फेसबुकमा मजाक बनेको ब्यानरको बास्तविकता
पोखरा : एउटा कार्यक्रममा टाँसिएको ब्यानरमा लेखिएको विषय फेसबुक र ट्विटरमा मजाक बनेको छ।
सोमबार पोखरा लेखनाथ महानगरपालिकामा भएको जनचेनता कार्यक्रमको ब्यानरमा लेखिएको विषयलाई लिएर मानिसहरूले मजाक गरेका हुन्। फेसबुक ट्विटरमा सेयर गरिएको फोटोमा रहेको ब्यानरमा कार्यक्रमको शीर्षक लेखिएको छ- 'एक दिने गर्भवतीहरूका लागि जनचेतना कार्यक्रम।'
कतिले 'एक दिने गर्भवती' पनि हुन्छ र भन्दै फेसबुक र ट्विटरमा यो फोटो सेयर गरेका छन् भने कतिपयले 'पोखरा त साँच्चिकैको पोखरा पो रैछ' भन्दै पोखरामाथि नै व्यंग्य कसेका छन्।
'गर्भवतीहरूका लागि एक दिने कार्यक्रम' लेख्नुपर्नेमा ब्यानर बनाउँदा भूलबस अन्यथा हुन गएको कार्यक्रमको आयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बताए।
'कार्यक्रममा म आफै थिएँ। तर हेर्न भ्याइएनछ, म बाहिर भएकोले कार्यबाहक ज्यूलाई ब्यानर बनाउन लगाएको थिएँ', उनले अन्नपूर्णसँग भने, 'अब आइन्दा यस्तो गल्ती गर्दैनौँ।'
फोटोमा फोनमा कुरा गर्दै गरेका देखिने व्यक्ति वडाअध्यक्ष अधिकारी हुन्। उनले बिहानैदेखि आफूलाई पनि 'ब्यानरमा लेखिएको विषयलाई लिएर धेरैजनाको फोन आएको' बताए। 'जे हुन भइहाल्यो, यसमा मैले के नै पो गर्न सक्छु र?', उनले भने, 'जे हुनु भयो, आइन्दा सचेत हुन्छौँ।'
उनले कार्यक्रमको ब्यानर भन्दा पनि गर्भवतीहरूलाई सचेतना दिन अभियान थाल्ने आफ्नो वडाको काममा ध्यान दिन आग्रह गरे।
'यो नयाँ र नौलो कार्यक्रम हो। गर्भ रहेपछि सुत्केरी हुनेबेलासम्म आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन के गर्ने, त्यसमा परिवार र अभिभावकको के भूमिका हुन्छ लगायतका विषय प्रशिक्षणमा समेटिएका थिए', उनले भने, 'हामी यो कार्यक्रमलाई आउँदा दिनमा पनि निरन्तरता दिने तयारीमा छौँ।'
'नकारात्मक कुराले मानिसको ध्यान चाँडै खिच्ने' बताउँदै उनले राम्रो कार्यक्रमको सकारात्मक चर्चा हुने आफ्नो विश्वास रहेको बताए।