कालोबजारीले एकैदिन भारी मूल्य वृद्धि
भैरहवा : नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि रुपन्देहीमा कालोबजारी बढेको छ । बजेट सार्वजनिक भएलगत्तै व्यवसायीले स्टक खाद्यान्न वस्तुमा मूल्यवृद्धि गरेका छन् । सुर्तीजन्य पदार्थ, खानेतेल, चामल, दाललगायत वस्तुमा व्यवसायीले आफूखुसी चर्को मूल्यवृद्धि गरेर कालोबजारी गरिरहेको सरोकारवालाको गुनासो छ । भैरहवाको खाद्यान्न बजार गल्लामण्डीका व्यापारी एक दिनकै अन्तरमा तेलमा भारी मूल्यवृद्धि गरेका छन् ।
बजेटअघि एक हजार १ सय २० रुपैयाँमा बिक्री हुने एक पेटी नमस्ते ब्रान्डको खानेतेल बजेट सार्वजनिक भएलगत्तै एक हजार २ सय ७० रुपैयाँमा बिक्री भइरहेको छ । यस ब्रान्डको तेल व्यवसायीले प्रतिलिटर ११ रुपैयाँ ३९ पैसा मूल्यवृद्धि गरेका छन् । एक हजार ८ सय ५० रुपैयाँमा बिक्री हुने धारा ब्रान्डको खानेतेलमा प्रतिपेटी एक सय रुपैयाँ मूल्य वृद्धि गरेर व्यवसायीले एक हजार ९ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेका छन् । यस ब्रान्डको तेल व्यवसायीले प्रतिलिटर १० रुपैयाँ ५४ पैसा मूल्यवृद्धि गरेको पाइएको छ ।
१ हजार ४ सय रुपैयाँमा पाइने एक बोरा (२५ किलो) सावाँको चामलको मूल्यमा पनि बढेर एक हजार ४ सय ५० रुपैयाँ पुगेको छ । यस्तै, ९० रुपैयाँप्रति केजीमा पाइने अरहरको दालको मूल्य अहिले प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भइरहेको छ । बजेट सार्वजनिक भएपछि थोक विक्रेताले ह्वात्तै मूल्यवृद्धि गरेको भैरहवामा गोमा किराना पसलका सञ्चालक नारायण केसीले बताए । ‘मैले पहिला एक बट्टा चुरोट एक सय ८० रुपैयाँमा पाइन्थ्यो । अहिले २ सय रुपैयाँ तिर्नुपर्छ’, उनले भने, ‘यो सरासर कालोबजारी हो, यसले गर्दा आमउपभोक्ता मारमा परेका छन् ।’
भैरहवाको खाद्यान्न बजार गल्लमाण्डीमा व्यवसाय गर्दै आएका थोक विक्रेता सिद्धेश्वर खाद्य स्टोरका सञ्चालक बालकृष्ण भण्डारीले बजेट सार्वजनिक भएपछि खानेतेललगायत सामग्रीमा मूल्यवृद्धि भएको बताए । उनले सेल्स डिपोबाट चर्को मूल्यमा सामग्री खरिद गरेकाले आफूहरूले पनि मूल्य बढाएर बिक्री गरेको बताए । ‘धारा ब्रान्डको तेल प्रतिपेटी एक हजार ८ सय रुपैयाँ थियो अहिले सेल्स डिपोमै मूल्य बढेकाले त्यही तेल प्रतिपेटी एक हजार ९ सय ५० रुपैयाँ पर्छ ।’
यस्तै, दुग्गड ग्रुपद्वारा उत्पादित धारा ब्रान्डको तेलको भैरहवा शाखाका सेल्स म्यान आनन्दनाथ तिवारीले बजेटअघि आफूसँग डिलरमा एक पोका पनि तेल नरहेको र बजेटपछि उद्योगबाट आएको तेल मूल्यवृद्धि भएर आएकाले सोही अनुसार बिक्री भइरहेको बताए । प्रतिपेटी एक हजार ८ सय ५० रुपैयाँमा बिक्री हुने तेल हाल एक हजार ९ सय ४० रुपैयाँमा बजार पठाइरहेको उनले बताए । थोक व्यवसायीले आफूखुसी मूल्यवृद्धि गरेकाले आफूहरूले पनि सोहीअनुसार खरिद गर्न बाध्य भएको खुद्रा व्यवसायीले गुनासो गरेका छन् ।
दाल र तेल खरिद गरेर खुद्रा रूपमा बिक्री गर्न गल्लमण्डीको सिद्धेश्वर खाद्य स्टोरमा आएका रुपन्देही ओमसतिया गापा–३ का रामवृक्ष बनियाँले एक्कासि भएको मूल्यवृद्धिले चकित परेको बताए । अधिकांश व्यवसायीले मूल्यवृद्धि भएको सूचीबिना खाद्यान्न वितरण गरिरहेका छन् । बजारमा फरक–फरक पसलमा फरक–फरक मूल्य रहेका कारण उपभोक्तासमेत निकै मारमा परेको गुनासो छ ।
उपभोक्ता मञ्च नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण बैदवारले बजेट सार्वजनिक भएलगत्तै व्यवसायी, उद्योगीले गरेको मूल्यवृद्धि जायज नभएको बताए । बजेट सार्वजनिक भएपछि कुनै व्यवसायी उद्योगीले उपभोक्तालाई मार पर्ने गरी मूल्यवृद्धि गर्न नहुने जानकारी दिँदै यस विषयमा पहल गर्ने उनले बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बिनाकारण कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नपाउने बताउँदै कालोबजारी विषयमा अनुगमन गरी दोषीउपर कारबाही गर्ने बताए ।