प्रहरीको च्याँखे दाउ

प्रहरीको च्याँखे दाउ

बसमा अचानक आवाज आयो। तपाईंहरू सबैले प्रतिव्यक्ति २० रुपैयाँ दिनुपर्छ। सबैले केको २० रुपैयाँ भनेर प्रश्न सोधेछन् ? म निदाइरहेकी थिएँ। मसँगै मेरी आमा र पछाडि सिटमा बुवा हुनुहुन्थ्यो। म ब्यूँझे र मैले पनि प्रश्न गरेँ, ‘किने दिने ? हामीले प्रतिव्यक्ति भारतीय रुपैयाँ ६ सय ४० बसभाडा तिरिसक्यौं।’ सहचालकले भन्यो, ‘अब किचकिच गरेर केही हुँदैन। सधैं यस्तै हुन्छ यहाँ। प्रतिव्यक्ति त्यति नदिए वारि र पारि गेटमा बस्ने प्रहरीले नचाहिँदो दुःख दिन्छन् र झन् ढिलो हुन्छ।’

कोही रकम दिन तयार भए र दिए पनि। मैले दिन्नँ भन्ने अडान लिएँ। बरु म झोला समात्दै हिँडेर जान तयार छु। नियमविपरीत दिन्नँ भन्दा बाबाले पनि सपोर्ट गर्नुभयो। तर, आमाले चिन्तित हुँदै भन्नुभयो, ‘किन बोल्छेस्। पुलिसले तँलाई समातेर नभएको बबाल गर्ला फेरि।’

मेरो छेउको सिटमा भारतीय आर्मीमा कार्यरत एकजना नेपाली युवाले म पनि रुपैयाँ दिन्न भने। उनीसँगै अर्को सिटमा बस्ने एकजना नेपाली युवा मलाई सम्झाउन लागे, ‘यिनीहरूको मुख लागेर केही हुँदैन। उल्टै बेइज्जत गराउँछन्। म यस्तो अडान लिँदालिँदा थाकिसकेँ।’ तर, २० रुपैयाँ नदिने सातजना भयौं। यो सन्दर्भ आमाबुवासँगै भारतको नयाँदिल्लीबाट नेपालको सीमानाका गड्डाचौकी हुँदै महेन्द्रनगर पुग्दा यही वैशाख २३ को हो।

दिल्लीको आनन्द बिहार बसपार्कबाट ६ बजे गाडी हिँड्छ भन्ने हामीले जानकारी पाएका थियौं। टिकटका लागि कुरा भएको थियो। एसीजडित सुविधासम्पन्न बस साँझ साढे ७ बजे हिँड्यो। बिहान ४ बजे बनबासाको आँप बगैंचा पुगियो। त्यहाँबाट गेट ६ बजेमात्रै खुल्छ भन्ने थाहा पाइयो। बसभित्र बसौं, गर्मीले भतभती पोलिरहेको थियो। बाहिर निस्कौं, लामखुट्टेको रजाइँ छ। दुई घन्टाको सास्तीपछि बल्लबल्ल गेट खुल्यो।

महाकाली पुलछेउ पुगेपछि बसमा भएको विवादले तातेको दिमाग केही शीतल भयो। पुलको गेट पनि ६ बजे खुलिसकेको थियो। महाकाली पुलमा हामीले हिँड्नुपर्ने थियो। भारतीय प्रहरीले चेक गर्ने ठाउँमा पुग्दा अर्को बसका सहचालकले प्रहरीको हातमा लुकाएर पैसा दिएको देखेँ; जुन पैसा बसका सहचालकले प्रतियात्रु २० रुपैयाँका दरले उठाएका थिए। मैले त्यो दृश्य मोबाइलमा कैद गरेँ। ती प्रहरी हाम्रो बसको सामान चेक गर्न आए। उनी यति इमानदारिता देखाउँदै थिए कि मानौं हामी सबै अबुझ छौं।

चेकपछि गाडी अगाडि बढ्यो। अगाडि भारतीय सीमा सुरक्षा बलको पोस्ट थियो। यहाँ पनि तनाव दिन्छन् कि जस्तो लागेको थियो तर उनीहरूले तालिमप्राप्त कुकुरलाई ल्याएर चेक गरे र बसलाई जाने आदेश दिए।

