‘अनुहार होइन, रिपोर्ट हेरेर औषधि’

‘अनुहार होइन, रिपोर्ट हेरेर औषधि’

पोखरा :  ‘हाम्रा स्वास्थ्यकर्मीले अहिलेसम्म बिरामीको अनुहार हेरेर औषधि लेख्थे, अब रिपोर्ट हेरेर लेख्छन्’, गाउँका ५ स्वास्थ्य चौकमा प्रयोगशाला (ल्याब) स्थापना गरेपछि कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भने। उक्त गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा ल्याब स्थापना भएको छ। 

रुपाले इम्पावर नेपाल फाउन्डेसन अमेरिकाको सहयोग जुटाएर २२ लाख रुपैयाँमा ल्याब स्थापना गरेको हो। उक्त फाउन्डेसनले ल्याबका उपकरणका लागि ६ हजार डलर सहयोग गरेको र अरु गाउँपालिकाले नै खर्चेको अध्यक्ष ओझाले जानकारी दिए। 
प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले उक्त ल्याबको बुधबार उद्घाटन गरेका थिए। त्यस अवसरमा उनीहरु दुवैको स्वास्थ्य परीक्षण पनि गरिएको थियो। अध्यक्ष ओझाले पोहोर जेठ २ गते पदबहाली गरेपछि वर्षदिनभित्र ल्याब स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। त्यही लक्ष्य र बाचाअनुसार काम गरेको ओझाले सुनाए। 

ल्याबमा दिसापिसाब, खकार, रगतसहित २० थरी परीक्षण हुन्छ। परीक्षणबाटै रोग पहिचान गरी औषधि सिफारिस हुने अध्यक्ष ओझाले बताए। ‘सानोतिनो जाँच गर्न पोखरा जानुपथ्र्याे’, अध्यक्ष ओझाले भने, ‘पैसा र समय दुवै धेरै खर्च हुन्थ्यो।’ अब भने स्थानीयको थुप्रैखाले रोग पत्ता लगाउन सजिलो हुने विश्वास उनले व्यक्त गरे। स्वास्थ्य चौकीहरुमा ल्याब स्थापनासँगै बुधबार रुपालाई पूर्ण खोपयुक्त गाउँपालिका पनि घोषणा गरियो। वडा नम्बर ६ मा स्वास्थ्य चौकी भवन पनि उद्घाटन भएको छ। 

ल्याब असिस्टेन्ट सबै स्वास्थ्य चौकीमा गाउँपालिकाले नै नियुक्त गरेको जानकारी अध्यक्ष ओझाले दिए। ‘उनीहरुको तलबमा मात्रै वर्षको ९ लाख रुपैयाँ खर्च गर्दछौं’, उनले भने, ‘ल्याबमा केमिकल लगायत सामानको वर्षमा ५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।’ ल्याबबाट सुगर र टाइफाइड जस्ता रोग पनि पत्ता लाग्ने जनाइएको छ। अध्यक्ष ओझाले थाइराइड पत्ता लगाउने उपकरण भने महँगो भएकाले खरिद गर्न नसकेको जानकारी दिए। 

अध्यक्ष ओझाले स्वास्थ्य चौकमा प्रयोगशालासहित अरु प्रतिबद्धता पनि पूरा गरेको सुनाए। उनले सबै वडामा कर्मचारी व्यवस्थापन, सबै वडामा सडक सञ्जाल, घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत प्रतिबद्धता पूरा गरेको बताए। गाउँपालिकाको प्रमुख समस्या खानेपानीको अभाव सुल्झाउन १९ योजना सञ्चालन गरेको जानकारी दिए। महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ख्याल गरी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई थप १ हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ। सरकारले दिँदै आएको १ हजार रुपैयाँमा गाउँपालिकाले अर्काे हजार रुपैयाँ थप्दै आएको हो। 

अंग्रेजी माध्यमका निजी विद्यालयमा विद्यार्थी आकर्षिक भएपछि सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई गाउँपालिकाले अंग्रेजी पाठ्यपुस्तक उपलब्ध गराएको जानकारी अध्यक्ष ओझाले दिए। उनले भने, ‘अर्काे वर्ष माविसम्मकै सबै विद्यार्थीलाई दिने योजना छ।’ 

अध्यक्ष ओझाले गाउँपालिकाका मुख्य सडक पिच गर्ने तयारी भइरहेको जानकारी दिए। ‘अहिलेसम्म हाम्रो गाउँपालिकामा १ मिटर सडक पनि पिच छैन’, उनले भने, ‘मुख्य सडकमा पिच गर्ने योजना अगाडि बढाउँछौं।’ उनले गाउँमा पशुपालन लगायत कृषिका तालिम सञ्चालन, हलो र सुधारिएको चुलो वितरण लगायत कार्य गरेको जानकारी पनि दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.