फोहोर प्रशोधन केन्द्र अलपत्र

फोहोर प्रशोधन केन्द्र अलपत्र

बुटवल :  बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक वन क्षेत्रको भनभनेमा बनाउने फोहोर व्यवस्थापन योजना अलपत्र छ। साढे तीन वर्षअघि फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने गरी ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध भएपछि काम ठप्प भएको छ।

उपमहानगरले एसियाली विकास बैंकको सहयोगमा मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्रको योजना अघि सारेको हो। तर, फोहोर प्रशोधन केन्द्र बन्ने–नबन्ने अझै अन्योल छ। प्रशोधन केन्द्र बन्ने ठाउँ देवदह नगरपालिकाको चरंगेबाट नजिक पर्छ।

०७१ पुसमा भएको सम्झौताअनुसार २० महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने हो। तर, स्थानीयको अवरोधका कारण कुनै काम अघि बढेको छैन। सुरुको म्याद सकिएपछि पनि पुनः १४ महिना म्याद थप भयो। थपिएको म्याद पनि पूरा भएपछि पुनः म्याद थपका लागि निर्माण कम्पनीसँग कागजपत्र मागिएको छ।

चरंगेबासीले कुनै हालतमा पनि फोहोर व्यवस्थापन केन्द्र बन्न नदिने अडान लिएका छन्। जनप्रतिनिधि नआउँदै पनि पटक–पटक बुटवल उपमहानगरपालिकाको तर्फबाट चरंगेबासीसँग छलफल भएको थियो। स्थानीय तहको चुनावपछि पनि उपमहानगरपालिकाले चरंगेबासीलाई मनाउने प्रयास गरिरहेको छ।

‘देवदह नगरपालिकासँग हाम्रो सैद्धान्तिक सहमति भइसकेको छ। तर, स्थानीयलाई मनाउन सकेका छैनौं, बुटवलका नगरप्रमुख शिव सुवेदीले भने। पछिल्लो पटक दुवै नगरपालिकाको संयुक्त फोहोर व्यवथापन गर्ने गरी सैद्धान्तिक सहमति भएको थियो।

स्थानीयले फोहोरका कारण गाउँ दुर्गन्धित हुने भन्दै अवरोध गरेका हुन्। तर, नगरपालिकाले यो अत्याधुनिक प्रशोधन केन्द्र भएकाले प्रदूषण नहुने दाबी गर्दै आएको छ। देवदहका नगरप्रमुख हीराबहादुर खत्रीले भने, ‘उहाँहरूलाई आयोजना सञ्चालन भएको क्षेत्रमा स्थलगत रूपमा देखाउने, त्यस्तै प्रशोधन केन्द्रको भ्रमण गराउनुपर्छ भनेका छौं।’

स्थानीयलाई भारतका विभिन्न ठाउँ भ्रमण गराउने र आधुनिक प्रशोधन केन्द्र देखाउने बुटवल उपमहानगरपालिकाले प्रस्ताव राखेको छ। तर, चरंगेबासीले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेका छन्। ‘दुई नगरपालिकाबीच भ्रमण गराउने सहमति मैले आफ्नो समुदायमा जानकारी गराएँ तर उहाँहरूले अब त्यस्तो प्रस्ताव नल्याउनुस् भन्नुभयो’, देवदह–१० का वडाध्यक्ष एकबहादुर सुनारले भने, ‘जनप्रतिनिधि हुनुअघि मैले पनि ठाडो विरोध गरेको हुँ, अहिले पनि जनताको विपक्षमा जान सक्दिनँ।’

फोहोर व्यवस्थापनको योजना अघि सार्दा बुटवलले आफूहरूसँग कुनै सल्लाह नगरेको र ठेक्का सम्झौता भएपछि मात्र विभिन्न लोभ देखाएको वडाध्यक्ष सुनारले बताए। बुटवल उपमहानगरपालिकाले चरंगेबासीलाई मनाउन बाटोघाटो निर्माण, स्वास्थ्य संस्था स्थापना, रोजगार व्यवस्था गरिदिनेलगायत प्रस्ताव पनि गरेको छ। तर, स्थानीयले विगतमा बेवास्ता गर्ने र अहिले लोभ देखाउनुको कुनै अर्थ नभएको बताएका छन्। ‘बुटवल नजिक भएर पनि पहिले कर्णालीजस्तो ठाउँ थियो, आफ्नै पहलले बाटोघाटो, खानेपानीलगायत पूर्वाधार तयार ग¥यौं अहिले विकसित भएर राम्रो बजार बनेको छ,’ वडाध्यक्ष एकबहादुर सुनारले भने, ‘अब अरूको भर पर्नु पर्दैन, विकासका लागि हामी आफैं सक्षम छौं।’

