तीन घन्टा गुञ्जिए रामेश
काठमाडौं : सांस्कृतिक संस्थानले आयोजना गरेको जनगायक रामेश श्रेष्ठको एकल गायन ‘युगीन आवाज’ मा रामेशले १५ वटा गीत गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उपस्थित दर्शकलाई मनोरञ्जन गराए ।
रामेशले पाँच दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानले एकल साँझ आयोजना गरेको हो । रामेशले पुर्याएको योगदानको कदरस्वरूप उनलाई संस्कृति मन्त्रालय (सांस्कृतिक संस्थान) का तर्फबाट अभिनन्दन गरियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामेशलाई कार्यक्रममा अभिनन्दन गरे । प्रधानमन्त्री केपी ओलीसँगै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसम्मले रामेशलाई अभिनन्दन गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०३० सालताका रामेश, रायनहरूले आफ्ना गीतसंगीतमार्फत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण गर्दै भने, ‘म जेल पर्दासमेत रामेश, रायनका गीतले एक दिन हामी जित्नेछौं भन्ने आशा जगाउँथ्यो । नभन्दै आज हामीले जित्यौं र अब उहाँहरूका गीतमा भनिएझैं देशलाई समृद्ध बनाउनुछ ।’ नेपाली राजनीतिक आन्दोलनमा रामेश, रायनसहित राल्फाको सांगीतिक आन्दोलनको महत्वपूर्ण योगदान रहेको पनि प्रधानमन्त्री ओलीले बताए । जनगायक रायनलाई आफूले अभिनन्दन प्रदान गरे पनि यो अभिनन्दन सम्पूर्ण जनताको भएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।
रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायनले पनि साथ दिए । युगीन आवाज एकल साँझमा रामेशले हिमगिरी मण्डित, तिमी देऊ तिम्रा हातहरू, मेरो देश खोज्दै जाँदा, ओ जनता महान्, ऋतु गीत, आर्यशील जिन्दगीलगायतका गीत गाएका थिए ।