मलाई पाप लागोस् !

मलाई पाप लागोस् !

मलाई पाप लागोस् !

पण्डितले गाई मारे बराबरको पाप लागोस्। लाखौं कर्णाली जनतालाई सुगमताको मीठो आभास दिइरहेको कर्णाली सडकलाई कहाली लाग्दो, अप्ठेरो र दुर्गम भनेँ !

मलाई पाप लागोस् !

इस्लाम धर्मले सुँगुर छुए बराबरको पाप लागोस्। लाखौं कर्णाली जन पटक्कै नडराई यात्रा गर्ने भीरमा मर्दै बाँच्दै यात्रा गरेँ !

मलाई पाप लागोस्।

बुद्ध धर्मगुरुले आफ्नै हातले प्राणीको हत्या गरी मांस भोजन गरे बराबरको पाप लागोस् ! यी सडकहरूमा दोहोर्‍याएर यात्रा गर्न नपरोस् भनेँ।

कुनै कट्टर धर्म नास्तिक कम्युनिस्टले लेलिन वा कार्लमाक्र्सको टाउकोमा मुते बराबरको पाप लागोस्। मैले मुगुको जिया भीरमा होस् गुमाएँ !

मलाई पाप लागोस्। साँच्चैं पाप लागोस्।

भित्र मुटु कमाएर बाहिर बहादुर छु भन्नु किन ?

म कायर र डरपोक हुँ। मृत्युसँग खुब डर लाग्छ। ‘भीरमा लडेर मरे पनि बालै भएन !’ भन्न सक्दिनँ।

मजस्तो डरपोक मान्छे कर्णालीको भीरैभीर रारा पुगेर जिउँदै कसरी घर फर्कें ! अब वर्णित हुनेछ।

मुगुको जिया भीर पुग्नुअघि खास ठूलो डर कतै लागेन। थुप्रै भीरको फोटो, भिडियो खिचेँ। जुम्लाको सिँजा उपत्यका उत्पात राम्रो र सुन्दर लाग्यो। सारा कर्णालीको सुगमता जम्मा भएर त्यहीँ थुप्रिएजस्तो ! फराकिला फाँटहरूमा गहुँ पाक्दै थियो। धानको ब्याड उम्रँदै थियो।

सिँजा उपत्यका कट्नै लागेपछि सँगै यात्रा गर्ने मुगेली मास्टरसापले भनेका थिए, ‘अब नडराउनुस् भीर सकियो सर !’

उनले यति भनेर गोठीज्युलाबाट खप्तडतिर पैदल चले।

मलाई थाहा छ ! मास्टरहरूले झुट बोल्दैनन्। मेरो मुटुको कुनाकाप्चामा थिग्रिएर बसेको डरसमेत निचोरेर फालिदिएँ।

ढुक्क भएँ। अब भीर सकियो। यो बाटो दोहोर्‍याएर बस चढ्दिनँ। फर्कंदा प्लेन चढ्छु। नमरी घर फर्कन्छु।

सिँजाबाट एक जत्था पुलिस दाजुभाइ हाम्रो बसमा चढेर भीडभाड गरे।

मेरो सिटपछाडि बस्ने पुलिस जवान खुब रौसे रहेछ। लोकगीतको सोखिन र रक्सीले मातेको आफ्नो हाकिमलाई मुखै छाडेर गाली गर्न सक्ने हिम्मत भएको बहादुर !

‘साला हाकिम त यस्तो रक्सिया छ, भीरबाट ओरालो खसालेर उकालो खोज्न जानुपर्ने !’

आफ्नो हाकिमसँग किन बिचित्त बनिरहेको छ यो जवान ठिटो ?

बुझिल्याउँदा यस्तो रहेछ कारण, असईको कमान्ड ! टोलीमा एक हबलदार, तेह्र जवान छन्। टोली हिँडेको हो, यार्सा टिप्ने जनताको सुरक्षा गर्न हिमालतिर !

टोली छुट्छ जुम्लाको खलंगाबाट। त्यहाँबाट बस चढेर पुग्नु छ, मुगु गमगढी। बसवालाले, रक्सी पिएर शक्ति गुमाउँदै गएको असईलाई भन्छ, ‘असईसाप, पन्ध्रजना मात्र बोकेर जुम्लाबाट गमगढी पुग्दा हामीलाई घाटा पर्छ। सिँजाबाट अर्काे गाडीमा चडाई पठाइदिन्छु। हाम्रो मर्का बुझिदिनुस् !’

