जनप्रतिनिधिकै घरमा छैन शाैचालय

जनप्रतिनिधिकै घरमा छैन शाैचालय

गौर : रौतहटको कटहरिया पुरानो बजार हो। कटहरिया बजारसहित अन्य गाविस समेटेर अहिले नगरपालिका बनाइएको छ। कटहरिया बजार केही वर्षयता व्यापारिक केन्द्रका रूपमा विकसित हँुदै गएको छ। गरुडा बजार तथा पूर्व– पश्चिम राजमार्गबाट सडक विस्तार गरी कटहरियासम्म जोडिएको छ। बजार विस्तार भएको छ। विद्यालय, क्याम्पस थपिएका छन्। ठूला पक्की घर बन्न थालेका छन्। बाटो तथा सडक कालोपत्रेसम्म भएका छन्।

तर, बजार विस्तार हुँदै गए पनि कटहरियाको मुख्य बजार क्षेत्रमा खुला स्थानमा दिसा गर्नेलाई समाउन प्रहरी खटिनुपरेको छ। एक साता अवधिमा खुला स्थानमा दिसा गर्ने ५० भन्दा बढी पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म छन्।

नगरपालिकाको ४ र ५ नम्बर वडा बजारमा पर्छ। बजार क्षेत्रमा सरसफाइ अभियान तीव्रताका साथ चलिरहेको छ तर जनप्रतिनिधिकै घरमा शौचालय नरहेको पाइएको छ। उनीहरूको परिवारका सदस्य बाटो किनारमा दिसा गर्दै गरेको अवस्थामा पक्राउ पर्ने गरेका छन्। खुला ठाउँमा दिसा गर्दै गरेको अवस्थामा वडासदस्यका पति पक्राउ परे। वडा नम्बर ४ की सदस्य मीनादेवी यादवका पति छविलाल खुला ठाउँमा शौच गर्दा–गर्दै पक्राउ परेका हुन्। उनी प्रहरी कार्यालय पुगेर अबदेखि खुला स्थानमा शौच नगर्ने सर्तमा छुटे। वडा नम्बर ५ की सदस्य नैनाबतीदेवी दासका पति चनणदेव पनि खेतमा दिसा गर्दा–गर्दै पक्राउ परे। उनलाई पनि शौचालय बनाउने सर्तमा प्रहरीले छाडेको छ।

केही दिनदेखि दैनिक एक दर्जन स्थानीय खेत, बाटो किनार, कुलोछेउ, बगैंचा, बाँसघारीमा शौच गर्दा–गर्दै पक्राउ पर्न थालेका छन्। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयमा पु¥याएर वडाध्यक्ष, अभियन्ता र प्रहरीको रोहबरमा अबका दिनमा खुला स्थानमा दिसा नगर्ने र घरमा तत्काल शौचालय बनाउने सर्तमा कागज गराई छाड्ने गरेको जनाइएको छ।

शौचालय बनाउनका लागि सम्झाउँदा पनि अटेर गरेपछि प्रहरीको सहयोगमा बिहान ४ बजेदेखि नै गाउँ छेउछाउका खाली स्थानमा निगरानी गर्दै आएको र खुला स्थानमा दिसा गर्नेलाई पक्राउ गर्ने गरिएको आरडीसी नेपालका कार्यक्रम संयोजक विजय साह बनियाले जानकारी दिएका छन्। कटहरियामा जनप्रतिनिधि मात्र होइन, शिक्षक, व्यापारीलगाउत समाजका अगुवाकै घरमा शौचालय नभएको पाइएको छ। वडा नम्बर ४ की सदस्य मुनीदेवी धनकारीको पनि घरमा शौचालय छैन। यस्तै, कटहरिया नगरपालिकाका योजना प्रमुख हरेन्द्रप्रसाद यादव बस्दै आएको घरमा शौचालय नभएकाले बनाउन आग्रह गरिएको अभियानकर्ताले बताएका छन्।

आधारभूत विद्यालय बलिरामपुरका शिक्षक शम्भुप्रसाद साहको घरमा पनि शौचालय छैन। २० वर्षभन्दा बढी समय शिक्षक जागिर खाएका साहले शौचालय नबनाउनु अचम्मको विषय बनेको उनीहरू बताउँछन्।

यस आर्थिक वर्षमा कटहरिया नगरपालिकाले शौचालय बनाउनका लागि ८७ लाख रकम विनियोजन गरेको जनाइएको छ। १ हजार ६ सय ६० घरमध्ये ८० प्रतिशतभन्दा बढीमा शौचालय निर्माण भइसकेको नगरपालिकाले जनाएको छ। शौचालय बनाउने एक परिवारबराबर ३ हजार ५ सयका दरले रकम उपलब्ध गराइँदै आएको प्रशासकीय अधिकृत राजदेव मुखियाले बताएका छन्। जनप्रतिनिधिकै घरमा शौचालय नहुनु आश्चर्यको विषय भएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका इन्जिनियर मुस्ताक आलमको भनाइ छ।

रौतहटमा ९७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको तथ्यांक समन्वय समितिसँग छ। १ सय ५७ वडामध्ये ९४ वटालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। जिल्लामा १ लाख ३ हजार घरधुरी छ। आउँदो असार अन्तिमसम्ममा जिल्लालाई खुला दिसामुक्त बनाउने निर्णय १६ नगरपालिका र दुईवटा गाउँपालिकाका प्रमुखले गरेका छन्। धेरैजसो वडालाई हचुवाका भरमा खुला दिसामुक्त घोषणा गरिएको भन्दै असन्तुष्टिसमेत व्यक्त हुँदै आएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.