प्रदर्शनीमा छैनन् खोजेका पुस्तक
काठमाडौं : ‘कृष्णप्रसाद भट्टराईको किताब होला ?’ एक पुस्तकप्रेमीले सोधे। ‘त्यो किताब अहिले छैन। बरु अरू नेताबारे लेखिएको किताब छ।’ विक्रेता पुष्पराज पौडेलले उत्तरमा भने। ‘मैले अरू खोजेकै होइन, म कृष्णप्रसाद भट्टराईको आत्मकथा पढ्न चाहन्छु।’ भृकुटीमण्डपमा चलिरहेको ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा शिखा बुक्सको स्टलमा यो संवाद सुनेपछि नजिकै उभिएका साहित्यकार भुवनहरि सिग्देलले ‘उहाँलाई 'एक्लो नायक' उपयुक्त हुन सक्छ।’ भनेर सुझाए। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईबारे पढ्न चाहने ती पाठकले सोही किताब बोकेर बाटो तताए।
नेपाल प्रज्ञाप्रतिष्ठानको स्टलमा संगीतसम्बन्धी पुराना किताब नपाएर तीन युवक छट्पटाइरहेका थिए। ‘जातीय संस्कार र दर्शनसम्बन्धी किताबका सबै भाग मजाले बिक्री भइरहेका छन्। लैनसिंह बाङदेलको ‘स्टोन स्कपचर्स’ धेरै बिकेको छ।’ विक्रेता हरिभक्त ट्वायानाले भने, ‘२०६७ सालअघिका किताबमा ६० प्रतिशत र पछिका किताबमा ४० प्रतिशत छुट दिइरहेका छौं।’
साझा प्रकाशनको स्टलमा पुग्दा पाठकहरू मुनामदन, गौरी, पृथ्वीनारायण शाहको जीवनी, बीपीका किताबमा झुम्मिरहेका थिए। ‘चिसो चुल्हो, वेदमा के छ ? लक्ष्मी निबन्ध संग्रह आदि किताबको माग अत्यधिक छ। यो पालि ती किताब प्रेसमा छन्।’ साझाले यसपालि २५ प्रतिशत छुट दिएको बताउँदै विक्रेता विमल केसीले भने।
प्रदर्शनीमा भेटिएकी उपन्यासकार हरिमाया भेटवालले अनुवादका किताब नपाएको गुनासो गरिन्। ‘अन्तर्राष्ट्रिय साहित्यका अनुवाद नपाएर समस्या भएको छ। अंग्रेजी भाषामा पहँुच नभएका पाठकलाई काम लाग्ने किताब खासै भेटिएनन्।’ साथै उनले प्रज्ञा र साझा किताबमा छुट अत्यन्तै कम भएको गुुनासो गरिन्।
लेखक गणेश खनियाँ केही किताब झोलामा बोकेर डुलिरहेका भेटिए। ‘अरेबियन साहित्य पढ्न मन लागेर आएको किताब भेटिएन। नयाँ साहित्यिक किताब कम पाइन्छन्,’ उनले भने। सांग्रिला बुक्सका प्रोपाइटर मणि शर्मा विगतको तुलनामा यसपालि पाठक बढेको र बिक्री पनि बढेको बताउँछन्। ‘यसपालि बालसाहित्य पनि धेरै बिक्री भइरहेको छ।’
भारतको चर्चित पेन्गुइन पब्लिकेसनका अल्केश विश्वलले भने, ‘हामी उत्साहित छौं। यो हाम्रो सातौं प्रदर्शनी हो। साहित्यकभन्दा समसामयिक विषयका किताब धेरै बिक्री भइरहेका छन्।
पढ्नलाई प्रेरणा भन्ने मूल नाराका साथ ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ भृकुटीमण्डपमा चलिरहेको छ। प्रदर्शनीमा नेपाललगायत भारत, चीन जापानका ६० संस्थाको सहभागिता छ। विगतका प्रदर्शनीभन्दा फरक भइरहेको आयोजकको भनाइ छ। प्रदर्शनीमा दिनहँु पुस्तक संवाद, विमोचन आदि भइरहेको छ।