रक्सी पिएर धेरै बोल्न नसक्ने भएको असईसाप ‘हुन्छ’ भनिदिन्छ। लगत्तै दोहोरो संवाद गर्न नसक्ने गरी सिन्डिफ्ल्याट् पर्छ।

फौजमा कमान्डरको अन्तिम फैसला कानुन बन्छ। जवानहरूले बाध्य भएर कानुन मान्छन्। हाकिमसँग खुब मुर्मुरिन्छन्। मेरो सिट पछाडि बस्ने जवान केटो हाकिमलाई मुख छाडेर गाली गर्छ।

अगाडि बर्नरमा लम्पसार परेको असईले ड्राइभरलाई गाडी चलाउन डिस्ट्रब गरेपछि बाँकी जवानहरूले लतार्दै ल्याएर त्यही विद्रोही जवानको छेउमा राखिदिन्छन् !

ऊ थु थु गर्दै भन्छ, ‘कसरी बस्नु रक्सी पिएको मान्छेसँग ? ’

कसरी नबस्नु ऊ हाकिम हो। उसको फैसला कानुन बन्छ।

बसमा भीडभाड छ।

बसमा च्यांग्रा छ। लसुन प्याजको बोरा छ। राडीपाखी छ। बिस्कुट चाउचाउको पोका छ। चामलको बोरा छ। ग्यासको सिलिन्डर छ। जीवन चल्न जे जे चाहिन्छ ! सबै छ।

रक्सीले मातेको असईको लात्तीले लागेर ग्यासको सिलिन्डर ढल्छ। ढलेको सिलिन्डरले कसैको खुट्टामा लाग्दैन तर पुलिसको खराब हर्कत पटक्कै मन नपराउने सचेत तन्नेरी रूखो लवजमा बोल्छ, ‘लागेर मेरो खुट्टा भाँचिएको भए, के गर्थिस् !”

रक्सीले कोमामा लिएर गएको असईबाहेक बाँकी चौध जनाले त्यो तन्नेरीलाई एकैपल्ट छोपे। मानौं, महिनौंदेखि भोको जनावरले आहारा छोपेजस्तो। सबैभन्दा धेरै गाली त्यही विद्रोहीजस्तो देखिने जवानले गर्‍यो। सबैभन्दा ठूलो झम्ट्याइ उसैले झम्ट्यो। जसलाई मैले हाकिमलाई समेत गाली गर्नसक्ने हिम्मत भएको बहादुर जवान भनेको थिएँ।

पुलिस जवानहरूले त्यो मान्छेलाई बसबाट गलहत्याएर निकाले ! रक्सीले कोमामा लिएर गएको असई घुर्न थाल्यो।

एकैछिनपछि ससाना भीरहरू आए। म डराइनँ। फोटो भिडियो खिँचेँ। मुगेली मास्टरले झुट बोलेनछ। भीरहरू सकिएकै हो भन्ने सत्य सुरु भएजस्तो लाग्यो। प्रेमिकाको कानमा फुस्फुसाएँ, ‘हामी नमरी घर फर्कने भयौं।’

‘हो, तिमी बाँच्यौ। अब जिउँदै रारा पुग्छौ।’

०००

फेरि, त्यो हाकिमलाई गाली गर्ने मुर्ख जवान लोकगीत भट्याउन थाल्यो। अघिसम्म विद्रोही भनेको थेँ। तर, गलत रहेछ। रक्सीले मातेर होश गुमाएको हाकिमलाई गाली गर्नु र एक निरीह मान्छेमाथि झम्टन खोज्नु विद्रोही हुनु हैन। विद्रोहीजस्तो सुन्दर शब्द त्यो जवानलाई पटक्कै सुहाउँदैन। ऊ माथिको धारणा नब्बे डिग्रीको हाराहारीमा उल्ट्याएँ।

अघि नै उसको नाम, ठेगाना सोधेको हुनाले मसँग ऊ परिचित छ।

लोकगीत गाउँदागाउँदै टक्क अडियो। अब आउने जिया भीरको बारेमा मलाई बतायो, ‘सर अगाडि खतरा बाटो छ, क्यामेरा रेडी पार्नुस् !”

मैले झ्यालबाट टाउको बाहिर निकालेर भीरको फोटो, भिडियो खिच्दा उसले सानोतिनो आनन्द लिँदो रहेछ।

एकैछिनमा जिया भीर आयो !

