अन्यौलबीच साउदीको विश्वपक तयारी

अन्यौलबीच साउदीको विश्वपक तयारी

रियाद : साउदी अरेबिया एसियाली क्षेत्रबाट रुस विश्वकपका लागि छनोट भएको पाँचमध्येको एक टोली हो । जुन १४ तारिखमा आयोजक रुसविरुद्ध प्रतियोगिताको उद्घाटन खेल खेल्ने टोली पनि हो, साउदी । साउदीले एसियाली छनोटको समूह ‘बी’बाट जापानपछि दोस्रो हुँदै रुस विश्वकपको यात्रा तय गरेको थियो । त्यसबेला साउदीले निक्कै सशक्त प्रदर्शन गरेको थियो । त्यसैको नतिजा हो, रुस विश्वकप छनोट प्रतियोगिताअघि एक सय दुई फिफा वरीयतामा रहेको साउदी अहिले ६७औं स्थानमा उक्लिएको छ ।

यद्यपि त्यसपछिको अवधिमा साउदीको फुटबलले विभिन्न उतारचढाव बेहोरेको छ, जसले रुस विश्वकपमा टोलीको प्रदर्शनलाई असर गर्ने त्रास पनि थपेको छ । साउदीले रुस विश्वकपको छनोट प्रतियोगितादेखि अहिलेसम्म तीनजना प्रशिक्षक परिवर्तन गरिसकेको छ । साउदीले डच प्रशिक्षक बर्ट भान मार्विकको नेतृत्वमा रुस विश्वकपमा स्थान पक्का गरेको थियो ।

छनोट प्रतियोगिता सकिएलगत्तै उनलाई हटाएर साउदीले इडगार्डो बाउजालाई नियुक्त गर्‍यो । बाउजाले पनि केवल पाँचवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि जिम्मेवारी त्यागे । अहिले हुवाँ एन्टोनियो पिज्जीले साउदीको टोली हेरिरहेका छन्, जसको नेतृत्वमा दक्षिण अमेरिकी च्याम्पियन टोली चिली रुस विश्वकपका लागि छनोट हुन असफल भएको थियो ।

विश्वकप जस्तो ठूलो प्रतियोगिताको नजिक आएर यसरी लगातार प्रशिक्षक परिवर्तन गरिनुले तयारीमै ठूलो असर परेको हुन्छ । एक प्रशिक्षकको टेक्निक र खेल्ने शैली सिक्न लामो समय लाग्ने अवस्थामा छोटो अवधिमै हुने यस्तो परिवर्तनले खेलाडी नै अन्योलमा पर्ने गर्छन् । साउदीले यो सिजन रुस विश्वकपको तयारीका लागि स्पेनिस ला लिगासँग सम्झौता गरेर आफ्ना नौजना खेलाडीलाई त्यहाँको विभिन्न क्लबबाट खेल्न पठाउने महत्वपूर्ण काम पनि गर्‍यो, यद्यपि त्यो योजना पनि खासै फलदायी देखिएन ।

साउदीका खेलाडीले त्यहाँ निक्कै कम अवसर पाएन । गत जनवरीयता त साउदीका कुनै पनि खेलाडीले परिवर्तित खेलाडीको रूपमा समेत खेल्ने अवसर पाएनन् । उनीहरू सिजनको प्राय: सबै खेलमा बेन्चमै बसेर घर फर्किए । त्यसैले लुइस स्वारेजको उरुग्वे, मोहम्मद सलाहको इजिप्ट र आयोजक रुससहित प्रतियोगिताको समूह ‘ए’मा परेको साउदीलाई निक्कै मुस्किल देखिएको छ ।

पाँचौं पटक सहभागिताको तयारीमा रहेको साउदीको विश्वकपको पछिल्लो सहभागतिामा पनि राम्रो नतिजा छैन । सन् १९९४ मा पहिलो पटक सहभागी हुँदा नै प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको साउदीले त्यसपछिको तीन सहभागितामा समूहगत चरण नै पार गर्न सकेको छैन । टोलीले खेलेको पछिल्लो मैत्रीपूर्ण खेलको नतिजाले समेत साउदीलाई अझै धेरै मेहनत गर्नुपर्ने देखाएको छ ।

सन् २०१८ सुरु भएपछि खेलिएको आठ खेलमध्ये साउदीले केवल तीन खेलमा जित हात पारेको छ । चार खेलमा पराजय बेहोरेको छ भने एक खेलमा बराबरी खेलेको छ । साउदी गत मंगलबार भएको खेलमा इटालीसँग २-१ र आइतबार भएको खेलमा पेरुसँग ३-० गोलले पराजित भएको छ । विभिन्न कारणले बिथोलिएको तयारीका बाबजुद खेलाडीले आफ्नो अनुभवको आधारमा मेहनत गरे मात्रै साउदीले रुस विश्वकपमा सम्मानजनक नतिजा हात पार्न सक्नेछ ।

साउदीको टोली

गोलरक्षक : मोहम्मद अल-ओवाइस, यासर अल-मोसाइलेम र अब्दुल्लाह अल-मायुफ

रक्षक : मोहम्मेद अल-ब्रेइक, अलि अल-बुलाइही, मान्सुर अल-हार्बी, यासर अल-शाहरानी, मोताज हउसावी, ओमार हउसावी र ओसामा हउसावी ।

मिडफिल्डर : सलेम अल-दउसारी, सलमान अल-फराज, तइसिर अल-जस्सिम, अब्दुल्लाह अल-खाइबरी, अब्दुलमालेक अल-खइब्री, हुसेन अल-मोगावी, ऐहया अल-शेहरी, हात्तन बाहेब्री, मोहमेद कान्नो र अब्दुल्लाह ओटेफ ।

स्ट्राइकर : फहाद अल-मुवाल्लाद, मोहम्मद अल-सहलावी र मुहन्नाद अस्सिरी ।

प्रशिक्षक : हुवाँ एन्टोनियो पिज्जी ।

साउदीको खेल

समूह ‘ए’

जुन १४ : रुसविरुद्ध

जुन २० : उरुग्वेविरुद्ध

जुन २५ : इजिप्टविरुद्ध

साउदी

विश्वकप सहभागिता : पाँचौं पटक

उपलब्धि : प्रिक्वार्टरफाइनल

फिफा वरीयता : ६७


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.