विश्वकपमा पानामाको पहिलो अनुभव

विश्वकपमा पानामाको पहिलो अनुभव

पानामा सिटी : पानामा आफ्नो पहिलो विश्वकप सहभागिताको रुसको यात्रा तय गर्ने केवल दुई राष्ट्रमध्ये एक हो । उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनोट प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै रुस यात्रा पक्का गरेको पानामाका आगामी विश्वकप पहिलो अनुभव हुनेछ । मध्य अमेरिकी राष्ट्र पानामाको अन्तिम चरणको विश्वकप छनोट यात्रा निकै रोचक पनि छ ।

सन् १९९६ सम्म पानामामा फुटबल खासै लोकप्रिय थिएन । बेसबल र बक्सिङ निकै लोकप्रिय रहेको पानामामा फुटबल खेल्ने ठाउँसम्म थिएन । देशमै फुटबलप्रति रुचि राख्ने युवा पाउनसमेत मुस्किल थियो । तर, त्यसपछिको २२ वर्षमा पानामाले अन्तर्राष्ट्रिय फुटबलमै यस्तो छलाङ मार्‍यो कि, विश्व फुटबलको महाकुम्भ छनोट भएर देखायो ।

पानामाको फुटबलको यो फड्कोमा निकै ठूलो मेहनत जोडिएका व्यक्ति हुन्, ग्यारी स्टेम्पल । बेलायती आमाबाट जन्मिएका पानामाका नागरिक ग्यारी सन् १९९६ मा फुटबल प्रशिक्षणकै लागि आफ्नो देश फर्किएका थिए, जतिबेला पानामामा फुटबल खेल्ने स्थान मात्र होइन, खेल्ने बल र बुटसमेत पाइँदैनथियो । यद्यपि उनकै पहलमा पानामामा फुटबलका प्रशिक्षणहरू सुरु भए । लिग फुटबल र फुटबल विकासका महŒवाकांक्षी योजनाहरू पनि अघि बढे ।

त्यसकै प्रतिफल हो, ग्यारीले आफ्नै प्रशिक्षणमा पानामालाई सन् २००३ मा यू-२० विश्वकपमा पहिलो पटक छनोट गराए । अहिले पानामाको सिनियर राष्ट्रिय टोलीमा रहेका प्राय: खेलाडी उनै ग्यारीले उमेरसमूह र यू-२० विश्वकपबाट अघि बढाएका खेलाडी हुन् । यही खेलाडीलाई लिएर कोलम्बियन प्रशिक्षक हर्नान डारियो गोमेजले पानामाको सिनियर राष्ट्रिय टोलीलाई पहिलो पटक विश्वकप फुटबलमा छनोट गराएका हुन् ।

हर्नान यस्ता प्रशिक्षक हुन्, जोसँग विभिन्न तीन देशको सिनियर राष्ट्रिय टोलीलाई विश्वकपमा छनोट गराएको अनुभव छ । अहिलेसम्म यस्ता केवल चारजना प्रशिक्षक छन्, जसले तीन फरक देशलाई विश्वकपसम्म पुर्‍याउन सफल भए । हर्नानले सन् १९९८ मा आफ्नै देश कोलम्बिया र सन् २००२ मा इक्वेडरलाई विश्वकपमा छनोट गराएका थिए । सन् २०१४ मा आबद्ध भएका यी अनुभवी प्रशिक्षकले पानामालाई पनि पहिलो पटक विश्वकपका लागि छनोट गराएका हुन् ।

निर्णायक खेलमा कोस्टारिकालाई २-१ गोलले पराजित गर्दै रुस विश्वकपको यात्रा पक्का गर्दा पानामाका राष्ट्रपति हुवाँ कार्लाेस भालेराले देशमा सार्वजनिक बिदा नै दिएका थिए । राष्ट्रपति भालेराले रुस विश्वकपमा आफ्नो टोलीले प्रतिस्पर्धा गर्दा सबैलाई खेल हेर्ने व्यवस्था मिलाउन निजी तथा सरकारी सबै कार्यालयलाई निर्देशनसमेत दिइसकेका छन् ।

अमेरिका तथा कोस्टा रिकाजस्ता टोलीलाई पछि पार्दै विश्वकपमा छनोट भएको पानामाका लागि यसअघिका प्रतिस्पर्धा भने मुस्किल देखिएको छ । बेल्जियम, इङ्ल्यान्ड र ट्युनिसियासँगै पानामा विश्वकपको समूह ‘जी’मा परेको छ । पानामाले यो वर्ष सुरु भएपछि खेलेको चार मैत्रीपूर्ण खेलमध्ये केवल एक खेलमा जित हात पारेको छ । डेनमार्कसँग १-० र स्विट्जरल्यान्डसँग ६-० गोलको भारीअन्तरले पराजित भएको पानामाले ट्रिनिडाड एन्ड टोबागोलाई भने १-० ले हराएको थियो ।

यसैगरी पानामाले उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । टोलीको यो प्रदर्शनमा सुधार ल्याउन नसके पानामा पहिलो विश्वकप सहभागिताबाट अनुभव मात्रै बटुलेर घर फर्कने निश्चित छ ।

पानामाको टोली

गोलरक्षक : जामी पेनेदो (डाइनामो बुखरेस्ट), होजे काल्डेरोन (कोरिल्लो एफसी) र एलेक्स रोड्रिगेज (सानफ्रान्सिको एफसी) ।

रक्षक : माइकल मुरिल्लो (न्युयोर्क रेड बुल्स), ह्यारोल्ड कुमिङ्स (सान जोसे अर्थक्वेक), फिडेल स्कोबर (न्युयोर्क रेड बुल्स), रोमन टोरेस (सिटल साउन्डर्स एफसी), एडोल्ड माचाडो (हउस्टन डाइनामो), एरिक डेभिस (डिएसी दुनाज्स्का स्ट्रिडा), लुइस ओभल्ली (सिडी ओलम्पिया) र फेलिप बालोई (सीएसडी मुनिसिपल) ।

मिडफिल्डर : ग्याब्रियल गोमेज (एट्लेटिको बुकारामाङ्गा), एड्गर बार्सिनस (क्याफेटालेरोस डी तापाचुला), अर्मान्डो कुपर (क्लब युनिभर्सिडाड डी चिली), भ्यालेन्टिन पिमेन्टल (प्लाजा अमाडोर), अल्बर्टो क्वाइन्टेरो (युनिसर्भिटारियो लिमा), एनिबल गोदोय (सान जोसे अर्थक्वेक) र होजे लुइस रोड्रिगेज (केएए जेन्ट) ।

स्ट्राइकर : ब्लास पेरेज (सीएसडी मुनिसिपल), ग्याब्रियल टोरेस (सीडी हुवाचिपाटो), स्माइल डियाज (डेपोर्टिभो ला कोरुना), अब्दिल अरोयो अब्दिइल (एलडी अलजुइलेन्स) र लुइस तेजदा लुइस (स्पोर्ट ब्वाइज) ।

प्रशिक्षक : हर्नान डारियो गोमेज

पानामाको खेल

समूह ‘जी’

जुन १८ : बेल्जियमविरुद्ध

जुन २४ : इङ्ल्यान्डविरुद्ध

जुन २८ : ट्युनिसियाविरुद्ध

पानामा

विश्वकप सहभागिता : पहिलो

उपाधि : ०

फिफा वरीयता : ५५


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.