यात्राको सबैभन्दा डरलाग्दो भीर।

अक्करलाई खोपेर बनाइएको बाटो जहाँबाट लड्यो भने चोक्टा टिप्न गिद्धबाहेक अरू कोही जान सक्दैन। जहाँ बसका चारवटा चक्का मात्रै आँट्छ ! बाँकी मान्छेसमेत पास हुनसक्ने ठाउँ छैन।

मैले झ्यालबाट टाउको बाहिर निकालेर अरूअरू भीरको जस्तै यो भीरको फोटो खिच्न सकिनँ। आफू कति डरपोक रहेछु भन्ने हिसाब भयो। मेरा हातगोडा चिसिए।

मुटु किलकिलेसम्म आइपुगेर अड्कियो। फोक्सोले आफ्नो लय गुमायो।

मैले मेरी प्रेमिकाको हात समातेँ तर अनुहार देखिनँ। मेरो आँखा मरिसकेछ !

मेरी प्रेमिकाले ‘के भयो ! डर लाग्यो ? ’ भनेर पक्कै सोधिन्। तर मैले सुनिनँ। मेरो कान मरिसकेछ।

मास्टरले झुट नबोलेको भए मेरो मुटु जिया भीरको लागि तयार भएर बस्थ्यो होला। उसैको कारण मेरो मुटुको कुनाकाप्चाको डरसमेत निचोरेर फालिसकेको थेँ। म डरशून्य आनन्दमा थिएँ। मास्टरले झुट बोल्न हुँदैन। उसलाई पनि पाप लागोस् !

प्रेमिकालाई भन्न चाहन्थेँ हुँला, ‘मलाई असाध्यै डर लाग्यो। म कुनातिर जान्छु !’ तर, मेरो आवाज जीवित थिएन।

मेरी प्रेमिकाले भनिनन्, ‘छोरो मान्छे भएर पनि यसरी डराउने ? छोरो मान्छेको मुटु हुनुपर्छ, मुटु !’

उनलाई थाहा छ, डरले लैंगिक विभेद गर्दैन। त्यो जसको मुटुमा पनि बस्न सक्छ। भीरको बाटोमा मेरी प्रेमिकाको मुटुमा पसेन, मेरो मुटुमा मात्र बस्यो। त्यो मूर्ख जवानको मुटुमा पनि पसेन, बाँकी धैरै यात्रुको मुटुमा बस्यो। रक्सीले कोमामा लिएर गएको असईको मुटुमा पस्ने कुनै बाटो भेटेन। त्यस्तो ज्यानमारा भीरमा पनि असईले आँखा खोलेन।

जिया भीर कटेपछि मात्र सम्झिएँ ८० वर्षीय बाआमालाई, जो अमेरिकाको यात्रामा भर्खरै निस्कनुभएको छ। ‘भीरबाट लडेर छोराबुहारीको मृत्यु !’ भन्ने खबर सुन्दा के हालत होला !

एक्लै यात्रा गर्न नसक्ने मेरा बाआमा कसरी त्यति लामो यात्रा गरेर छोराबुहारीको अन्तिम संस्कार गर्न आइपुग्नुहोला। चाउरिएको बूढो अनुहारमा यी वियोगान्त पीडाको स्केच तपाईं पाठकले कुन हदसम्म गएर उतार्न सक्नुहुन्छ, उतार्नुस् ! तपाईं पाठकलाई पूरै छुट छ, पीडाको गहिराइमा डुब्न।

मलाई भीर हैन। मलाई मृत्यु हैन। जीवन हैन। मृत्युपछिको कहालीलाग्दो आफन्तको अनुहार सम्झेर डर लाग्यो। तर, म मरिनँ। बाँचेँ। भीर कटेपछि फेरि पूर्ववत अवस्थामा फर्कें। अनुहार जस्ताको तस्तै भयो र फेरि अर्काे भीरका लागि मुटु तयार भयो।

मुगेली मास्टरले झुट बोलेछ ! सरासर झुट।

मास्टरले झुट बोल्न हुँदैन। उसलाई पनि पाप लागोस् ! जसरी कथाको सुरुआतमा मलाई पाप लागोस् भनेको छु।

मास्टरले झुट नबोलेको भए मेरो मुटु जिया भीरका लागि तयार भएर बस्थ्यो होला। उसैको कारण मेरो मुटुको कुनाकाप्चाको डरसमेत निचोरेर फालिसकेको थेँ। म डरशून्य आनन्दमा थिएँ।