फोहोर फाल्ने ठाउँ नजिक भएपछि दुर्गन्ध फैलिने, रोग संक्रमण लाग्ने स्थानीयको गुनासो छ। ‘उनीहरूले स्वास्थ्यचौकी बनाइदिन्छौं, पुल बनाउँछौं भनेका थिए, हामीले फोहोरमा बसेर त्यो सुविधा चाहिएन भन्यौं,’ चरंगे लडियाबासका राजु थापामगरले भने, ‘हामीलाई ढुक्कसँग श्वास फेर्न पाउनुप¥यो, त्यहाँ फोहोर फालियो भने बस्तीनजिक छ, हावाले दुर्गन्ध फैलाउँछ।’

तर, आयोजना इकाइले भने फोहोर फाल्ने ठाउँ मात्र नभई प्रशोधन केन्द्र भएकाले स्थानीयले आशंका गरेजस्तो दुर्गन्ध नफैलिने बताएको छ। एडीबीअन्तर्गत मझौला एकीकृत सहरी वातावरण सुधार आयोजना बुटवल इकाइका आयोजना व्यवस्थापक शिखर लामा तामाङले अस्वस्थकर वातावरण नहुने दाबी गरे। ‘प्रशोधन केन्द्र भएकाले कुहिने पदार्थ कम्पोस्ट मल बनाएर बेचिन्छ र नकुहिने प्लास्टिक, धातुजस्ता पदार्थ पुनः प्रयोग गर्न दिइन्छ’, उनले भने, ‘कुहिने र नकुहिनेलाई छुट्याएर अलग्याएपछि बचेको २० प्रतिशत ढुंगा र धुलोमाटो मात्र हुन्छ।’ प्रशोधन केन्द्रमा माइक्रो अर्गानिजम छर्ने र त्यसले दुर्गन्ध फैलिन नपाउने तामाङको दाबी छ।

भैरहवामा पनि त्यस्तै किचलो

रुपन्देहीको अर्को सहर भैरहवामा पनि फोहोर व्यवस्थापनको किचलो सुल्झिन सकेको छैन। फोहोर व्यवस्थापनका लागि सिद्धार्थ नगरपालिकाले ओमसतिया गाउँपालिकाको साविक पट्खौली गाविसमा ५ वर्षअघि नै साढे ६ बिघा जग्गा खरिद गरेको थियो।

एडीबीकै सहयोगमा त्यहाँ पनि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको हो। तर, स्थानीयकै अवरोधका कारण आयोजना अघि बढ्न सकेको छैन। ‘एक÷दुई जनाले अति राजनीति गरेका कारण स्थानीयले अवरोध गरिरहेका छन्,’ सिद्धार्थनगरकी उपमेयर उमा काफ्लेले भनिन्, ‘हामीले भिजुवल देखायौं, १ सय २० भन्दा बढीलाई जनालाई दमौली, पोखराको ल्यान्डफिल्ड साइट देखाएर त्योभन्दा स्तरीय र आधुनिक बनाउँछौं भनेर सम्झायौं।’

फोहोर व्यवस्थापनका लागि ठेक्का भएर यहाँ पनि २ पटक म्याद थप भइसकेको छ। फोहोर प्रशोधन केन्द्र बनाउन सिद्धार्थनगरले पनि ओमसतियावासीलाई विकासका थुप्रै आश्वासन दिएको छ।

रुपन्देहीको अन्य नगरपालिकामा पनि दिगो फोहोर व्यवस्थापनको काम हुन सकेको छैन। तिलोत्तमा नगरपालिकाको फोहोर अहिले नगरको ४ र ६ नम्बर वडाको तिनाउ साइडमा थुपार्ने गरेको छ। फोहोर व्यवस्थापनका लागि करहियाको वास सहकारीले पनि रुचि देखाएको छ। ‘हामी उनीहरूसँग छलफल गरिरहेका छौं, कुन मोडालिटीमा अघि बढ्ने भन्नेबारे कुराकानी गर्दै छौं,’ नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने।

रुपन्देहीको सैनामैना नगरपालिकामा फोहोर व्यवस्थापन गर्न अहिले सुन्दर नेपाल संस्थाले २ महिनाका लागि काम गरेको छ। बजार क्षेत्रको फोहोर अहिले सैनामैना–९ को पिपलडाँडामा लगेर फाल्ने गरिएको छ। ‘खाल्टो पनि भएको हुँदा अहिलेलाई पिपलडाँडामै व्यवस्थापन गरिएको छ। फोहोर थुपारेर माथिबाट माटोले पुर्ने गरिन्छ।’ सैनामैनाकी उपमेयर बिना गुरुङले भनिन्, ‘दिगो व्यवस्थापनका लागि ठाउँ खोज्दै छौं।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.