बजेट संघीयता विरोधी : नेता लेखक
बाजुरा : कांग्रेस नेता रमेश लेखकले बजेट संघीयता विरोधी भएको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन्। नेता लेखकले प्रतिपक्ष मात्र नभएर सत्ता पक्षले समेत बजेटको विरोध गरेको भन्दै बजेटले जन चाहनालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे।
प्रदेश ७ ले इतिहासकै निरासाजनक बजेट पाएको भन्दै उनले निराशा व्यक्त गरे। चर्का सामाजिक सुरक्षा कुरा गरेपनि ति कुराहरु बजेटमा नपरेको उनको भनाइ छ। ‘यो बजेटले अधिकांश नेपालीलाई निरास तुल्याएको छ’, नेता लेखकले भने, ‘सत्ता पक्षले नै विरोध गर्ने बजेट कस्तो होला आफै अनुमान गर्नुहोस् ।’
वाम गठबन्धनलाई बहुमत दिएका जनतालाई बजेटले निराश पारेको उनको भनाइ छ। उनले यो बजेटले वाम सरकारको साख जोगाउन नसक्ने बताए। नेता लेखकले पेल्ट्रोलियम पदार्थको मूल्य दिनदिनै बढिरहेकोप्रति आक्रोश व्यक्त गरे।
त्यसैगरी अर्को प्रसंगमा पूर्वमन्त्री समेत रहेका नेता लेखकले अब पार्टी भित्रका गुटउपगुटलाई अन्त्य गरी समृद्धिको यात्रामा कांग्रेस अघिबढ्ने प्रतिबद्धता जनाए। नेपाली कांग्रेस किन पराजय भयो ? भन्ने बिषयमा नेपाली काँग्रेस भित्र अत्यन्त सूक्ष्म रुपमा छलफल भइरहेको समेत नेता लेखकले बताए।