रंगकर्मी अनुप बराललाई शिरोमणि पुरस्कार
पोखरा : पोखरेली युवा सांस्कृतिक परिवारले रगंकर्मी अनुप बराललाई शिरोमणि पुरस्कार प्रदान गरेको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले शनिबार पुरस्कार बराललाई हस्तान्तरण गरे। रंगकर्मी बराललाई परिवारले १५ हजार रुपैयाँ र ताम्रपत्रले पुरस्कृत गरेको हो। परिवारले २-२ वर्षमा दिँदै आएको पुरस्कारबाट अहिलेसम्म १२ जना पुरस्कृत भइसकेका छन्। साहित्यकार सरुभक्तले अनुपलाई पुरस्कृत गर्दा आफैं पुरस्कृत भएजस्तो अनुभूति भएको सुनाए।
‘म पहिल्यैदेखि अनुपको निर्देशनबाट आकर्षित थिएँ’, उनले भने। उनले लेखेर अनुपले निर्देशन गरेको थाङ्ला लगायत नाटक चर्चित छन्। नेपाली नाट्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र हैन मौलिकता दिने क्षमता अनुपमा भएको विचार सरुभक्तले राखे। पुरस्कार छनोट समिति संयोजक कवि तीर्थ श्रेष्ठले पुरस्कार ग्रहण गर्ने स्वीकृति दिएर अनुपले संस्थालाई धन्य बनाएको बताए। ‘अनुपले कलाबाट नै पोखराको रंगकर्म फड्को मार्न योगदान दिएका छन्,’ उनले भने।
पुरस्कृत अनुपले आफ्नै रुचिले रंगकर्ममा लागेको सुनाए। रंगकर्ममा लाग्न वातावरणले भूमिका खेलेको पनि उनले खुलाए। ‘बुवाको चित्र हेर्न नपाएको भए कलाकारितामा आकर्षित हुन्नथें होला’, वरिष्ठ चित्रकार तथा कार्टूनिस्ट दुर्गा बराल वात्स्यायनका पुत्र अनुपले भने, ‘बुवाका चित्रले मलाई सामाजिक यथार्थता बोध गर्न पाउने थिइनँ।’ परिवारका अध्यक्ष दीपक समीपले रंगकर्मका माध्यमबाट अनुपले पोखरालाई गुन लगाएको बताए।