०००

म लगातार नबाँची ! लगातार नमरी ! ताल्चा पुगेँ। त्यहाँबाट रारा पुगेँ।

राराको सौन्दर्य शब्दमा समेटिँदैन। म बयान गरौं के ! उहिले शासक कवि महेन्द्रले ‘राराकी अप्सरा’ भनेका छन्। महेन्द्रले झुर कविता लेखे। उनले कवितामा बयान गरेभन्दा हजारौं गुणा सुन्दर छ रारा। जबरजस्ती विश्वविद्यालयको किताबमा घुसाएर राराको सौन्दर्य गिजोले।

राराबाट फर्केपछि ताल्चामा विमान कुरेँ। ताल्चा एअरपोर्ट पुरै अग्र्यानिक छ। रनवेमा गाईबाख्रा कुद्छन्। तारबार छैन। जनता हिँड्ने मुख्य सडक रनवेको बीचमा छ। ‘लौ है अब जहाज आयो !’ भनेपछि पुलिस दगुर्छ। गाईबाख्रा लखेट्न थाल्छ। मान्छेको ओहोरदोहोर रोक्छ। यहाँको एअरपोर्ट पनि हामी सुगमतिरको सहरियाहरूलाई हेर्न लायक पर्यटकीय स्थल हो।

बास बसेको वसन्त होटलको साहुनीले भनिन्, ‘सुर्खेत जाने हो भने अहिले प्लेन आउँछ, रेडी हुनुस्।’

प्लेन त आउने भयो तर मसँग प्लेन चढ्न पुग्ने पैसा छैन। बसमा जाऊँ जिया भीरमा ‘हडफिल’ हुने पक्का छ। म जिउँदै घर पुग्न चाहन्छु। ‘पूरै पैसा पुगेन तर मलाई आज जसरी पनि नेपालगन्ज पुग्नु छ। यहाँबाट बैंक कति टाढा छ ? ’ मैले साहुनीसामु समस्या राखेँ।

‘बैंक टाढा छ, पुगेर आउन भ्याउँदैन। हाकिमलाई भनिदिन्छु, सुर्खेत पुगेर दिनुस् पैसा !’

उनी मकालु एअरका लोकल हाकिम वीरेन्द्र भामको अघि ग्यारेन्टी बसिन्, ‘दुई टिकट मिलाइदिनुस् हाकिम साप। उनले नदिए म दिन्छु।’

वीरेन्द्र भामले आनाकानी गरेनन्। लोकल ग्यारेन्टी पाएपछि म र मेरी प्रेमिकालाई उडाउने भए।

होटल साहुनीले हिँड्ने बेला पैसा तिर्छ कि तिर्दैन भन्ने शंका पटक्कै गरिनन्। उनले मेरो फोन नम्बर र नाम ठेगानासमेत सोधिनन्। के काम गर्छौ भनीकन जान्न खोजिनन्।

सहयोग गर्न पाएकोमा उनको अनुहारभरि उज्यालो फैलियो।

‘प्लेन ढिलो आउँछ, खाजा खाएर जानुस्। कोदाको रोटो हालिदिन्छु !’ भनिन्।

मेरो आँखाभरि दह जम्यो। वर्षौं भयो, यसरी बिनास्वार्थ सहयोग गर्ने मान्छे भेटेको थिइनँ।

हामी जालझेल र छलछालको सहरतिर बस्ने सहरियाहरूलाई यहाँको विश्वास र सहयोगसमेत हेर्नलायक पर्यटकीय आनन्द हो।

मकालु एअर सिंगल इन्जिन भएको कार्गो जहाज रहेछ। जसले हुम्लामा खाद्य संस्थानको सामग्री ढुवानी गर्दो रहेछ। दुई टिप नुनका बोरा हुम्ला पुर्‍याएपछि हामीलाई लिएर सुर्खेत उड्ने भयो। नौ प्यासेन्जरमै हाउसफुल हुने यो फुच्चे जहाज चढ्न हत्तपत्त कोही मान्दा रहेनछन्।

सबका सब जान्ने ! ‘सिंगल इन्जिन हो, जहाँ पनि खस्न सक्छ !’ भनीकन डर देखाउने थुप्रै भेटिए।

‘दुईपल्ट हुम्ला पुगेर आइसकेको छ। अब एकपल्ट सकुशल सुर्खेत पुग्यो भने त म बाँचिहाल्छु’ भन्ने जवाफ दिएपछि उनीहरूले दोहोर्‍याएर सिंगल इन्जिनबारे पण्डित्याइँ दिएनन्।

बिहान ८ बजेदेखि कुरेको जहाज १२ बजेसम्म उडेन। एक मुगेली दिदीसँग मस्तै गफ मारियो। पहिला त उनी खुल्न सकिनन् तर पछि रोक्किनन्। ठाउँका ठाउँ खस भाषामा सायरी बनाएर गफ गर्नसक्ने ती दिदीले म र मेरी प्रेमिकाका लागि एउटा सायरी फुराइन्।

उनले हामीलाई थुप्रै गीत सुनाइन्। आफ्नो कथा भनिन्। श्रीमान् भेडा चराउँछन्, जडीबुटी खोस्रन्छन्। जेठो छोरो मास्टरी, माइलो छोरो जडीबुटीको व्यापार गर्छ र कान्छो ९ कक्षामा पढ्छ, भन्न भ्याइन्।

नहाँसी उनी बोल्न नजान्दी रहिछन्।

बोलीमा लय छ। मनाङ, मुस्ताङ घुमेकी यी मुगेली दिदी मैले भेटेका कयौं खुसी मान्छेहरूमध्ये रोल नं. १ भएकी खुसी मान्छे हुन्।

अनेक सपनाले थिचेर थिलथिलो भएको मजस्तो सहरिया मान्छेले खुसी मान्छे भेट्दा डाहा गर्छ। मैले डाहा गरेँ।

हुम्लामा नुनको बोरा झारेर हामीलाई बोक्न जहाज आयो। जहाजको सिटचाहिँ ताल्चामै छाडेर जहाज नुन बोकेर उडेको थियो।

सिट मिलाउन समय लाग्यो।

खैरे जातको पाइलट भन्दै थियो, ‘अहिले हावा चल्न थाल्यो भने उड्न सकिँदैन। छिटो मिलाऊ सिट।’ को–पाइलट र स्थानीय जहाज कर्मचारीले सिट मिलाए। मैले फोटो खिचेँ। बाँकी यात्रीले रमिता हेरे।

जहाज उड्यो।

तर, जहाजको सिट राम्रोसँग अडिएन। पछाडि बस्नेले अगाडि बस्नेको सिट समातेर थेग्नुपर्ने भयो। को–पाइलटले मलाई भन्यो, ‘आफ्नी प्रेमिकाको सिट राम्रोसँग समातेर बस है।’

मैले एक हातले प्रेमिकाको सिट र अर्को हातले क्यामेरा समातेर कर्णालीको फोटो खिच्ने भएँ। मेरो दुक्ख देखेर दुई यात्रुले हामीलाई सबैभन्दा अगाडि राखिदिए। उनीहरूले हाम्रो सिट समाते। दुवै हातले क्यामेरा समातेर आकाशबाट जमिनको फोटो खिचेँ।

जब जहाज उडेर रारामाथि आइपुग्यो, खास रारा त अहिले पो देखियो। उसको अद्भुत सौन्दर्य त अहिले पो भेटियो। कवि महेन्द्रले मजस्तो साधारण जनताले हेर्ने राराको किनाराबाट रारा हेरेर रारालाई ‘राराकी अप्सरा !’ भनेका हैनन्। उनले हेलिकोप्टर चढेर आकाश माथिबाट हेरेपछि मात्र रारालई त्यसो भनेका हुन्। तर, उनले कवितामा राराको सौन्दर्य गिजोले। उनले भनेभन्दा हजारौं गुणा सुन्दर देखिन्छ आकाशबाट रारा ! जुन शब्दमा अडिँदैन, भाषामा भैटिँदैन, चित्रमा समेटिँदैन।

पाइलटले मुन्टो बटारीबटारी रारालाई हेर्‍यो। एक फन्को अरू लाउला कि ! भन्ने आशा गर्दागर्दै जहाज खत्याडको डाँडामाथि पुग्यो।

कर्णालीको आकाशमाथि नौसिटे सिंगल इन्जिन भएको जहाज चढ्नु बाँचिरहनु हैन।

तर, म नमरी सुर्खेत आइपुगेँ।

०००

मलाई पाप लागोस्। आदिमकालदेखि खुसी खुसी बाँचिरहेका हजारौं कर्णालीवासीको जीवनलाई दुर्गम जीवन भनेँ। दुक्ख भनेँ। कहिल्यै कर्णालीका पैताला नडराउने भीरहरूमा, पहराहरूमा म डराएँ। मलाई पाप लागोस् ! साँच्चै पाप लागोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.