ट्रम्प र किमको रोचक सम्बन्ध
सोल : अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ।
यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ। यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ। यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन। तर पनि दुईबीच आश्चर्यजनकरुपमा केही समानता भने रहेका छन्।
गत वर्ष अमेरिकी राष्ट्रपति पदमा सपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रुपमा परिचित छन्। उनी अहिले ७२ वर्षका भए। उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वको कान्छो राष्ट्रपतिको रुपमा रहेका छन्। उनी हाल ३४ वर्षका भए। किम छ वर्ष अघिदेखि उत्तर कोरियाको नेताका रुपमा सक्रिय छन्।
सोलसिथ्त योनसे युनिभर्सीटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन्। त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ। यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार सार्वजनिक भएका छन्।
अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा वार्ता हुन लागेको छ। त्यसैले हप्ता दिनपछि मात्र वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेरबदललाई चासोपूर्णरुपमा लिइएको छ।
यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ। यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो। रासस