साउदीका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'मोहम्मद अल-सहलावी'
अल-सहलावी साउदी अरेबियाका प्रतिभाशाली फुटबलर हुन् । यी ३१ वर्षीय स्ट्राइकरकै प्रदर्शनमा साउदी अरेबिया १२ वर्षपछि फेरि विश्वकप फुटबलमा फर्किएको हो । साउदीले अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा समूह ‘बी’बाट जापानपछि दोस्रो टोलीको रूपमा रुस विश्वकपको यात्रा पक्का गर्दा टोलीका लागि उनै अल-सहलावीले सर्वाधिक गोल गरेका थिए ।
कुल १६ गोल गरेका उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्तासमेत हुन् । सन् २०१० यता साउदीको राष्ट्रिय टोलीबाट खेल्दै आएका अल-सहलावीले ३९ खेलबाट २८ गोल गरिसकेका छन् । साउदीले उनलाई रुस विश्वकपकै तयारीस्वरूप गत मार्चमा तीन साता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पठाएको थियो । म्यान युनाइटेडको प्रशिक्षणपछि पनि अल-सहलावीले अझ धेरै सिक्ने अवसर पाएका छन् ।
साउदीले आगामी जुन १४ तारिखमा आयोजक रुससँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै विश्वकपमा आफ्नो यात्रा थाल्दा टोलीलाई अघि बढाउने जिम्मेवारी पनि उनै अल-सहलावीमाथि हुनेछ । त्यसका लागि उनी सक्षम पनि छन् । चलाखीपूर्ण तरिकाले बल लिएर विपक्षीको डी बक्सभित्र छिर्ने र गोल गर्न सक्ने मात्रै होइन, उनी अन्य स्ट्राइकरलाई बल उपलब्ध गराउन पनि खप्पिस छन् । उनको यही कला साउदीलाई रुस विश्वकपमा अघि बढाउन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।