प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिस विजयी
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतियोगितामा जित हात पारेका छन् । मंगलबार भएको खेलमा आर्मीले एपीएफ र पुलिसले प्रदेश ३ लाई पराजित गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई ७० रनले पराजित गर्यो । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले अनिल मण्डल र कप्तान विनोद भण्डारीको अर्धशतकीय सहयोगमा दुई सय २८ रनको योगफल खडा गरेको थियो ।
आर्मीका लागि मण्डलले ७२ रन बनाए । यसैगरी विनोद भण्डारीले ५०, सागरले ४६ र नरेश बुढाऐरले ३७ रन बनाए । एपीएफका भुवन कार्कीले तीन विकेट लिए । यसैगरी करण केसी, कमलसिंह ऐरी, वसन्त रेग्मी र पृथु बाँस्कोटाले एक एक विकेट हात पारे ।
दुई सय २९ रनको लक्ष्य पछ्याएको एपीएफ ३२.५ ओभरमा एक सय ५८ रनमै समेटियो । एपीएफका रोहितकुमार पौडेलले २८ रन बनाए । यसैगरी अनिल साहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।
एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले तीन विकेट लिए । यसैगरी सुसन भारी, सागर पुन र साहव आलमले दुईदुई विकेट हात पारे । आर्मीका अनिल मण्डल खेलको म्यान अफ दी म्याच चुनिए ।
मूलपानी मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गर्यो । वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले नौ विकेट गुमाएर एक सय ३७ रन बनायो । प्रदेश ३ का अदिल खानले ४५ र सोनु तामाङले ४८ रन बनाए । पुलिसका रामनरेश गिरीले तीन तथा ललित भण्डारीले दुई विकेट लिए ।
एक सय ३७ रनको लक्ष्य पुलिसले एक बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो । पुलिसका सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जित दिलाए । यी दुईले चौथो विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए ।
आरिफले ६० र सुनील धमलाले अविजित ५० रन बनाए । प्रदेश ३ का रूपेश श्रीवास्तवले दुई विकेट लिए । आरिफ खेलको म्यान अफ दी म्याच चुनिए ।