाई ‘चञ्चले’ बनाउँदै असरल्ल हुन्छ तब उसको सौन्दर्य पनि उस्तै मोहक बनिदिन्छ।

नेपालबाट निलाचलको यात्रा तय हुँदा युट्युबमा आफ्ना जिज्ञासा मेटिसकेको थिएँ र मक्ख थिएँ, उडिसा राज्यको पुरी जिल्लास्थित जगन्नाथ मन्दिरलाई समुद्रले अँगालेमा बेरेको देखेर। तर थाइल्यान्डको पतायास्थित कोरल आइल्यान्डको मज्जा लिइसकेको मलाई ‘पुरी बीच’ पुग्नासाथ समुद्रमा पस्ने जाँगर हरायो। कहाँ कोरलको कञ्चन पानी अनि कहाँ पुरीको बालुवामि िश्रत धमिलो पानी। ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’झैं मन दोधार भयो, झन्डै एक घण्टा अल्मलिएँ। नेपाल र नेपालीका लागि समुद्र रहरकै विषय हो। अन्ततः म पनि पुरी किनाराको त्यही धमिलो पानीमा आफ्ना ‘रहर’ चोबल्न थालेँ।

मध्याह्नको एकोहोरो हावाले समुद्रलाई छाल चलाउन सहज बनाइदिन्थ्यो। एकपछि अर्को तरंगित छालले मलाई नजानिँदो पारामा क्रमशः समुद्रको गहिराइतर्फ आमन्त्रण गर्न थाल्यो। पशुपतिनाथ र मुक्तिनाथलाई जगन्नाथसँग जोड्ने अभियानका साथ ३० जनाको टोली ‘निलाचल र नेपाल’ मा जोडिन पुगेका थियौं। त्यही टोलीका एक जनता टेलिभिजनका नारायण भण्डारीले मलाई समुद्रको निम्तोमा अघि बढ्न हौस्याइरहे। लकर नहुँदा लुगाकपडा र सरसमानको जोहो गर्न सोही टेलिभिजनका क्यामेराम्यान राजनराज पराजुली किनारामा थिए। उनको क्यामेराको लेन्स हामीतर्फ तन्कियो। हामीमा समुद्रको गहिराइ प्यारो बन्दै गयो।

घुँडा, कम्मर हुँदै छातीसम्म डुबाएर समुद्रको स्वाद लिन थालेपछि मैले कोरल बिर्सिएँ। बिर्सनुको कारण कोरलमा पुरीको जस्तो सामुद्रिक छालको मजा थिएन। छालहरू मानौं यसरी हुत्तिएर आउँथे कि किनारामा भएका सयौं हामीमात्र होइन, लाग्थ्यो छेऊको क्रंकिट बस्ती पनि डुब्दैछ। छालहरूको त्यो दम्भ अचम्म अनि लोभलाग्दो पनि थियो। मानौं ती खहरे खोला हुन्, जसरी आउँथे त्यसरी नै बिलाउँथे। घाँटीसम्म आफूलाई डुबाएर मैले पटकपटक धेरै पटक ती छाललाई हेरें। काठमाडौं उपत्यकाभित्र बसेर मेलम्चीको पानी कल्पिने आम राजधानीवासीजस्तै मैले एकपटक मुख धुन पाँचपटक धारा बन्द गर्दै खोल्दै गर्नुपर्छ। पानीमा काकाकुलताको सामना गर्ने मैले समुद्रको अथाह पानीको भाषा बुझ्न के सक्थें र ?

सूर्यको तापले सुक्खा किनारा क्षणभरमै रसिलो अनि क्षणभरमै बालुवामात्रको हुन्थ्यो। दुई, तीन फिटसम्म भरिएको बगर हेर्दा लाग्थ्यो, त्यहाँ किनारा थियो र ? अनि छाल फर्किएपछि लाग्थ्यो, त्यहाँ पानी थियो र ?

