अब कलाकारले निराशाका गीत गाउनु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले अब निराशाका गीत गाउनु नपर्ने बताएका छन्। साँस्कृतिक संस्थानले शनिबार आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले निरंकुशताविरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्झना गरे। जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबी टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘२०३० सालमा म जेल परें। तर, पनि हामी जित्ने छौं एकदिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन।’
रामेशले देशका लागि गाएका गीतले सार्थकता पाएको प्रधानमन्त्री ओलीको भनाइ छ। सबैको योगदानले देशमा परिवर्तन आएको उनले प्रष्ट पारे। प्रधानमन्त्री ओलीले भने, ‘अब हामी समृद्ध नेपाल, सुखी नेपाली बनाउँछौं। कलाकारले अब निराशाका गीत गाउनु पर्दैन।’
कुनै बेला जनता जगाउन गाऊँ गाऊँबाट उठ बस्ती बस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भाग रचना गर्न र गाउँन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे। ‘हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरी जगाउनुहोस।’
कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, पूर्व प्रधानमन्त्री झलनाथ खनालले गायक रामेशलाई गीत संगीतको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पुर्याएकोमा अभिनन्दन गरे। यसैगरी गायक रायनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ।