७ सरकारी कार्यालय प्रमुखविहीन, ९० जना कर्मचारी अनुपस्थित
दुनै : डोल्पामा रहेका सरकारी कार्यालय मध्ये ७ वटा सरकारी कार्यालयमा कार्यलय प्रमुख नरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्लाका सबै सरकारी कार्यालयमा अनुगमन गर्दा ७ वटा सरकारी कार्यलय प्रमुखविहीन भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । जिल्लाका सरकारी कार्यालयहरुका करिव ९० जना कर्मचारीहरु नभएको प्रजिअ थापाले भने ।
सात वटा सरकारी कार्यालयका प्रमुख र जिल्ला भर ९० जना कर्मचारीहरु कार्यालयमा नहुनु निकै दुखदायी अवस्था भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । थापाले भने ‘सेवाग्राहीको काम प्रभावित पारेर कार्यालयभन्दा बाहिर बिना जानकारी बस्ने कर्मचारहरुलाई कारवाही हुन्छ मैले आवश्यक प्रकृया अगाडी बढाइसकेको छु ।
अनुगमनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरुको हाजिरी, नागरिक सहायता कक्ष, कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार र कार्यालयको व्यवस्थापनका बारेमा अनुगमन गरिएको प्रजिअ थापाले जानकारी दिए ।
हालसम्म पनि जिल्लाका सरकारी कार्यालयमा टोकन प्रणालीबाट सेवा प्रदान र बिद्युतीय प्रणालीबाट हाजिर गर्ने प्रणालीको सुरुवात कतै पनि नभएको भेटिएको छ । ती व्यवस्थाहरु तत्काल गर्नका लागि निर्देशन दिइने प्रजिअ थापाले बताए ।