महिला आन्दोलनकी अगुवा सरस्वती अस्ताइन्

महिला आन्दोलनकी अगुवा सरस्वती अस्ताइन्

 काठमाडौं : पुराना राजनीतिज्ञ एवं महिला आन्दोलनकी अगुवा सरस्वती राईको ९१ वर्षको उमेरमा निधन भएको छ । १२ वर्षअघिदेखि अल्जाइमर रोगबाट पीडित पूर्वसहायकमन्त्री राईको सोमबार बिहान ललितपुर बागडोलस्थित निवासमा निधन भएको हो ।

‘हाम्रो आमालाई झन्डै १२ वर्षअघि नै अल्जाइमर रोगले छोएको थियो, त्यस बेलादेखि आफन्तलाई बिर्सन थाल्नुभयो’, छोरी नीलिमा श्रेष्ठ राईले अन्नपूर्णसँग भनिन्, ‘पछि लड्नु पनि भयो, पाँच–६ वर्ष त ओच्छ्यानै पर्नुभयो । त्यसपछि उहाँ उठ्न सक्नुभएन ।’

सरस्वतीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । सरस्वतीका कान्छा छोरा गणेश थुलुङ झापाको धुलाबारी र प्राध्यापक नाति भारतको सिम्लाबाट आउने भएकाले बुधबार मात्र अन्त्येष्टि गरिने भएको हो । नीलिमाका अनुसार दुई आमामध्ये जेठीतर्फ तीन दाजुभाइ छन्, माइला भाइको निधन भइसकेको छ ।

आसाम लोकरामा १९८४ साल असार ४ गते जन्मिएकी सरस्वती २००० सालतिर सपरिवार नेपाल फर्किएकी थिइन् । उनले आफ्नो कृति ‘सरस्वती राई ः जीवनयात्रा र आफन्तका आँखामा’मा लेखेकी छन्, ‘म हुलाकीले दिएको चिठी बजारमै पढ्न थाल्थें । त्यस बेला सारा बजारेहरू जम्मा हुन आउँथे र मलाई घेर्थे । यस्तो देख्दा मलाई अचम्म लागेर काकालाई सोध्थें– काका किन यसरी यिनीहरूले मलाई घेरेको ? , काका भन्नुहुन्थ्यो– तैंले पढेको देखेर । उनीहरू आइमाईले पढेको अचम्म मानेर हेर्न आएका हुन् ।’

विवाहपछि फेरि भारत बसाइ हुँदा राणा शासनविरुद्धका गतिविधिमा साथ दिएको उनले आफ्नो कृतिमा लेखेकी छन् ।

उनले इलाममा २००८ सालमा कन्या स्कुल सञ्चालनमा मात्र ल्याइनन् त्यहींबाट उनले एसएलसी उत्तीर्ण गरिन् । महिला अधिकार, शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै गर्दा २०११ सालमा उनलाई राजा त्रिभुवन शाहले सल्लाहकारसभामा मनोनीत गरे । २०१४ सालमा सल्लाहकारसभा पुनर्गठन हुँदा राजा महेन्द्र शाहले पनि मनोनीत गरे । विसं २०१९ मा राजसभा सदस्य र २०२२ सालमा उनी पहिलो महिला सदस्यका रूपमा राजसभा स्थायी समितिमा मनोनीत भइन् । गाउँ फर्क राष्ट्रिय अभियानमा पनि जोडिएकी उनी २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्य चुनावमा निर्विरोध भइन् भने त्यही साल राष्ट्रिय पञ्चायत विकास समितिको सभापति चुनिइन् । पहिलोपटक २०३५ साल फागुनमा जलस्रोत सहायक मन्त्री बनेकी उनी २०३७ मा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनयन भएपछि दोस्रोपटक जलस्रोत सहायक मन्त्री नै बनेकी थिइन् ।

कांग्रेस नेता कुलबहादुर गुरुङले महिला जागरणमा सरस्वतीको ठूलो योगदान रहेको उल्लेख गर्दै भने, ‘सरस्वती राईले इलाममा कन्या स्कुल खोल्न ठूलो मिहिनेत गर्नुभयो । माया गुरुआमा र सरस्वती गुरुआमा दुई जनाले सात सालदेखि लगातार इलाममा ठूलो योगदान गर्नुभयो ।’

नेकपा नेता एवं पूर्वसभामुख सुवास नेम्बाङले आफू सानो छँदादेखि सरस्वतीलाई नजिकबाट चिनेको बताए । ‘सानो छँदादेखि म उहाँलाई नजिकबाट चिन्दछु । एउटै घरपरिवारजस्तो भएर बसेका हौं, मैले फूपू भनेर सम्बोधन गर्थें’, नेता नेम्बाङले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.