सुनसान चाँगुनारायण
काठमाडौं : ऐतिहासिक र पुरातात्िवक महत्वको चाँगुनारायण मन्दिर अहिले सुनसानप्रायः छ। ०७२ वैशाखको भूकम्पले यो मन्दिरमा ठूलो क्षति पुर्याएको थियो। मन्दिरको पूर्णरूपमा अझै जीर्णोद्धार हुन सकेको छैन। वरपरका अन्य मन्दिर, पाटीपौवा सबै भग्नावशेष अवस्थामा छन्।
विश्वसम्पदा सूचीमा पर्ने यो मन्दिर जीर्णोद्धारका लागि युनेस्कोले २५ करोड रुपैयाँ छुट्ट्याएको छ। त्यसमध्ये आव ०७४÷७५ मा मन्दिर जीर्णेद्धारका लागि दुई करोड ५० लाख रकम छुट्याइएको थियो।
काठमाडौं उपत्यकामा रहेका सात विश्वसम्पदा सूचीमध्ये चाँगुनारायण पनि एक हो। सन् १९६९ मा युनेस्कोले यो मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो। वार्षिक २० देखि २२ हजार पर्यटक चाँगुनारायण आएको रेकर्ड भए पनि भूकम्पपछि पर्यटकको आगमन ठप्पप्रायः छ।
चाँगुनारायण नगरपालिका–४ का वडाअध्यक्ष बुद्धिनारायण महर्जनका अनुसार नगरपालिकाका अन्य वडाभन्दा चाँगुनारायण क्षेत्र अलि पिछडिएको छ।
वडाध्यक्ष महर्जनका अनुसार पातलो बस्ती भए पनि लामो समयदेखि पानीको समस्या छ। चाँगु वरपर पर्यटकलाई आवश्यक होटेल, रेस्टुरेन्ट पर्याप्त नखुल्दा पर्यटक आगमनमा असर पुगेको उनको बुझाइ छ।
स्थानीय तहमा जनप्रतिनिधि आए पनि चाँगुनारायण क्षेत्रको विकासभन्दा यसअघिका सरकारका गल्ती सच्चाउनै समय खर्चनुपरेको दुखेसो उनले गरे। ‘हाम्रो पाँच बर्र्से कार्यकाल पनि यसरी नै बित्लाजस्तो छ’, उनले भने।
चाँगुनारायण मन्दिर रहेको नगरपालिका–४ अन्य वडाको तुलननामा विकट छ। मन्दिर वरपरका बस्तीमा पनि खासै चहल पहल देखिँदैन। युवा प्रायः सबै बिदेसिएका छन्।
मन्दिर परिसर, बजार र निजी घरमा वृद्धवृद्धा, महिला र स–साना बालबालिका मात्रै भेटिन्छन्। यहाँका युवा कामको खोजीमा बिदेसिएको वडाध्यक्ष महर्जनले बताए।
चाँगुनारायण नगरपालिका–१ मा नेवार बस्ती छ। यहाँका प्रायः सबै व्यापार व्यवसायमा लागेका छन्। वडा नम्बर ४ मा भने तामाङको बाहुल्य छ। त्यहाँका युवा प्रायः खाडी मुलुक पसेका छन्। महिलाले घर व्यवहार चलाइरहेका छन्।
यो मन्दिर लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको बताइन्छ। ऐतिहासिक र पुरातात्विक महत्वको यो मन्दिर अहिले परेवाको गुँड बनेको छ। हिन्दूहरूको पवित्र धर्मस्थल र पर्यटकीय सम्भावना बोकेको यो मन्दिर सहरभन्दा बाहिर रहेकाले पनि सोचेअनुसार प्रचारप्रसार हुन सकेको छैन।
पर्यटकका लागि राम्रा होटल, रिसोर्ट र शौचालयको प्रबन्ध राम्रो नहुँदा पनि पर्यटक आगमन कमी भएको स्थानीय केशर श्रेष्ठको बुझाइ छ।
तेलकोट भन्ज्याङ (तेलकोट डाँड) चाँगु आउने रूट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ। यो क्षेत्र नगरकोटको ट्रेकिङ तथा काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ।
श्रेष्ठका अनुसार यो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न विशेष महोत्सव आयोजना खासै हुँदैनन्।
‘एकादशीको मेला, औंसी र नागपञ्चमीमा भक्तजन आउँछन्। बाँकी समय सुनसान रहन्छ’, उनी भन्छन्।
चाँगुनारायणमा आउनेमा भारतीय पर्यटक बढी हुने गरेको उनी बताउँछन्। चाँगुनाराण क्षेत्र वरपर कुनै बैंकिङ प्रणाली नहुँदा आर्थिक कारोबारमा पनि समस्या भएको श्रेष्ठको भनाइ छ। बाह्र वर्षदेखि थाङ्का बनाउँदै र बेच्दै आएका स्थानीय आशाकाजी महर्जनको पसल भूकम्पपछि बन्द छ।
अर्की स्थानीय ममता भँडेल भन्छिन्, ‘जाडो याममा पर्यटकको चहलपहल पनि पनि अन्य समय चाँगु क्षेत्र सुनसान नै देखिन्छ।’