प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
काठमाडौँ : प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ। उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ।
मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन सुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो। मनसुन सुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ।
मनसुन पूर्वी नेपालहुँदै नेपाल प्रवेश गर्छ। पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ। 'वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ। पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ', मौसमविद् पौडेलले भने।
सामान्यतः मनसुन सुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ। पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ।
मनसुनका लागि यी मापदण्ड चाहिन्छ
नेपालमा सामान्यतः मनसुन सुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ। मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ। भारतीय अकाशको माथिल्लो वायुमण्डलमा 'ट्रपिकल स्टर्ली' देखिनुपर्छ। त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ। उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन।
माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको 'जेट स्ट्रिम' करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ। मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन। सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ।
आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ। अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ। आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ। रासस