गाई मारेको अभियोगमा १२ वर्ष जेल सजाय
सन्धिखर्क: जिल्लाको भुमिकास्थान नगरपालिका-२ मा गाईको हत्या गर्ने एकजनालाई १२ वर्ष जेल सजायको फैसला भएको छ ।
भाटेपोखरा निवासी यमबहादुर खत्रीमाथि ३ वटा गाईलाई मारेको अभियोगमा १२ वर्षको सजाय भएपछि कारागार चलान भएका हुन ।
छिमेकी बलदेव भाटको जाहेरीले नेपाल सरकारको अभियोग दाबी अनुसार जाहेरवालाको गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी उनले हत्या गरेका थिए ।
मुलुकी ऐन चौपाया महलको १ नं र ११ नं. बमोजिमको कसुर गरेकाले त्यही अनुसारको कार्बाही हुनुपर्ने दाबी अनुसार जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिए ।