मानव अधिकार आयोगका पदाधिकारी कर्मचारी भर्नामा व्यस्त

मानव अधिकार आयोगका पदाधिकारी कर्मचारी भर्नामा व्यस्त

काठमाडौं  : राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी जनशक्ति भर्तीमा तल्लिन हुँदा आयोगको प्रशासनिक खर्च चुलिँदै गएको छ । स्वायत्तताको फाइदा उठाउँदै आयोग पदाधिकारी कर्मचारी भर्तीमा केन्द्रित भएका हुन् । पछिल्लो समय भर्ती कर्मचारी संख्या बढ्दै जाँदा आयोगको प्रशासनिक खर्च बढेको हो ।

कर्मचारी भर्ना गरी राज्यको ढुकुटीमा व्ययभार बढाउन पदाधिकारी सक्रिय हुँदा आयोगको कार्यक्रमतर्फको बजेट खुम्चिएको छ । गत वर्ष कार्यक्रमतर्फ आयोगको बजेट ५ करोड थियो भने प्रशासनिकतर्फ १८ करोड रुपैयाँ थियो । आव २०७५÷७६ का लागि सरकारले आयोगलाई २० करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये १८ करोड रुपैयाँ कर्मचारीको तलब भत्तालगायत प्रशासनिक खर्चमा छुट्याइएको छ । कार्यक्रमतर्फ जम्मा १ करोड ९६ लाख रुपैयाँ छ । ‘नियमित कर्मचारी भर्ना हुँदै जाँदा प्रशासनिक खर्च चुलिँदो छ भने कार्यक्रम खर्च घट्दै गएको छ । कार्यक्रमको बजेट कटौती हुनुको अर्थ आयोगका काम खुम्चिनु हो’, आयोगका सचिव वेद भट्टराईले भने ।

द्वन्द्वकालीन मानव अधिकार उल्लघंनका गम्भीर घटनाहरू अहिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले हेरिरहेकाले आयोगको भूमिका साँघुरिएको छ । आयोगले मानव अधिकार उल्लघंनका गम्भीर घटनासम्बन्धमा गरेका सिफारिस सरकारले कार्यान्वयन गरिरहेको छैन । सरकारले आयोगका सिफारिसमध्ये साढे १२ प्रतिशत मात्र कार्यान्वयन गरेको छ । आयोगमा गत वर्ष २ सय १० उजुरी परेका थिए । गतिविधि र भूमिकामा प्रश्न उठिरहँदा आयोग धमाधम जनशक्ति भर्ना गरिरहेको छ ।

यसअघि जनशक्ति अभावले नै आयोगका कामै प्रभावित नभएको आयोग सचिव भट्टराई बताउँछन् । ‘हिजो दरबन्दीअनुसार कर्मचारी न्यून हुँदा पनि आयोगले धेरै काम गरेको थियो तर अहिले कर्मचारी थपिँदै जाँदा आयोगको भूमिका खासै देखिन सकेको छैन’, उनले भने । अन्य संवैधानिक आयोगमा निजामती सेवाका कर्मचारी रहने व्यवस्था छ तर मानव अधिकार आयोग कर्मचारी भर्ना मामिलामा स्वायत्त छ । आयोगले आवश्यक कर्मचारी आफैं भर्ना गर्न सक्छ । कर्मचारी भर्नाका लागि आयोगले निर्णय गर्छ भने लिखित परीक्षा लोक सेवा आयोगले लिने व्यवस्था छ ।

स्थापनाका बेला सरकारले आयोगका लागि ३ सय ९ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । आयोगले स्वायत्त रूपमा कर्मचारी भर्ना गर्न नपाउने भन्दै सर्वाेच्च अदालतमा मुद्दा पनि परेको थियो । ०७१ सालपछि स्थायी कर्मचारी भर्नाले तीव्रता पाएको छ । कर्मचारी भर्नामा स्वायत्ता रहेको सर्वाेच्चको फैसलापछि आयोगले पुराना विज्ञापनबाट समेत कर्मचारी भर्ना गर्न थालेको छ ।

०७२ सालमा विभिन्न पदमा गरी ८५ जना कर्मचारी भर्ना गरेको आयोगले यस वर्ष फेरि ५० जना कर्मचारी थप्दै छ ।

‘हिजो रोकिएका विज्ञापनबाट अहिले पदपूर्ति गर्न खोजिएको हो’, आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले भने । आयोगलाई जागिर खुवाउने थलो बनाउन खोजेको आरोप पदाधिकारीमाथि लाग्न थालेको छ । आयोगका एक पूर्वसदस्य भन्छन्, ‘अहिले अनावश्यक जनशक्ति भर्ना गरेर व्ययभार बढाउने र भर्ती केन्द्र बनाउन खोजिएको छ । यो गलत हो ।’ आयोग सदस्य पौड्यालले मानव अधिकार प्रवद्र्धन कार्यक्रम अघि बढाउन र सुदृढ संस्था बनाउन आवश्यक जनशक्ति भर्ना गर्न लागिएको दाबी गरे ।

निजामति सेवा सरहको सुविधाको लविङ्ग

आयोगले आफ्ना कर्मचारीलाई निजामति सेवा सरह सुविधा पाउनुपर्ने भन्दै कर्मचारी सेवा सुविधा सम्वन्धी विधेयक ०६८ लाई तीन बर्ष अगाडि पठाएको थियो । तर अर्थ मन्त्रालयले स्वीकृत गरेपनि प्रधानमन्त्री कार्यालयले अगाडि बढाएको छैन । विधेयकमा आयोगका कर्मचारीलाई निजामति कर्मचारीले पाउँदै आएको पेन्सन, उपदान, औधषी उपचार लगायतका सेवा सुविधाको व्यवस्था गर्नु उल्लेख छ । यी सेवा सुविधा नपाउने कारण आयोगमा भर्ना भएको जनशक्तिलाई टिकाउन नै गाह्रो परेको आयोग सदस्यको भनाइ छ ।

एक बर्ष अगाडि मात्रै एक उपनिर्देशक चार जना अधिकृत सहित १० जनाले आयोगबाट राजिनामा दिए । भर्ना भएका जनशक्ति निजामति तर्फ नाम निकालेर जाने गरेको आयोगका सचिव वेद प्रसाद भट्टराईले बताए । ‘भर्ना भएका कर्मचारीलाई राष्ट्र सेवक कर्मचारी सरह सुविधा नहुँदा बीचमै छाड्ने क्रम जारी छ, कर्मचारी टिकाउन पनि यो विधेयक पास गर्न जरुरी छ ।’ आयोगका सदस्य गोविन्द पौड्यालले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.