एपीएफ र प्रदेश ७ को जित

एपीएफ र प्रदेश ७ को जित

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ र एपीएफ क्लबले जित हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई दुई विकेटले पराजित गर्‍यो ।

प्रदेश ३ ले दिएको एक सय १७ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश ७ ले पनि लक्ष्य भेट्टाउन ठूलै संघर्ष गर्नुपर्‍यो । प्रदेश ७ ले ३९.४ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रदेश ७ का लागि सञ्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन बनाए । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले दुईदुई विकेट लिए । यस्तै किशोर महतो, प्रतिश जीसी र सञ्जय बस्नेतले एकएक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको ३ नम्बर प्रदेश ३३.३ ओभरमा एक सय १६ रनमा समेटियो । प्रदेश ३ का लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडे । प्रदेश ३ लाई सस्तैमा समेट्न प्रदेश ७ का शेर मल्लले चार विकेट लिए । उनी खेलको म्यान अफ दी म्याचसमेत बने । यस्तै विकास आग्रीले तीन विकेट लिए ।

प्रतियोगिताअन्तर्गत मूलपानी मैदानमा भएको खेलमा एपीएफले प्रदेश नम्बर १ लाई नौ विकेटले हरायो । एपीएफको जितपछि प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेलबाट दुई अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ । चार अंक बनाएको एपीएफले भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीको पनि चार अंक नै छ ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घन्टा ढिला भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङ गरेको १ नम्बर प्रदेश ४७ ओभरमा एक सय २७ रनमा समेटियो । उसका लागि सन्दीप ढुंगानाले २९, मनीष थापाले २७, कप्तान पुष्प थापाले २०, सन्नी पुनले ११ र विवेक मेहताले १० रन बनाए । एपीएफका अमरसिंह रौटेला, करण केसी, भुवन कार्की र वसन्त रेग्मीले दुईदुई विकेट लिए ।

एक सय २८ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । एपीएफका अनिलकुमार साहले ६२, पृथु बास्कोटाले ३२ र प्रदीप ऐरीले २३ रन बनाए । एपीएफको एकमात्र विकेट सन्दीप ढुंगानाले लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.