हावाको संगतमा रातदिन बरालिएझैं लाग्ने सामुद्रिक पानी छालहरूमा कहिले डिल त कहिले भीमकाय पहाड बनेर हामीमाथि आइलाग्थे। ती छालहरूको आगमन प्रत्येक पटक भिन्न स्वरूपमा हुन्थ्यो। यसअघिका कुनै पनि छालको स्वरूप आइरहने कुनै पनि छालको आकृतिसँग मिल्दैनथ्यो। प्रत्येक छालको अनुहार यस्तो लाग्थ्यो, मानौ ती मानिस हुन्। जसरी कुनै मानिसको अनुहार एकअर्कोसँग मिल्दैन। भीमकाय पहाड बनेर किच्नै लाग्दा नारायणजी लुसुक्क आफूलाई छालले नदेख्ने गरी पानीभित्रै लुकाउथे। म भने केही सेकेन्डमा आउने स–साना ‘पानीका डिल’ र आधा वा मिनेट नपुग्दै आउने ‘पानीका पहाड’ सँग सामना गरिरहेँ।

शारीरिकमात्र होइन, मानसिक रूपमा पनि ती बेजोडले हुत्तिएर आउने छालसँग प्रतिरोध गर्न तयार हुँदाहुँदै पनि थुप्रैपटक म किनारामा हुत्याइएँ। त्यस्ता आँधीसरि आउने छालसँगको रिस साँध्न नपाउँदै केही सेकेन्डै उही छालले साम्य बनाइदिन्थे, फर्किएर समुद्रतर्फ लाग्दा। सूर्यको तापले सुक्खा किनारा क्षणभरमै रसिलो अनि क्षणभरमै बालुवामात्रको हुन्थ्यो। दुई, तीन फिटसम्म भरिएको बगर हेर्दा लाग्थ्यो, त्यहाँ किनारा थियो र ? अनि छाल फर्किएपछि लाग्थ्यो, त्यहाँ पानी थियो र ? नारायणजीले राजनजीलाई पालो दिनुभयो। अब नयाँ नयाँ छालहरूले हामी दुईसँग सामना गर्नुछ।

समुद्रको संघर्षसँग सामना गरिरहँदा यस्तो लाग्थ्यो, मान्छेभित्र मात्र आँधी चल्दैन, द्वन्द्व हुँदैन। अचम्म छालबीच देखिने द्वन्द्व लोग्नेस्वास्नीको झगडाजस्तै, परालको आगो निभेझैं स्वाठ्ठै हुने। सायद यही भएर दिनैपिच्छे पुरीका हजारौं मान्छे समुद्र पुगेर आफूलाई शान्त बनाउँछन्। थाइल्यान्डको कोरलमा डुबुल्की मार्नेसँग कपडा देख्न कठिन हुन्थ्यो तर पुरीको परम्परा विल्कुल विपरीत रहेछ। सामुद्रिक किनारा भए पनि पश्चिमा संस्कृति (ब्रा र पेन्टी वा कस्टम) भित्रिएको रहेनछ। नयाँ पुस्ताका युवक भने ‘टपलेस’ थिए। तीर्थस्थल ठानेर वा भ्रमणका लागि योग्य मानेर पुरी पुग्ने अरूजस्तै हामीले पनि आफूभित्रको मानसिक द्वन्द्व समुद्रको पानीजस्तै शीतल बनायौं।

करिब ३० जना अटाउने मेसिनबाट चल्ने डुंगामा कोरल आइल्यान्डमा झन्डै २० किलोमिटरको सामुद्रिक यात्रा गरेको सम्झना अलि पर फाट्टफुट्ट काठका डुंगा खियाइरहेका दृश्यले गराए। १५/२० किलोमिटर डुंगा खियाएर विभिन्न आकारका शंख ल्याएर बेच्ने एक स्थानीय युवा भेटिए। ‘डुंगामा समुद्रको सयर गर्ने मन छ, के गर्न सकिन्छ ? ’, मैले हिन्दीमै सोधेँ। उसले भन्यो, ‘यो त पाहुनाका लागि सम्भव छैन, हामी शंख ल्याउनमात्र प्रयोग गर्छौं।’ ‘किन ?’ ‘गत वर्षमात्र हो, एक नवजोडी विदेशीले अपहत्ते गरे, मेरै साथीले लिएर गयो। तर...।’ ‘तर के ? ’ ‘तर न त्यो जोडी फर्कियो, न मेरो साथी नै’, उसले गहभरि आँसु पारेर भन्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.