कलिउडसँग सहकार्य हुन्छ : सुभाष घई
बलिउडका सफल निर्देशक सुभाष घईले भारत नेपालका फिल्म ऐकेडेमीसँग मिलेर सहकार्य गर्न तयार रहेको बताएका छन्। शनिबार भएको प्रेस मिटमा नेपालका फिल्म एकेडेमीले कला क्षेत्रमा आउने भावी युवालाई कलासम्बन्धी ज्ञान दिएर राम्रो काम गरेकोमा उनले खुसी व्यक्त गरे। ‘नेपालमा राम्रा कलाकार छन् तर उचित प्रशिक्षण पाउनबाट वञ्चित छन्’, उनले भने।
‘कान्तिपुर फिल्म एकेडेमी’ र मुम्बईको प्रसिद्ध फिल्म स्कुल ‘विस्लिङ उड इन्टरनेसनल’को संयुक्त आयोजनामा हुने ‘फिल्म एन्ड मिडिया नलेज’ सेमिनारमा सहभागी हुन घई नेपाल आएका हुन्। फिल्म निर्माण, वितरण र प्रदर्शनीसँगै फिल्म शिक्षालाई प्राथमिकता दिनुपर्ने विषयमा छलफल गर्न उक्त सेमिनार आयोजना गरिएको हो। घई मुम्बईको फिल्म स्कुल विस्लिङ उडका संस्थापक अध्यक्ष हुन्। उक्त एकेडेमी दक्षिण एसियाकै अग्रणी फिल्म एकेडेमीमा पर्छ।
प्रत्येक देशको फिल्मले आफ्नै देशको भाषा, संस्कृति, राजनीति र समाज बोल्ने घई बताउँछन्। ‘फिल्मका धेरै रूप हुन्छन् तर प्रत्येक फिल्मले आफ्नै कहानी बताउँछ’, उनले भने, ‘आज भारत फिल्मकै माध्यमबाट पूरा संसारमा चिनिएको छ। नेपालले पनि कलाको माध्यमबाट देश चिनाउन सक्छ।’ डाक्टर, इन्जिनियर उत्पादन गर्नसक्ने संस्था छन् तर कलाकार उत्पादन गर्ने संस्थाको कमी भएको पनि उनले बताए। यसका लागि फिल्म एकेडेमीको महत्वपूर्ण भूमिका हुनेमा घईले विश्वास व्यक्त गरे।
घईसँगै बलिउडका स्क्रिप्ट लेखक अन्जुम राजाबली, फेसन डिजाइनर निशा चन्दा, फिल्ममेकर रविया नाज्की तथा मुक्ता आर्टस्का प्रबन्ध निर्देशक राहुल पुरी पनि नेपाल आएका छन्। राजाबलीले नेपाल र भारतको फिल्म एकेडेमीमा सहकार्यको समय आएको बताए। सिनेमा मेकिङको लामो अनुभव सँगालेका निर्देशक घईबाट नेपालका कलाप्रेमीले धेरै सिक्न सक्ने पनि उनले बताए।
कार्यक्रममा कान्तिपुर फिल्म ऐकेडेमीका अध्यक्ष छविराज ओझाले घईबाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए। यस सेमिनारले नेपाली फिल्म, फेसन र सञ्चारलाई अझ बढी विस्तारित र प्रभावकारी बनाउन मद्दत मिल्ने कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले जनाए।
घईले नै नेपाली अभिनेत्री मनीषा कोइरालालाई सन् १९९१ मा चलचित्र ‘सौदागर’बाट बलिउडमा प्रवेश गराएका थिए। कार्यशाला मिडिया नलेज, मोबाइल फिल्म मेकिङ, स्क्रिप्ट राइटिङ र फेसन डिजाइनमा केन्द्रित हुने आयोजकले जनाएको छ। सेमिनार आइतबार अन्नपूर्ण होटलमा हुनेछ।