सर्वसाधारणको पैसा खानु भारतीय प्रहरीको नयाँ घटना होइन। एक वर्षअघि मेरो काकाको छोरा भारत हुँदै दार्चुलाबाट महेन्द्रनगर आउँदै थियो। बनवासा पुल गेटमा प्रहरीले चेक गर्‍यो। उसले जुत्ताभित्र आफूसँग बाँकी रहेको पाँच सय रुपैयाँ लुकाएको रहेछ। जुत्ता पनि खोल्न लगायो र जुत्ताबाट त्यो पैसा लग्यो। भाइ यस्तो व्यवहारबाट जानकार थियो तर पनि उसले लगाएको उपाय काम लागेन। बनवासा हुँदै भारत जाने धेरैजसो नेपाली यसरी नै दुःख पाउँछन्।

महेन्द्रनगरमा बसेर पत्रकारिता गर्ने क्रममा सीमा नाकामा बसेर भारतीय प्रहरी र नेपालमा रहेका सुरक्षा निकायको व्यवहारलाई पनि नजिकबाट नियालेर हेर्ने मौका पाएको थिएँ। नेपालको भन्दा भारतीय प्रहरीको व्यवहार एकदमै नराम्रो। सिजने बाली लगाएर धेरैजसो व्यक्ति कामको खोजीमा अहिले पनि भारत जाने गर्छन्। भारतीय सशस्त्र सीमा बलको पोस्ट छेउमै बसेर बसेर रुकुम, हुम्ला, जुम्ला, प्यूठान, बझाङ, अछाम लगायतका क्षेत्रबाट भारतको उत्तराखण्ड काम गर्न जाने व्यक्तिहरूसँग रेडियोका लागि धेरैपटक कुरा गरेकी थिए। प्रायःले भारतबाट कमाएर ल्याएको पैसा भारतीय प्रहरीलाई चियापानीबापत बुझाउनैपर्ने बाध्यता रहेको बताएका थिए। एक दशकअघि र अहिले सिमानामा फरक आएको छ। पहिले भारतीय प्रहरीले सबैलाई हेप्थे भने अहिले मान्छे हेरेर हेप्न र बोल्न थालेका छन्।

सुरक्षित, सहज र सुविधाजनक यात्रा होस् भनेर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले सन् २०१४ नोभेम्बर २५ बाट काठमाडौंदेखि दिल्लीका लागि बस सञ्चालनमा ल्याएका थिए। अहिले काठमाडौंबाट दिल्लीका लागि रूपन्देहीको वेलहिया हुँदै दैनिक तीनवटा बस छुट्छन्। अहिले पोखरा, महेन्द्रनगर, दाङबाट समेत दैनिक दिल्ली बस गइरहेको छ। हालै प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामबाट अयोध्या चल्ने बसको समेत उद्घाटन गरे। यसले गर्दा सर्वसाधारणलाई सहज भएको छ।

दुई देशबीच सीधा बस सञ्चालन हुनु राम्रो कुरा हो। तर, सर्वसाधारण यात्रु सरकारी स्तरका ठगबाट लुटिनबाट जोगिएका छैनन्। बोल्यो कि पोल्यो भनेझैं कोही बोल्न तयार छैनन्। नेपाली बसहरू दिल्लीको आनन्द बिहार बसपार्कमा जाँदा प्रत्येक यात्रुले भारु २० रुपैयाँ पार्किङ शुल्क तिर्छन्। सरकारी सम्झौताअनुसार चलेर पनि यो बेथिति किन ? यस्तो कुरा सामान्य भन्दै बसभित्रका कथाव्यथा बाहिर आउँदैन। हतारमा कोही बोल्न चाहँदैनन्। फुर्सद कहिल्यै हुँदैन। एक महिलाले हिन्दी र अछामको भाषा मिसाउँदै बोलेको म बिर्सिन्नँ, ‘जसको पहुँच छ, उसले भीआईपी सुविधा पाँउन्या। कोही प्लेनमा जाँदा। कसले लेख्न्या यी कुरा ?’ नेपालबाट भारतमा बस सञ्चालन गर्ने समितिले यस्तो बेथिति रोक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.